यो वर्ष आँप उत्पादनमा वृद्धि हुने

  •  
  •  
  •  
  •  
  •  
  •  

सप्तरी, जेठ ८ – सप्तरी जिल्लामा यस वर्ष १ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ बराबरको आँप उत्पादन हुने अनुमान गरिएको छ।

जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी दिनेशप्रसाद यादवका अनुसार जिल्लामा ७ हजार हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको भए पनि यस पाली ५ हजार हेक्टरमा आँप फलेको छ। प्रतिहेक्टर ८ मेट्रिक टनका दरले आँप उत्पादन हुने अनुमान गरिएको छ। एक साताअघि आएको हावाहुरी र असिनापानीका कारण ७ करोड ३६ लाख मूल्य बराबरको क्षति भएको छ।

जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख भागीरथ यादवका अनुसार असिना र हावा हुरीले कञ्चनरुप नगरपालिकाको ५ सय हेक्टर तथा सप्तकोसी नगरपालिकाको २ सय हेक्टर आँप बालीमा क्षति पुगेको छ।

हावाहुरी, फल कुहाउने कीरा र कोयाको घुन लगायतले आँप बालीमा क्षति पुर्‍याउने सम्भावना कायमै रहेको बताए।

गत वर्ष सप्तरीमा ७ हजार हेक्टर आँपको बगैचामा २० हजार टन मात्र आँप उत्पादन भएको थियो। यस वर्ष आँपमा चिचिला राम्रो लागेकाले उत्पादनमा वृद्धि हुने कृषि कार्यालयका प्रमुख यादवले बताए।

कञ्चनरुपदेखि वलानसम्मको पूर्व–पश्चिम लोकमार्ग आसपासमा बढी आँप खेती हुने गरेको कार्यालय प्रमुख यादवले जानकारी दिए।

श्रीपुर, मधुपट्टी, मलहनिया, हरिहरपुर, प्रसवनी, शम्भुनाथ, वकधुवा, महुली, जण्डोल, मैनाकडेरी, रुपनगर लगायतका स्थान आँपको पकेट क्षेत्र मानिन्छ।

सप्तरीमा मालदह, बम्बई, दशहरी, कलकतिया, आम्रपाली, नेगडा, बिजु, सरही, किसुनभोग जातका आँपको खेती हुने गरेको छ। उत्पादित आँप स्थानीय बजारका साथै काठमाडौं, पोखरा, नारायणगढ, विराटनगर र धरानसम्म खपत हुने गरेको किसान बताउँछन्।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!