मकै खेतीको उत्पादनमा अत्याधिक वृद्धि

  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर – झापा, मोरङ, सुनसरीको हुलाकी सडक करिडोरमा हिउँदे मकै खेतीको उत्पादन बढेको छ ।

मकै उत्पादन बढेसंगै किसानले मूल्य नपाएका कारण यो वर्ष उत्पादन भएको मकै बिक्री गरेका छैनन् । नेपाल सरकारले हुलाकी सडक करिडोरलाई अन्न तथा तरकारी खेतीकालागि प्रोत्साहन गर्ने घोषणा गरेसंगै मकै खेतिमा असाधारण बढोत्तरी आएको हो ।

झापा, मोरङ र सुनसरीको हुलाकी सडकदेखि उत्तर खण्डमा विगतदेखि नै मकै खेती गरिदै आएको थियो । दक्षिण तर्फ भने किसानहरुले गहुँ खेतीलाई प्राथमिकता दिने गरेका थिए । तर पछिल्लो समय गहुँको उत्पादन निकै कम हुने गरेकोले किसानहरु मकै खेति तर्फ आकर्षित भएका हुन् ।

पछिल्लो पाँच वर्षदेखि दक्षिणी सीमावर्ती इलाकाहरुमा किसानहरुले मुख्य वालीकै रुपमा मकै लगाउन थालेपछि प्रत्येक वर्ष उत्पादन बढ्दो क्रममा रहेको छ । दक्षिणी इलाकामा गहुँखेती भने करिव विस्थापित भएको मोरङ क्षेत्र नम्वर १ का प्रदेशसभा सदस्य तथा किसान शिवनारायण गनगाई बताउछन् ।

उनकाअनुसार मोरङको सीमावर्ती दक्षिणी क्षेत्रमा झण्डै ७५ प्रतिशत किसानले यो वर्ष गहुँखेतीको सट्टामा मकै खेती गरेका थिए । एक विगाह खेतमा ५० मन गहुँ उत्पादन हुन्छ भने मकै १ सय ५० देखि २ सय मनसम्म उत्पादन गर्न सकिन्छ । अधिक उत्पादन क्षमताका कारण पनि किसानहरु गहुँ खेती छोडेर मकै तर्फ लागेका हुन् ।

अघिल्लो वर्ष यसै सिजनमा किसानहरुले प्रतिकिलो १९ रुपीयाँका दरले मकै बिक्री गरेका थिए । यो वर्ष मकैको मूल्य घटेर प्रतिकिलो १४ रुपैयाँमा झरेको छ । झण्डै छ प्रतिशतले मूल्यमा गिरावट आएपछि धेरै किसानले मकै बिक्री गरेका छैनन् ।

त्यसमाथि भारत लगायत तेस्रो मुलुकबाट मकैको आयात गर्ने क्रम पनि रोकिएको छैन । आफ्नो उत्पादन बिक्री नभइरहेको बेला विदेशबाट आयात हुने मकै नियन्त्रण गर्ने तर्फ सरकारले ध्यान नदिँदा किसान मारमा परेको भन्दै सांसद मण्डलले प्रदेशसभा बैठकमा मकै उत्पादन किसानलाई सहुलियत दिन माग गरे ।

सांसद मण्डलले अन्न उत्पादनमा आत्मनिर्भर बन्ने सरकारको योजना हो भने मकै खेतीमा अनुदान दिन आग्रह गरे । उन्नत जातको मकैको बीउ प्रतिकिलो ४ सय ५० देखि ५ सय रुपैयाँसम्ममा खरिद गर्ने गरेका छन् जुन अत्याधिक महंगो भएको उनीहरुले बताएका छन् ।

यसैबीच क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका वाली विशेषज्ञ राजेन्द्र उप्रेतीले मकै खेतीको नयाँ प्लटहरु पछिल्लो समयमा विस्तार भएको जानकारी दिए । मकैखेतिको पुरानो स्थान यथावत रहेको र दक्षीण तर्फ मकै खेती व्यापकरुपमा विस्तार भएकोेले उत्पादनमा राम्रो बढोत्तरी देखिएको छ ।

उत्पादन राम्रो भएकै कारण किसानहरुले वर्षमा तीन वालीसम्म मकै लगाउन थालेका छन् । धान निकालेर कार्तिकमा, त्यसपछि माघ फागुनमा मकैखेती लगाउने गरेका किसानहरुले कतिपय ठाउँमा वर्षा याममा पनि मकै खेती गर्ने गरेको उप्रेतीले बताए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!