आँपखेतीले फेरिएको जीवन

सिराहा – आँप उत्पादनमा ख्याति कमाएको जिल्ला हो, सिरहा। आँप उत्पादनमा वृद्धि भएकाले यस वर्ष यहाँका किसानलाई आँप खरिद बिक्री गर्न भ्याइनभ्याइ छ।

दिनहुँ किसान बगैंचाबाट आँप गाडामा राखी बिक्रीका लागि बजारसम्म पु¥याउने गर्छन्। प्रतिगाडा आँप नौ हजारदेखि १२ हजारसम्म खरिद बिक्री हुने गरेको छ। सिरहाका किसान अहिले आँप बेचेरै मालामाल भएका छन्। एक सिजनमा एक किसानले आँप उत्पादनबाटै १२ लाखसम्म आम्दानी गर्न सफल भएका छन्।

यस सिजनमा फुलबरिया ५ का कृषक विजयकुमार यादवले आफ्नै बगैंचामा उत्पादित आँप बिक्री गरेर १२ लाख कमाउन सफल भए। यादवले पाँच बिघामा उत्पादित आँप १२ लाखमा बिक्री गरेको जानकारी दिए। उनले भने, ‘११ वर्षदेखि आँप बिक्री गरे पनि यो वर्ष सबैभन्दा बढी मूल्य पाएको छु।’ एक वर्षमै १२ लाखको आँप बिक्री गरेपछि उनले थप दुई बिघामा आँपका बोट लगाउने सोच बनाएको सुनाए।

उनले आँप बेचेर पक्की घर बनाउन सफल भएकोमा खुसी व्यक्त गरे। उनले थपे, ‘आँपखेती नगरेको भए घर चलाउन पनि सकिँदैन्थ्यो। अहिले करिब २० लाख बराबरको पक्की घर बनाएको छु।’ उनले तीन छोराछोरी पनि आँप बेचेरै पढाएका थिए।

फुलबरियाकै आँप कृषक ललित यादवले यस वर्ष आँप बिक्रीबाट नौ लाख रुपैयाँ कमाउन सफल भए। विजय र ललित त उदाहरण मात्र हुन्। फुलबरिया गाविसकै करिब दुई दर्जन कृषकले करिब १०–१० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको स्थानीय युवा राजीव साहले जानकारी दिए। उनले फुलबरिया गाउँमा मात्रै करिब दुई सय बिघामा आँप खेती भइरहेको बताए। उनले भने, ‘यहाँ प्रायः सबैको घर आँप बिक्रीबाटै चल्छ। कतिपयले छोराछोरीको पढाइ खर्च पनि यसबाटै धानेका छन्।’

यस्तै नौ वर्षदेखि आँप उत्पादन गर्दै आएका सिरहा गोविन्दपुरका आँप किसान रामधनी यादवले मात्रै यस वर्ष डेढ लाख रुपैयाँ आँप बिक्रीबाट आम्दानी गरेको उल्लेख गरे। उनले आफ्नो बगैंचासहित वारिपारि गाउँका चारवटा फुलबारी खरिद गरेका छन्। ‘आँपको मञ्जर हेरेर बगैंचा खरिद गरेँ, मौसमले साथ दिएन आधाभन्दा बढी आँप झ¥यो’, उनले भने, ‘नभए ४÷५ वर्षको हैरानी र लगानी यसै वर्ष उपर हुन्थ्यो।’ बजारमा आँपको भाउ सस्तो भए पनि किसानलाई यस वर्ष घाटा नभएको उनले जानकारी दिए।

‘आफू पढेलेखेको छैन। खेतीकिसानीबाहेक अरु काम गर्न सक्दिन’, उनले भने, ‘बर्सेनि आँपको खरिद बिक्री गर्छु, आँपकै आम्दानीले गुजारा चलाउँछु।’ प्राविधिक ज्ञानको अभावले किसानले मार खेप्नु परेको छ तर, सरकारको यसतर्फ ध्यान नपुगेको उनले गुनासो गरे। आँप उत्पादनमा किसानलाई बिरुवा, मलखादमा सहुलियत भइदिए बर्सेनि लाखौं रुपैयाँ यसै व्यवसायबाट आम्दानी हुने उनले बताए।

उनीजस्तै, लहान नपा १४ वस्तीपुरका सफिया मियाँले पनि यस वर्ष आँपबाट राम्रै आम्दानी गरेको बताए। कम लगानीमै किसानले बढी आम्दानी गर्न सक्ने व्यवसाय आँप खेती रहेको उनको भनाइ थियो। आँपकै आम्दानीले गुजारा र औषधि उपचार चलाएको उनले सुनाए। सरकारले किसानलाई लगानीमा सहयोग गरे आँपमै आत्मनिर्भर हुने उनले बताए। यी दुई किसान मात्रै होइनन्, यहाँ बगैंचा नै व्यापारीहरूले खरिद गर्ने गरेका छन्। वर्ष विराएर आँप फल्ने गरेकाले उनीहरू तीन वर्षसम्म एकै पटक बगैंचा ठेक्कामा लिने गरेका छन्। यहाँका किसानले बम्बई, मालदह, दसहरी, कलकतियालगायत प्रजातिका आँप उत्पादन गर्छन्। उनीहरूले सबैभन्दा पहिले बम्बई र मालदह आँप बिक्री गर्ने गरेका छन्।

यहाँका आँप काठमाडौं, पोखरा, बुटवललगायत सहरमा बिक्रीका लागि लगिने गरिएको छ। अहिले कोसेलीका रूपमा आफन्तकहाँ पनि आँप नै पठाउने गरेका छन्। काठमाडौं जाने यात्रीहरूले पनि ओर्लेर आँप किन्ने गरेको लहान बजारमा आँप बिक्री गरिरहेकी आशादेवी साहले बताइन्। आँप सस्तो हुने भएकाले कोसेलीका रूपमा लैजान मानिसहरु लोभिएको उनले सुनाइन्।

जिल्ला कृषि विकास कार्यालय सिरहाका अनुसार सिरहामा यस वर्ष दोब्बर आँप उत्पादन भएको छ। जिल्लाको लोकमार्गआसपास एरिया लहान, धनगढी, गोलबजार, मिर्चैया, कर्जन्हा, कल्याणपुरलगायत स्थानमा बढी आँप उत्पादन हुने गरेको छ। यहाँका किसानले ५६ सय हेक्टर जग्गामा आँप उत्पादन गर्दै आएको कार्यालय प्रमुख डा।रामचन्द्र यादवले बताए। उनकाअनुसार हावाहुरीले १७ हजार बोटमा क्षति र करिब ६५ प्रतिशत आँप झारे पनि गत वर्षभन्दा बढी आँप उत्पादन भएको छ। गत वर्ष प्रतिहेक्टर आठ मेट्रिक टन उत्पादन भएको थियो यस वर्ष १२ मेट्रिक टनका दरले उत्पादन भएको उनले जानकारी दिए।

कृषिको बजेट स्थानीय तहमा गएपछि किसानका लागि कुनै कार्यक्रम गर्न नसकेको कार्यालय प्रमुख डा। यादवले बताए। उनका अनुसार १७ वटा स्थानीय तहमा ११ करोड रुपैयाँ गएको छ। तर, कृषिमा थोरैमात्र बजेट विनियोजन भएको छ। ‘उत्पादित आँपबाट बढी आम्दानी लिन सकिन्छ, त्यसका लागि सरकारले कोल्ड स्टोरको व्यवस्था गर्नैपर्छ’, उनले भने, ‘कोल्ड स्टोरमा आँप राखी बेच्दा किसानलाई पनि फाइदा हुन्छ।’

कृषि कार्यालयमा बजेट हुँदा आँप उत्पादन क्षेत्र विस्तार, बिरुवा वितरण, रोग नियन्त्रण र आकस्मिक बाली संरक्षणका कार्यक्रम चलाएका थिए। स्थानीय निकायमा बजेट गएदेखि कुनै पनि कार्यक्रम नआएको उनको भनाइ छ।

error: Content is protected !!