सामुहिक खेतीका लागि माडीमा जग्गाको चक्लाबन्दी सुरु, उत्पादन बढने विश्वास

  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन –  चितवनको माडीमा सामुहिक खेतीका लागि जग्गाको चक्लाबन्दी सुरु गरिएको छ । माडी नगरपालिका–८ कान्तिपुरमा एक सय बिघामा सुरु गर्न लागिएको सामुहिक खेतीका लागि आइतबारदेखि चक्लाबन्दीको काम सुरु गरिएको हो ।

पहिलोपटक सुरु गर्न लागिएको उक्त खेतीका लागि सूर्योदय सहकारी संस्थाले किसानको लालपुर्जा सङ्कलनका साथै जग्गा छनोटको काम सम्पन्न गरिसकेको छ । एक सय नब्बे बिघा जग्गामध्ये पहिलो चरणमा एक सय बिघामा सामुहिक खेती सुरु गर्न लागिएको हो ।

जमिनलाई चक्लाबन्दी गरी आवश्यक सिँचाई, मल तथा बीउ व्यवस्थापन गरी कम्तीमा पनि तीन बाली उत्पादन गर्ने योजना प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ल्याएको हो ।

कृषियोग्य जमिनमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न स–साना कित्ताका जमिनलाई एकीकृत गरी सामूहिक खेती गर्न लागिएको सूर्योदय सहकारी संस्थाका अध्यक्ष इन्द्रबहादुर पौडेलले जानकारी दिए ।

माडीमा असार १५ देखि धान रोपाइँ सुरु हुन्छ । सामुहिक खेतीका लागि सुरुमा किसानलाई मनाउन धौधौ भए पनि विस्तारै बुझ्दै गएकाले सामुहिक खेती अभियान सफल हुने पौडेलले बताए । सामुहिक खेतीका लागि जमिनको चक्लाबन्दी गर्न प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सहयोग गरेको छ । ८६ घरधुरी रहेको कान्तिपुरमा अधिकांश दलित र त्यसमा पनि गन्दर्भ समुदायको बसोबास छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here