मोदी गाउँपालिकाको समृद्धि मोह, कृषि प्रवद्धनमा गुरु योजना

पर्वत,
चैैत १२ – पर्वतको मोदी गाउँपालिका सम्भावना बोकेको क्षेत्र हो । स्थानीय तहको नयाँ संरचना अनुसार पर्वत जिल्लामा कायम रहेका ८ वटा गाउँ विकास समितीलाई समेटेर बनेको यो गाउँपालिकाको क्षेत्रफल १ सय ४३ वर्ग किलोमिटर रहेको छ ।

यो गाउँपालिका पर्वत जिल्लामा निकै सम्भावना बोकेको स्थानीय तहको रुपमा हेर्ने गरिएको छ । कृषि, पर्यटन र उर्जाको भरपूर प्रयोग गरेर यो गाउँपालिकालाई विकास गर्ने योजना बनाएको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले बताउनुभयो ।

२०४९ र २०५४ सालको स्थानीय तह चुनावमा बाजुङ गाविस अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका पौडेल लामो समयपछि भएको स्थानीय तह चुनावमा मोदी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

‘हामी मोदी गाउँपालिकालाई कसरी छिटो विकास गर्न सक्छौ भनेर योजना बनाइरहेका छौं ।’ उहाँले भन्नुभयो, ‘यो क्षेत्रमा अधिंकाश नागरिक कृषि क्षेत्रमा नै आवद्ध रहेकाले कृषि प्रवद्धन र आधुनिक कृषि प्रणालीको अधिकत्म प्रयाग गर्ने सोच बनाएका छौं ।’

‘म सँग दुई कार्यकाल गाविस अध्यक्षको काम गरेको अनुभव पनि छ । मैले यो क्षेत्रमा रहेर स्थानीय तहमा धेरै नागरिकसँग प्रत्यक्ष काम गरेको अनुभवले गर्दा पनि हामीले यो क्षेत्रको विकासका लागि कृषि क्षेत्रलाई नै उपयुक्त देखेर कृषिको विशेष योजनाका साथ काम गर्न थालेका छौं ।’ पौडेलले भन्नुभयो ।

मोदी गाउँपालिकाले विकासका लागि चारवटा पकेट क्षेत्र बनाएर काम गरेको उहाँले बताउनुभयो । भौगोलिक हिसाबमा मोदी गाउँपालिका बाजुङ, देउपुर, तिलाहार र चित्रेलाई सुन्तलाको पकेट क्षेत्र, क्याङ र भूकलाई अलैँची, क्याङलाई आलुको पकेट क्षेत्र र पातिचौरको पातिखोला क्षेत्रलाई माछाको पकेट क्षेत्र घोषणा गरेर काम गर्न थालिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमानसिंह गुरुङले जानकारी दिनुभयो ।

मोदी गाउँपालिकाको विकासका लागि गाउँपालिकाले यूवा लक्षित कार्यक्रम, लघु उद्यम कार्यक्रम, यूवा स्वरोजगार कार्यक्रम, सिलाँई कटाई तथा डा«इभिङ सिकाउने कार्यक्रम जस्ता स्थानीय तहमा नागरिकको इच्छा अनुसारका कार्यक्रम ल्याउन लागिएको प्रमुख प्रशासकिय अधिकृत गुरुङले बताउनुभयो । यी कार्यक्रम ल्याउनको लागि अहिले विभिन्न ठाउँमा सर्भेको काम भैरहेको उहाँले बताउनुभयो ।

कृषि क्षेत्रको विकासका लागि कार्यालयले यो वर्ष लक्षित किसानको वर्गिकरण गरेर अनुदानमा २३ वटा हाते टेक्टर वितरण समेत गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । हाते टेक्टर वितरण गर्दा किसानको वर्गिकरण हेरक किसानको कार्यक्षेत्रमा नै गएर निर्धारण गरिएको उहाँले बताउनुभयो ।

मोदी गाउँपालिकामा पर्यटनको विकासका लागि होमस्टे संलानको कार्यक्रमलाई गाउँपालिकाले समन्वय गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । होमस्टेका लागि चित्रे, भुक र क्याङ क्षेत्रमा विशेष कार्यक्रम लाने योजना रहेको उहाँले बताउनुभयो ।

होमस्टे संलानका लागि अतिथी सत्कार र भान्सा व्यबस्थापनसम्बन्धि तालिमको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । होमस्टेबाट पर्यटन प्रवद्धन र स्थानीय तहमा रोजगारीको अवसर सृजना हुने विश्वास लिएको कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

Comments are closed.

error: Content is protected !!