सकियो कृषि मेला, ५ हजार जनाले गरे अवलोकन

  • 293
  •  
  •  
  •  
  •  
  •  
    293
    Shares

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा जेठ ३२ गतेबाट शुरु भएको कृषि प्रदर्शनी तथा कृषक मेला मंगलबार सकिएको छ ।

मेलाको प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले समापन गर्नुभयो । समारोहमा बोल्दै मन्त्री लामाले उत्पादन र उत्पादकत्व बढाउन विश्वविद्यालयले उत्पादन गरेको जनशक्ती प्रयोग हुनुपर्ने बताउनुभयो ।

कृषि क्षेत्रमा आममानिसको विश्वास जाग्न थालेको बताउँदै उहाँले नेपालको कृषि प्रणालिप्रति विश्वका मानिसको ध्यान केन्द्रित भएको जिकिर गर्नुभयो ।

कृषिमा आधारित अर्थतन्त्र र उद्योगबाट मात्रै आर्थिक समृद्धिको नयाँ युग सम्भव हुने मन्त्री लामाको भनाई थियो ।

मेलामा पाँच हजार बढी किसानले अबलोकन गरेका आयोजक समितिका सचिवालय सदस्य सुमन ढकालले जानकारी दिनुभयो । मेलामा कृषिसँग सम्बन्धित ५० वटा स्टल रहेका थिए ।

स्टलहरुमा कृषि यान्त्रिकीकरण र कृषि पदार्थ, बीउबिजनको उत्पादक र बिक्रेता, कृषिमा सम्बन्धित बीमा कम्पनी र बैंक, कृषिको सूचना प्रविधि, कृषिसँग सम्बन्धित सरकारी र गैरसरकारी संस्था, नर्सरी र व्यावसायिक तरकारी बिक्रेताको सहभागिता रहेको थियो ।

मेलामा किसानले ल्याएको ७२ वटा नमूना माटो परीक्षण, ६० किराले ग्रसित बिरुवाको नमूना र ७५ रोगले ग्रसित बिरुवाको नमूना परीक्षण र निदान गरिएको छ । मेलाका स्टलमा २० हजारदेखि १५ लाखसम्म रुपैयाँको कारोबार भएको ढकालले जानकारी दिनुभयो ।

हरेक वर्ष आयोजना गर्ने गरी शुरु गरिएको मेलामा हरेक दिन चितवन र आसपासका क्षेत्रमा व्यावसायिक तरकारी र फलफूल खेतीमा देखापरेका समस्याका बारेमा अन्तरक्रिया समेत गरिएको थियो ।

सो अवसरमा कृषि वैज्ञानिकहरुसँग कृषकले प्रत्यक्ष रुपमा भेटेर आफ्नो समस्या राखेको विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिले जानकारी दिनुभयो ।

मेला समापन समारोहमा उत्कृष्ट स्टललाई सम्मान गरिएको छ । अर्गानिक फार्मस वेमेन ग्रुप काठमाडौं पहिलो,राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर दोस्रो र प्राङगारिक कृषि उत्पादन सहकारी संस्था फुलबारी तेस्रो भएका छन् ।

मेलामा रैथाने बालीहरुका बारेमा विज्ञ र किसानबीच अन्तरक्रिया समेत गरिएको थियो । मेलाको आधिकारिक मिडिया पार्टनर कृषि डेली डट कम रहेको थियो ।


  • 293
  •  
  •  
  •  
  •  
  •  
    293
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here