किसानले पोखे सडकमा दूध

  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन — चितवनको भण्डारामा किसानहरूले शुक्रबार सडकमै दूध पोखेका छन् । मूल्य घटाउन लागेको भन्दै विरोधमा सडकमा दूध पोखेका हुन् ।

राप्ती नगरपालिकाअन्तर्गतको दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानहरू विरोधमा उत्रेका हुन् । किसानहरूका अनुसार प्रतिलिटर तीन रुपैयाँ मूल्य घटाउने तयारी भइरहेको छ ।
कृषक डिल्लीप्रसाद थपलियाका अनुसार डेरी उद्योगहरूले सहकारीलाई दिने बिक्रीबापतको कमिसन (टीएस) घटाएका छन् । ‘फलस्वरूप सहकारीले किसानलाई दिने दूधको मूल्य घट्ने निश्चित भएको छ,’ उनले भने । घटेको मूल्य शुक्रबारबाटै लागू हुने भएपछि किसानहरू आक्रोशित भएका छन् ।
‘डेरी उद्योगहरूले हामीलाई पहिला ५७ दशमलव ७५ प्रतिशत टीएस कमिसन दिँदै आएका थिए । साउन १ देखि घटाएर ३२ दशमलव ७५ प्रतिशत बनाए । डेरीले दिने कमिसनबाट हामीले किसानलाई थप मूल्य दिँदै आएका थियौं । कमिसन घटेपछि हामीले किसानलाई दिने मूल्य पनि घट्छ,’ सहकारीका संयोजकसमेत रहेका थपलियाले भने । किसानले पाउँदै आएकोभन्दा ३ रुपैयाँ कम मूल्य पाउने उनले बताए ।
‘पहिले दूधमा ठोस पदार्थ (एसएनएफ) आठ र चिल्लो पदार्थ (फयाट) चार हुने दूधको प्रतिलिटर मूल्य ४८ रुपैयाँभन्दा माथि थियो । टीएस कमिसन घटेपछि अब त्यो स्तरको दूधको मूल्य ४५ रुपैयाँ हुनेछ,’ उनले भने । यो बेला दूधको माग धेरै हुने गर्छ । मागअनुसार दूध कम उत्पादन भइरहेको छ । उपभोक्ताले खाने दूध, दही, घिउ, पनिर केहीको मूल्य घटेको छैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!