डेरी उद्योगले दुधको मूल्य घटाएपछि किसान आक्रोशित

  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन, जेठ १९ – डेरी उद्योगहरुले दूधको मूल्य घटाएको भन्दै राप्ती नगरपालिकाका किसानहरुले आक्रोश व्यक्त गरेका छन् । दूध दिवस मनाउन राप्ती नगरपालिका पशुसेवा शाखाले भण्डारा बजारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्षहरुले डेरी उद्योगहरुले जेठ १६ गतेदेखि किसानको दूधको मूल्य घटाएको बताएका छन् ।

कार्यक्रममा भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले डेरी उद्योगहरुले किसानको दूधमा प्रतिलिटर दुई रूपैयाँ ४६ पैसा घटाएको जानकारी दिए । उनले डेरी उद्योगहरुले यहाँका संस्थाबाट दुई दिनसम्म दूध उठाउन नसक्ने भन्दै पत्राचारसमेत गरेको बताए । डेरी उद्योगहरुले दूधको मूल्य घटाएर जति पनि दूध उठाउने र मूल्य नघटाए दुई दिनसम्म दूध नउठाउनेजस्तो घृणित व्यवहार देखाएको किसानहरुले बताएका छन् ।

कालिका डेरी कम्पनी भक्तपुरले राप्तीको जनमुखी बहुउद्देश्यीय सहकारी संस्थालाई आइतबार र बिहीबार दूध उठाउन नसक्ने भन्दै पत्राचार गरेको छ । डेरी उद्योगहरुले चितवनका हरेक दुग्ध उत्पादक सहकारी संस्थामा यस्तो प्रकारको पत्र पठाएर मिल्क होलिडे गर्न खोजेको थपलियाले आरोप लगाए । दुग्ध उत्पादक सहकारी संस्थामा एकदिनभन्दा दूध भण्डारण गर्ने क्षमता छैन । दूध भण्डारण गर्न नसक्ने अवस्थाको फाइदा उठाएर डेरी उद्योगहरुले किसानको दूधको मूल्य घटाएको उनले बताए ।

परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामेश्वर सिंह ओलीले डेरी उद्योगले दूधको बजारीकरणमा एकाधिकार प्रयोग गरेको बताए । मूल्य घटाए जति पनि किन्ने र यथावत् मूल्यमा दूध लैजान आनाकानी गर्ने डेरी उद्योगहरुको नियत ठीक नरहेको उनले बताए ।

कार्यक्रममा उपमेयर इमानसिं लामाले दुग्ध किसानहरुको समस्या समाधानका लागि नगरपालिकाले साथ दिने बताए । कार्यक्रममा पशुसेवा शाखाका प्रमुख शैलेन्द्र भण्डारीले दूध उत्पादनको हिसाबले पकेट क्षेत्रका रुपमा विकास हुँदै गएको राप्ती नगरपालिकामा बजेट अभावका कारण अनुदान र उपकरण खरिदमा समस्या भएको बताए । चालू आर्थिक वर्षमा करिब ४२ लाख रूपैयाँ दुग्ध किसानहरुलाई अनुदान वितरण गरिएको उनले जानकारी दिए ।

प्रतिनिधिसभाका सांसद् सुरेन्द्र पाण्डे प्रमुख अतिथि रहेको सो कार्यक्रमको सहआयोजकमा भण्डारा दुग्ध उत्पादक सहकारी संस्था, परेवाश्वारी दुग्ध उत्पादक सहकारी संस्था, सहिद दुग्ध उत्पादक सहकारी संस्था, जनमुखी बहुउद्देश्यीय सहकारी संस्था, भगवती दुग्ध उत्पादक सहकारी संस्था, नवउद्यमी कृषक दुग्ध उत्पादक सहकारी संस्था रहेका थिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!