धानबालीमा लाग्ने मुख्य रोग र तिनको व्यवस्थापन


परिचय

नेपालमा क्षेत्रफल एवं उत्पादनका हिसाबले धान, मकै र गहुँलाई प्रमुख खाद्यान्न बालीको रुपमा लिइन्छ । हाम्रो देशमा पछिल्लो आँकडा (वि.स. २०७५/०७६) लाई हेर्दा धान, मकै र गहँु क्र्रमशः करिब १४ लाख ९१ हजार ७ सय ४४, ९ लाख ५६ हजार ४ सय ४७ र ७ लाख ३९ हजार ९२ हेक्टर जमिनमा खेती गरिन्छ भने यीनीहरुको औषत उत्पादन क्रमशः ३.७६, २.८४ र २.८५ मे.ट. प्रति हेक्टर छ । जुन अन्य देशहरुको तुलनामा साह्रै न्यून मानिन्छ ।

यी बालीमा पनि विभिन्न प्रकारका रोग–कीराहरुले आक्रमण गर्ने गर्दछन् जसले गर्दा बालीको उत्पादन र उत्पादित फसलको गुणस्तरमा नकारात्मक प्रभाव पारेको देखिन्छ । यी समस्याहरु समाधान गरीे उत्पादन बढाउन साथै आर्थिक लाभ लिनका लागि गर्नुपर्ने कर्महरुमध्ये बालीमा लाग्ने प्रमुख रोग किराहरुको चिनारी, क्षतीको मात्रा पहिचान, स्थानीय स्तरमा उपलब्ध वैकल्पिक बाली संरक्षणका उपायहरु पहिचान गरी प्रयोग गर्ने साथै आवश्यकता अनुसार उपयूक्त बिषादीको छनोट गरी सही तरिकाबाट प्रयोग गर्नु इत्यादी महत्वपूर्ण छन । रोग–कीराको आक्रमणबाट बाली–नालीमा पर्ने असर, समय र स्थान अनुसार फरक फरक पर्न सक्दछ ।

बाली बिरुवामा लाग्ने रोगको मानव जीवनमा आफ्नै छुट्टै महत्व रहँदै आएको छ । यसको कारण संसारमा पटक–पटक मानिसले ठूलो क्षती तथा दुःख भोग्दै आएका छन् । विशेष गरी खाद्यान्न बालीमा ढुसीजन्य रोगहरुले आक्रमण गरेको पाइन्छ भने केही मात्रामा साकाणु (व्याक्टेरीया), विषाणु (भाइरस) र जुका (निमाटोड) ले पनि आक्रमण गर्दछन् ।

रोग

कुनै प्राथमिक कारणहरुले गर्दा लगातार रुपमा उत्पन्न हुने गडवडी, जसले गर्दा जव कुनै जिवित वस्तुमा हुनुपर्ने एक वा धेरै प्रकृया (शक्ति उपयोग) मा हानिकारक परिवर्तन आउँछ, त्यसलाइ नै रोग भनिन्छ ।

रोग त्रिभुज

 

 

 

 

 

 

 

 

 

 

विरुवामा रोग कसरी लाग्छ ?

१.शक्तिशाली रोग—कारक तत्वहरुको उपस्थिति (Virulent pathogen)
– ढुषि (Fungus)

– जिवाणु (Bacteria)
– विषाणु (Virus)
– जुका (Nematode)

२.उपयूक्त वातावरण (Favorable environment)
– तापक्रम (Temperature)
-सापेक्षिक आद्रता (Relative Humidity)
– बर्षा (Rainfall)

– सुर्यको प्रकाश (Solar Radiation)

३.संक्रमित विरुवा (Susceptible Host)
– रोग सहन नसक्ने विरुवाको जातहरु

उत्पादन तह

 

क) ढुँसीबाट लाग्ने रोगहरु
१. मरुवा(Blast)
२. फेद कुहिने रोग (Foot rot)
३. खैरो थोप्ले/ब्राउन लिफ स्पट (Brown leaf spot)
४. पातेफेद डढुवा/सीथ ब्लाइट (Sheath Blight)
५. कालो पोके (False smut)
६. पातेफेद कुहिने/शीथ रट् (Sheath rot)
७. बेर्ना डढुवा (Seedling blight)

ख) शाकाणुबाट लाग्ने रोगहरु
८. डढुवा रोग/ब्याक्टेयिल ब्लाइट (Bacterial Blight)
९. ब्याक्टेयिल लिफ स्ट्रिक ब्लाइट (Bacterial Blight)

ग) बिषाणुबाट लाग्ने रोगहरु
१०. पुड्के/राईस ड्वार्प(Rice dwarf virus)
११. खिइने/राईस टुँग्रो (Rice tungro virus)

१. मरुवा/ब्लाष्ट (Blast)

जीवाणु– पाइरिकुलारिया ओराइजा (Pyricularia oryzae)

लक्षण
 पातमा दुबै छेउतिर चुच्चिएका अण्डाकार खैरा थोप्लाहरु निस्कन्छन् र थोप्लाको बीचमा सेतो बिन्दु हुन्छ ।
 प्रकोप बढी भएमा पुरै पात डढ्छ । यो रोग आँख्लामा र बालामा घाँटीमा पनि लाग्छ । बालाको घाँटीमा लाग्ने रोगलाई नेक ब्लाष्ट भनिन्छ ।

नियन्त्रण
 रोग प्रतिरोधक जातहरु लगाउने हाल मरुवा रोग प्रतिरोधक वा कम लाग्ने जातहरुमा पहाडी क्षेत्रको लागि कन्चन, खुमल–२, ४, ५, ६, ७, ८, ९, ११, पालुङ–२, माछापुछरे –३, चन्दननाथ–१, २ छन भने भित्री मधेस र मधेसको निमित्त परवानीपुर–१, जानकी, चैत्र–२, खजुरा–२, आई.आर.–८, रामपुर मनसुली, राधा–४, ७, ११, १२, हर्दिनाथ–१ आदि छन् ।
 नाइट्रोजनयुक्त मल जस्तै युरिया मात्र बढी प्रयोग नगरी फस्फोरस र पोटास पनि सिफारीस मात्रामा प्रयोग गर्ने ।
 ट्रिप वा बीम (Tricyclazole 75% WP) २ ग्राम प्रति किलोग्राम धानको बीउका दरले बीउ उपचार गरी ३ दिन पछि ब्याडमा छर्ने ।
 बेर्ना गाँजिरहेको अबस्थामा यो रोग लागेमा हिनोसान (Edifenphos) १.५ मिलिलिटर वा बीम १ ग्राम वा कासु–बी (Kasugamycin ३%) २ मिलिलिटर प्रति लिटर पानीका दरले छर्ने ।
 नेक ब्लाष्ट रोकथामको निम्ति बाला निस्कने बेलामा एकपटक माथि उल्लेखित बिषादी छर्ने ।

२. फेद कुहिने रोग (Foot rot)

जीवाणु– फयुजारीयम मोनीलिफर्मी (Fusarium moniliforme)

लक्षण

 प्रायः रोगी बेर्ना/बोटहरु स्वस्थ्य बेर्ना/बोटहरु भन्दा अग्लो हुने, पहेलिने र अन्तमा कुहिएर मर्ने गर्दछन् ।
 रोगी बोटको तल्लो आँख्लाबाट जरा निस्कन्छ ।

नियन्त्रण
 यो रोग बीउबाट सर्ने भएकोले स्वस्थ्य बीउको प्रयोग गर्ने ।
 बेभिष्टीन वा डेरोसाल (Carbendazim) ३ ग्राम प्रति किलोग्राम बीउका दरले उपचार गरी मात्र ब्याड राख्ने । यो विधि खासगरी खुमल–४ जातको धान खेतीको लागि आबश्यक छ ।
 खेतमा यो रोग देखा परेमा माथि उल्लेखित बिषादी २ ग्राम प्रति लिटर पानीका दरले मिलाई छर्ने ।

३. खैरो थोप्ले/ब्राउन लिफ स्पट (Brown leaf spot)

जीवाणु–बाइपोलारिस ओराइजा (Bipolaris oryzae)

लक्षण
 पातमा तिलको दाना आकारका अण्डाकार खैरा थोप्लाहरु निस्कन्छन् ।
 थोप्लाको केन्द्र भाग खरानी रंगको हुन्छ ।

नियन्त्रण
 यो रोग खासगरी मलजल नपुगेको अबस्थामा लाग्ने हुँदा उचित मात्रामा मलको प्रयोग गर्ने ।
 यो रोग बीउबाट पनि सर्ने भएकोले स्वस्थ्य बीउको प्रयोग गर्ने ।
 डाइथेन एम–४५ (Mancozeb) ३ ग्राम प्रति किलोग्राम बीउको दरले बीउ उपचार गरी ब्याड राख्ने ।
 आबश्यक परेमा माथि उल्लेखित बिषादी ३ ग्राम प्रति लिटर पानीका दरले छर्ने ।

४. पातेफेद डढुवा/सीथ ब्लाइट (Sheath Blight)

जीवाणु– राइजोक्टोनीया सोलानी(Rhizoctonia solani)

लक्षण

 पातको फेद (Leaf sheath) मा अण्डाकार खैरो–खैरो हरियो रंगका थोप्लाहरु देखिन्छन् । पछि यी थोप्लाहरुको आकारमा बृद्धि भई बेआकारका बन्दछन् ।
 प्रकोप बढी भएमा यी थोप्लाहरु पातमा समेत पुग्छन् र पुरै पात डढ्छ र फलस्वरुप पुरै बोट डढेको जस्तो देखिन्छ ।

नियन्त्रण
 नाइट्रोजन मल मात्र बढी प्रयोग नगरी फोस्फोरस र पोटास मल पनि प्रयोग गर्ने ।
 धान बाक्लो नरोप्ने ।
 रोगको प्रकोप बढेमा हिनोसान १.५ मिलिलिटर वा भ्यालिडासिन (Validamycin) २ मिलिलिटर प्रति लिटर पानीका दरले छर्ने ।

५. पाते फेद कुहिने/शीथ रट् (Sheath rot)

जीवाणु–सारोक्लाडियम ओराइजा (Sarocladium oryzae)

लक्षण

 बोटको सबभन्दा माथिल्लो पातको फेद (Flag leaf sheath मा लाम्चिलो र बेआकारका खैरो रंगका थोप्लाहरु निस्कन्छन् र थोप्लाको बीच भाग फुस्रो हुन्छ ।
 रोगले माथिल्लो पातको फेद पुरै ढाक्छ र बाला राम्ररी निस्क्न सक्दैन ।

नियन्त्रण
 बाला निस्कने बेलामा हिनोसान ५० ई.सी. झोल १.५ मिलिलिटर वा डाइथेन एम–५४, ३ ग्राम प्रति लिटर पानीका दरले छर्ने ।

६. डढुवा रोग÷ब्याक्टेयिल ब्लाइट (Bacterial Blight)

जीवाणु– जान्थोमोनास ओराइजा ओराइजा (Xanthomonas oryzae pv.Oryzae)

लक्षण

 अक्सर पातको किनाराबाट पानीले भिजेको जस्तो लामा नागबेली (Wavy) धर्साहरु देखिन्छन् । पछि गएर यो भाग पराले रंगमा परिणत हुन्छ ।
 रोगी पातलाई काटेर पानी भरेको सिसाको ग्लास वा टेष्ट ट्युबमा नचलाई राखेमा काटिएको भागबाट शाकाणु पानीमा झरेको प्रष्ट देखिन्छ ।
 यो रोगको अर्को लक्षण बोट आइलाउने हो ।
 रोगको शांकाणु बोटको पुरै भागमा पैmलिन्छ र गाँज ओइलाई मर्न थाल्दछ ।
 रोपाई गरेको २–३ हप्तापछि शुरु हुन्छ । रोगग्रस्त बोटको डाँठलाई काटी निचोर्दा हल्का पहेंलो रंगको द्रब्य निस्कन्छ ।

नियन्त्रण
 रोग प्रतिरोधक जातहरु लगाउने ।
 लक्ष्मी, चन्दिना, बिन्देश्वरी, मलिका, जानकी, साबित्री, चैते–२,४, आई.आर.–२०, २२, बर्षे–२, खजुरा–२, मकवानपुर–१, राधा–४,७, ११, १२, हर्दिनाथ–१ जातका धानमा यो रोग कम लाग्दछ ।
 हिले ब्याडको सट्टा धुले ब्याड राख्ने, किनकी पानी भएको ठाउँमा यो रोगको शांकाणुहरु बढी क्रियाशील हुन्छन् ।
 बोटलाई सकभर घाउचोट लाग्नबाट बचाउने र धानको टुप्पा काट्ने चलनलाई हटाउने जसले गर्दा रोगका शांकाणु सजिलैसँग बोटभित्र पस्न सक्दैन ।
 नाइट्रोजनयुक्त मल जस्तै युरीयाको मात्र बढी प्रयोग नगर्ने र पोटास मलको प्रयोगमा बिशेष जोड दिने ।
 एग्रीमाइसीन–१०० २ ग्राम ३ लिटर पानीका दरले मिलाई छर्ने ।
 गाईको ताजा गोवर ५० ग्राम प्रतिलिटर पानीका दरले घोल बनाइ त्यसलाई छानेर छर्दा यो रोग केही हदसम्म नियन्त्रण हुन्छ ।

७. खैरा रोग (Khaira diseases)

रोगको कारण–जस्ता (जिङ्क/Zinc) तत्वको कमीले गर्दा देखिन्छ ।

लक्षण

 यो रोगको लक्षणस्वरुप धान रोपेको १२–१५ दिनपछि तल्लो पातको मसिना नशाबीच पहेंलोपना देखिन्छ ।
 साथसाथै पातमा खैरो रंगका मसिना थोप्लाहरु आउँछन् ।
 बिस्तारै–बिस्तारै यी थोप्लाहरु एक आपसमा जोडिएर ठुला हुँदै जान्छन् र पुरै पात खैरो या बदामी रंगको हुन जान्छ ।
 यस्ता रोगी बिरुवाको बृद्धि कम भई बोट होचो हुने, गाँज कम लाग्ने र पुरै बोट मर्न पनि सक्छ ।

नियन्त्रण
 नाइट्रोजन र फोस्फोरस मल सिफारिस मात्रा भन्दा बढी प्रयोग नगर्ने ।
 खेतमा निकासको राम्रो प्रबन्ध मिलाउने ।
 जस्ता तत्वको कमी भएको जग्गामा १५–२० किलोग्राम जिङ्क सल्फेट प्रतिहेक्टर जग्गाका दरले प्रयोग गर्ने ।
 यसरी एक बर्ष जिङ्क सल्फेट प्रयोग गर्दा कम्तीमा ३ बर्षसम्म फेरी प्रयोग गर्नु पर्दैन ।
 धान रोपी सकेपछि यो समस्या आएमा ५ किलो ग्राम सल्फेट र २.५ किलोग्राम चुन (घर पोत्ने चुन) प्रति हजार लिटर पानीमा मिलाई एक हेक्टरका दरले छर्ने ।
 यो आवश्यकता हेरी १०–१२ दिनको फरकमा २ पटक सम्म छर्नु पर्ने हुनसक्छ । यसको सट्टा बजारमा पाइने चेलामिन (जिङ्क मिक्स्चर) २ ग्राम प्रति लिटर पानीका दरले मिलाई छर्न सकिन्छ ।

लेखक डा.सुवाश सुवेदी नेपाल कृषि अनुसन्धान परिषद (नार्क) मा (वाली रोग वीज्ञान) को
वरीष्ठ वैज्ञानिक पदमा कार्यरत हुनुहुन्छ ।

error: Content is protected !!