धानबालिका मुख्य कीराहरु र तीनको व्यवस्थापन

रामचन्द्र रेग्मी/ उप-प्रा.राजेन्द्र रेग्मी

धान नेपालको प्रमुख अन्नबाली हो ।आ.व. २०७५ /७६  काे तथ्याङ्क अनुसार नेपालमा धानको उत्पादकत्व   ३.७६ मे.टन प्रति हेक्टर रहेको छ  ।

नेपालमा धान खेति समुन्द्रको सतहबाट ६७ मिटर देखि ३०५० मिटरको उचाईसम्म गरिन्छ । विश्वमा धानको हालसम्मको उच्च उत्पादकत्व करिब १०.०४ मे.टन प्रति हेक्टर रहेको छ ।

नेपालमा धानको उत्पादकत्व कम हुनुका पछाडी थुप्रै कारणहरु रहेका छन । नेपालमा धानखेतीमा प्रमुख समस्याहरु यान्त्रिकरणको अभाव, झारपात व्यवस्थापन र रोगकिरा व्यवस्थापन हुन । यी मध्ये कीरा धानखेतिको मुख्य शत्रु मानिन्छ जसले धानबालीमा धेरै प्रतिशत सम्म क्षति पुर्याउँछ । यस लेखमा धानबालिका केहि मुख्य किराहरु तथा तीनको व्यवस्थापान बारे केहि चर्चा गरिएको छ ।

१) धानको पहेँलो गबारो  (Scirpophaga incertulas ) :

पहेँलो गबारो धान बालीमा क्षति पुर्याउने प्रमुख कीरा मानिन्छ । यो कीराको लार्भा अवस्था खन्चुवा स्वभावको हुन्छ । यसले धानको  बेर्ना अवस्थादेखि बाला निस्कने अवस्थासम्म मुख्य क्षति पु¥याउँछ ।

लक्षणहरु : गबारो कीराको लार्भाले धानको फेदमा प्वाल पारि धानको गुबो खान्छ । यो कीरा एउटा गुबो बाट अर्को गुबोमा सर्दै क्षति पुर्याउँछ । लार्भाले गुबोमा पार्ने क्षतिले गर्दा गुबो सुक्छ र गुबो तान्दा सजिलै आउछ । यसले क्षति पु¥याएको बोटको बाला सुकेको हुन्छ जसलाई ‘सेतो बाला’ भनिन्छ ।

व्यवस्थापन : खेतमा पानी जमाएर राख्नाले यस किराको प्रकोप कम गर्न सकिन्छ । त्यसैगरी प्रकाश पासोको माध्यमबाट वयस्क पुतली व्यवस्थापन गर्न सकिन्छ ।

धान रोप्न भन्दा अगाडी टुप्पा चुडेर रोप्नाले गबारो कीराको अण्डाहरु फैलिन बाट रोक्न सकिन्छ । धान कटानी पछी रहेको ठुटो नष्ट गर्नाले पनि यसको प्रकोप कम गर्ने सकिन्छ । ट्राईक्रोग्रामा चिलोनिस (५०००) देखि १००००० प्रति हेक्टर ) प्रयोग गर्दा पनि गबारो कीरा नियन्त्रण गर्न सकिन्छ ।

रासायनिक तरिकाले व्यवस्थापन गर्नको लागि क्लोरोपाइरिफस २० ई.सी. नामक विषादी २ मि.लि. प्रति लिटर पानीमा मिसाइ छर्नुपर्दछ ।

त्यसैगरी २५ के.जी कार्टेप हाईड्रोक्लोर्राइड ४ जी. अथवा १५ के.जी फिप्रोनिल ०.३ जी. दानादार विषादी प्रति हेक्टरका दरले खेतमा पानी जमाएर छर्नुपर्दछ ।

२) खैरो फड्के कीरा (Nilaparvata lugens) :

यो कीराले धानको पात र डाँठबाट रस चुस्दछन, जसले गर्दा बोट पहेँलो हुन्छ । यसको निम्फ बच्चा र माउ दुवै अवस्थाले क्षती पुर्याउँछन ।

लक्षणहरु : खैरो फड्के कीराको क्षतिले गर्दा बिरुवाको वृद्धि विकास रोकिन्छ र बिरुवा पहेँलिन्छ । यसको क्षतिबाट ठाउँ–ठाउँमा धान डढेको जस्तो देखिन्छ जसलाई ‘होपर बर्न’ भनिन्छ । यो कीरा धेरै सापेक्षिक आद्रता, उपयुक्त तापत्रम, धेरै मात्रामा नाईट्रोजनको प्रयोग, न्यून हावाको चालको अवस्थामा धेरै फैलिन्छ ।

व्यवस्थापन : खैरो फड्के कीरा व्यवस्थापनको लागि धान बाक्लो नरोप्ने, खेतमा बेला बेलामा पानी सुकाउने गर्नुपर्छ । प्रत्येक ३ मिटरको धान रोपेको दुरी पछि ३० से.मिको खालि ठाउँ छोड्नाले पनि केहि हदसम्म यसको नियन्त्रण गर्न सकिन्छ ।

रासायनिक विधिबाट नियन्त्रणका लागि इमिडाक्लोरोपिड १७.८५ एस. एल किटनासक ०.५ मि.लि. प्रतिलिटर पानीमा मिसाएर छर्न सकिन्छ ।

३) धानको पतेरो (Leptocorisa oratorius / L. acuta):

यो कीरा निम्फ अवस्थामा हरियो र वयस्क अबस्थामा खैरो रङको हुन्छ। यो कीराको शरिरबाट नराम्रो गन्ध आउँछ ।

लक्षणहरु : धानको पतेरोले धानको बालामा दुध भर्ने अवस्थामा आक्रमण गर्दछ । यस कीराको निम्फ र माउले धानको दानाबाट रस चुसेर खान्छ जसले गर्दा दाना अपुष्ट हुने समस्या देखिन्छ । यसको आक्रमणले गर्दा उत्पादनमा धेरै नै ह्रास आउँन सक्छ ।

व्यवस्थापन : यो किराको वयस्क अवस्थाको नियन्त्रण गर्न बत्ती पासोको प्रयोग गर्न सकिन्छ। प्राकृतिक शत्रु बाघे खपटेको संरक्षण तथा गोबररलादी पासोको प्रयोगबाट पनि यसलाई व्यवस्थापन गर्न सकिन्छ ।

झारपातको उचित व्यवस्थापन गर्नाले पनि यसको प्रकोप कम हुन्छ । रासायनिक विधिबाट व्यवस्थापनको लागि क्लोरोपाईरिफस २० ई.सी २ मि.लि. प्रति लिटर पानीमा मिसाइ छर्नुपर्दछ।

४) धानको फटेङग्रा (Hieroglyphus banian):

फटेङग्रा धेरै अन्नबालीको शत्रु कीरा हो । यसको थोरै संख्याले खासै बालिलाई क्षति पुर्याउदैन यदि प्रकोप धेरै भएमा निकै क्षति पुर्याउँछ ।

लक्षणहरु : फटेङग्राको निम्फ र माउ दुबै अवस्थाले धानको पात खान्छन । यसको संख्या धेरै भएमा बालीमा ज्यादै नै क्षति पुर्याउँदछ ।

वर्षायाममा यसको अण्डाको विकास भई निम्फ र माउँमा परिवर्तन हुन्छ जसले गर्दा वर्षे धानमा यसको प्रकोप बढी देखिन्छ । यसले धानको जुनसुकै अवस्थामा पनि आक्रमण गर्ने र क्षति पुर्याउँन सक्छ ।

व्यवस्थापन : खेतमा धान रोप्न भन्दा अगाडी गहिरो जोताई गर्नाले यो किराका अण्डाहरु नष्ट हुन्छन । त्यसैगरी यसको नियन्त्रणको लागि हाते जाली प्रयोग गरि नष्ट गर्न सकिन्छ ।

खेतमा चरा बस्ने ठाउँ बनाउनाले पनि फटेङग्राको व्यवस्थापन गर्न सकिन्छ । धान रोप्न भन्दा अगाडी बारीको आली तास्नाले र माटो चढाउनाले केहि मात्रामा व्यवस्थापन गर्न सकिन्छ । रासायनिक विधिबाट व्यवस्थापनका लागि क्लोरोपाईरिफस २० ई.सी २ मि.लि प्रति लिटर पानिमा मिसाई छर्न सकिन्छ ।

५) धानको पात बेरुवा (Cnaphalocrosis medinalis):

यस कीराको लार्भाले पातको दुवै छेउ मसिनो धागोले टासी बेर्दछ र बेरेको पात भित्र बसी हरियो पदार्थ खाने गर्दछ।

लक्षणहरु : सुरुको अवस्थाको लार्भाले पात नाबेरिकनै खाने गर्दछ । तर क्रमश लार्भाको विकाससँगै पात बेरेर खान थाल्दछन । यसले खाएको पातहरुमा सेतो धर्साहरु देखिन्छन, पात जाली जस्तो बनाउछ र पात सुक्दै जान्छ । यो कीरा खाने क्रममा एउटा पातबाट अर्को पातहरुमा सर्दै जाने गर्दछ ।

व्यवस्थापन : बत्ती पासोको प्रयोगबाट यसको माउ कीराको व्यवस्थापन गर्ने सकिन्छ । झारपात नियन्त्रण गर्नाले पनि केहि मात्रामा यसको प्रकोप कम गर्न सकिन्छ । खेतबारीमा भएको छहारी दिने बिरुवा हटाउनु पर्दछ । सन्तुलित मात्रामा खाद्यतत्वको प्रयोग गर्नुपर्छ ।

धान बाक्लो गरेर रोप्नु हुँदैन । त्यसैगरी अण्डा परिजिवि ट्राईक्रोग्रामा चिलोनिस (५०००० देखि १००००० प्रति हेक्टर) प्रयोग गर्नाले पनि यसको व्यवस्थापन गर्न सकिन्छ । साथै रासायनिक विधिबाट व्यवस्थापनको लागि २ मि.लि क्लोरोपाईरिफस २० ई.सी प्रति लिटर पानीमा मिसाएर छर्न सकिन्छ ।

६) धानको फौजी कीरा (Mythimna separata) :

फौजी कीराले एकैपटक धेरै संख्यामा आक्रमण गरि बालीमा क्षेति पुर्याउँछ । यो कीराको लार्भा अवस्थाले प्राय जस्तो रातिको समयमा बालि खाने गर्छ ।

लक्षणहरु : यो कीराको लार्भाले धानको पात खान्छ र बाला काट्ने पनि गर्दछ । सुरुको अवस्थाको लार्भाले पात कोतरेर खान्छ र लार्भाको अरु चरणहरुले पुरै पात खान्छ र बाला पनि काट्ने गर्दछन ।

व्यवस्थापन : फौजी कीराको वयस्क अवस्थालाई बत्तिको पासोबाट नियन्त्रण गर्न सकिन्छ । खेतबारीमा देखिएका यसका अण्डाहरु नष्ट गर्नुपर्छ । बारीमा पानी लगाएर यसको प्युपा (Pupa) नियन्त्रण गर्न सकिन्छ ।

रासायनिक विधिबाट व्यवस्थापनको लागि इमामेक्टिन बेन्जोयट ५५ एस.जी. ०.४ ग्राम प्रति लिटर पानीमा मिसाई छर्न सकिन्छ । त्यसैगरि स्पाईनोस्याड ४५५ एस.सी ७ मि.लि प्रति १६ लिटर पानीमा मिसाएर छर्न सकिन्छ अथवा स्पाईनोस्याडको पासो बनाएर खेतको आलिमा राख्नाले पनि यसको व्यवस्थापन गर्न सकिन्छ ।

७) धानको केसवोर्म (Nymphula depunctalis):

यो कीरा विषेशगरि पानी बढी भएको ठाउँमा देखिन्छ । यसको लार्भा अवस्थाले धानबालीमा क्षति पुर्याउँछ ।

लक्षणहरु : यसको सुरुको लार्भा अवस्थाले पात कोतरेर खान्छ । लार्भाको पछिल्ला अवस्थाले पात काट्छ र त्यसलाई बस्ने संरचना (केस) जस्तो बनाउछन ।

ती लार्भाहरुले त्यही खान्छन र सजिलै पानीमा तैरेर एक ठाउँ बाट अर्को ठाउँ जान्छन । यसले धान बालीको पात खाने हुनाले धेरै संख्यामा आक्रमण गर्यो भने पुरै बालिमा क्षति पुर्याउँछ ।

व्यवस्थापन: बारीमा पानि जमाई राख्नु  हुँदैन। पानीको निकासको व्यवस्था मिलाउनु पर्दछ जसले गर्दा पानीमा तैरेका लार्भाहरुको नियन्त्रण गर्ने सकिन्छ । रसायनिक विधिबाट व्यवस्थापनको लागि क्लोरोपाईरिफस २० ई.सी २ मि.लि प्रति लिटर पानीमा मिसाई छर्न सकिन्छ ।

लेखक रामचन्द्र रेग्मी (कृषि स्नातक, कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवन ) र राजेन्द्र रेग्मी (उप– प्राध्यापक, कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवन )   हुनुहुन्छ ।

error: Content is protected !!