अकबरे खुर्सानीले फेरिएको जीवन

इलाम – खाना खाँदै हुनुहुन्छ ? खानालाई स्वादिलो बनाउनका लागि हरियो खुर्सानी भयो फुरुङ्ग त्यस माथि अकबरे भयो भने त के नै चाहियो र । देख्दा टपक्के टिपेर खाउँ – खाउँ लाग्छ, तर भनिन्छ खोर्सानीको जातै पीरो । यसैबाट प्रभावित भएर इलामका किसानहरु अकबरे खुर्सानी खेतीमा आर्कषित भएका छने । अकबरे खुर्सानीको भदौदेखि टिप्न सुरु भएको छ ।

अहिले इलाममा बाटा, बजार र चोक–चोकमा अकबरे बिक्रीका लागि राखिएको भेट्न सकिन्छ । केही वर्ष यता अकबरेको राम्रो बजार पाएका इलामका किसान यसको खेतीमा लागेका छन् । करिब तीन सय बोट खोर्सानी लगाएकी सूर्योदय नगरपालिका–१२ आठघरेकी निर्मला अधिकारीले यो वर्ष अकबरेको निकै राम्रो फल लागेको बताउनुभयो । पहिलो टिपाइ मात्र गरेको बताउँदै अधिकारीले यो वर्ष चार कुइन्टल जति खुर्सानी फल्छ भन्ने अपेक्षा राखेको बताउनुभयो ।

दुई वर्षअघि अकबरे रोपेको थियो, राम्रै उत्पादन भयो, त्यसपछि पात डल्लो पर्ने र फूल झर्ने रोगले भेट्टायो र गतवर्ष अकबरे रोपिएन, यो वर्ष फेरि रोप्न रहर लाग्यो, अधिकारीले भन्नुभयो, मेरो रहरअनुसार अकबरे हेर्नलाई पनि रहर लाग्दै भएको छ । अधिकारीले व्यापारीलाई घरैबाट दुई सय रुपियाँ प्रतिकिलोका दरले खुर्सानी बिक्री गर्न थालेको बताउनुभयो ।

अधिकारीकै छिमेकी मदन राईले पनि करिब पाँच रोपनी जमिनमा अकबरे लगाउनुभएको छ । राईले झार नपलाओस् र कीरा नलागोस् भनेर भुईंमा प्लास्टिक मल्चिङ ९प्लास्टिक ओच्छ्याएर० खुर्सानी रोप्नु भएको छ । खुर्सानीलाई प्रत्येक वर्ष माटो फेरेर लगाउनुपर्दो रहेछ, राईले भन्नुभयो–नयाँ माटोमा नयाँ बिरुवा लगाइयो भने त्यसले राम्रो फल दिँदो रहेछ भन्ने ज्ञान भएको छ । राईको भने खुर्सानी टिपाइ सुरु हुनै लागेको छ । यो सातादेखि टिप्नुपर्छ होला, अलि–अलि पाक्न थालेको छ, राईले भन्नुभयो– अघिल्लो साल १२५ मन जति अकबरे बिक्री गरियो, गतवर्ष अकबरे त्यति फस्टाएन, यो वर्ष पनि डेढ सय मनभन्दा बढी उत्पादन हुन्छ भन्ने अनुमान गरेको छु ।

किसानले रासायनिक मल तथा विषादीलाई न्युनीकरण गरेर गड्यौले मल र अर्गानिक प्रविधिबाट अकबरेखेती गरिरहेको राई बताउनुहुन्छ । झार धेरै पलाउने र कीरालाई नियन्त्रण गर्न प्लास्टिक मल्चिङको प्रविधि अपनाएको थियो यो निकै प्रभावकारी लागेको छ राईले भन्नुभयो । राईसहित सोही गाउँका अन्य किसानले उत्पादन गरेको अकबरे सातामा दस क्विन्टलसम्म निकासी हुने गरेको अर्का किसान रमेश गड्तौला बताउनुहुन्छ । छरछिमेकीको अकबरे सङ्कलन समेत गरेर प्रत्येक दिन जसो झापाको चारआली पु¥याउने गड्तौला, गतवर्ष जस्तो राम्रो भाउ भने नभएको बताउनुहुन्छ ।

जिल्लाका पञ्चकन्या, सोयाङ, नामसालिङ, सुम्बेक, गोदक, कन्याम, लक्ष्मीपुरलगायतका गाउँका किसानले अकबरेको व्यावसायिक खेती गर्दै आएका छन् । किसानले पाँच हजार वटासम्म खुर्सानीका बिरुवा लगाउने र त्यसबाट उत्पादित अकबरे भारतको दार्जीलिङ, सिलिगुडी, मिरिक र तिङलिङसम्म पुग्ने गरेको छ । यसपटक भने सिलिगुडी र मिरिकतिर खुर्सानी गतवर्ष जस्तो नबिकेकाले मूल्य कम भएको किसानहरू बताउँछन् । पूर्वी नेपालमा फल्ने अकबरेको बीउ दार्जीलिङ र मिरिकमा विस्तार भएपछि नेपाली अकबरे भारततर्फ कम जान थालेको बुझिएको अर्का किसान मित्र राईको भनाइ छ । दुई–तीन वर्ष अघि चार सय रुपियाँ प्रतिकिलोका दरले बिक्री भएको अकबरे पछिल्लो समयमा भने मूल्य घट्दो रहेको राईको भनाइ छ ।

अकबरेको बिरुवा रोपेपछि यसले आठ महिनामा आम्दानी दिन्छ । मौसम अनुकूल हुँदा यहाँका किसानले अकबरेबाट लाखौँ आम्दानी गर्दै आएका छन् । समयमा बीउ राख्ने, बेर्ना नर्सरी र रोपण कार्यमा ध्यान दिन सक्दा अकबरे राम्ररी फस्टाउन सक्ने कृषि प्राविधिक बताउँछन् । गतवर्ष इलाममा ५७४ टन अकबरे उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क छ । यस्तै जिल्लाको १५५ हेक्टर क्षेत्रफल जमिनमा अकबरे खेती हुँदै आएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।