नेपालमा नै सम्भावना छ किन जानु विदेश ?

  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ – स्वदेशमै मनग्य कमाइ हुन थालेपछि वैदेशिक रोजगारी छाडेर युवाहरू गाउँ फर्कन थालेका छन् । मोरङका विभिन्न गाउँका युवाहरू अहिले तरकारी खेतीका साथै अन्य व्यापार गरेर वैदेशिक रोजगारीमाभन्दा दोब्बर आम्दानी गरिरहेका छन् ।

वैदेशिक रोजगारीमा मलेसिया पुगेका महावीर सिंहले त्यहाँ मासिक २१ हजार कमाउथे । अहिले घर फसर्कएर तरकारी खेतीमा जुटेका उनले मासिक ७३ हजारसम्म कमाइ गरिरहेका छन् । कटहरी गाउँपालिका ४ नयाँ बजारका ३२ वर्षीय सिंह अहिले वैदेशिक रोजगारीभन्दा स्वदेशमै तेब्बर आम्दानी भइरहेको देखेर दंग छन् ।

उनले वैदेशिक रोजगारीबाट फर्केर वार्षिक आठ लाख आम्दानी गर्ने लक्ष्यका साथ तरकारी खेती सुरु गरेका हुन् । बर्षे तरकारीबाट तीन महिनामै उनले ७५ हजार आम्दानी गरेका छन् । हिउँदे तरकारीको समेत आम्दानी जोड्ने हो भने उनले मासिक ७३ हजार कमाइ भइरहेको छ ।

सिंहले एसएलसी पास गरेदेखि बुबासँगै तरकारी खेती गरिरहेका थिए । चार दाजुभाइ छुटिएपछि उनको भागमा परेको १ बिघा ५ कठ्ठा जग्गा पर्‍यो । त्यसमा उनले वैदेशिक रोजगारीमा जानुभन्दा पहिले पनि वार्षिक पाँच लाख आम्दानी गरिरहेका थिए ।

गाउँका दौतरीसँग बढी कमाउने आशमा उनी १ लाख ३५ हजार तिरेर २०७१ सालमा मलेसिया गए । उनले भने, ‘अरूले भने जस्तो विदेशमा आम्दानी हुँदो रहेनछ ।’ मलेसियाको ग्लोब उद्योगमा मासिक २१ हजार तलबमा काम गरे ।

उनले गत माघबाट मलेसियाबाट फर्केर पुन: तरकारी खेती सुरु गरेका बताए । ‘बैसाखमा ५ कठ्ठामा भिन्डी र ३ कठ्ठामा घिरौला लगाएर सस्तोमा बिक्री हुँदा पनि ७५ हजार आम्दानी भयो,’ उनले भने, ‘अब कौली, बन्दा, भण्टा र खुर्सानी रोप्न बेर्ना तयारीमा जुटेका छौं ।’ सिंहलाई खेतीमा उनकी पत्नी गीताले पनि साथ दिइरहेकी छन् । उनले वैदेशिक रोजगारीमा भएको आम्दानीले तरकारी खेती बिस्तार गर्न ४ कठ्ठा जग्गा खरिद गरेको र १५ कठ्ठा जग्गा जहदाका संजय मण्डलको भाडामा लिएको बताए ।

थप जग्गा भाडामा लिन खोजी गरिरहेको र यस वर्ष तीन बिघामा हिउँदे तरकारी खेती गरेर ८ लाख आम्दानी गर्ने लक्ष्यका साथ तयारी थालेको सिंहले बताए । उनले हिउँदे तरकारी खेतीका लागि काउली र बन्दाको बेर्ना राखिसकेको छ । ‘यहाँका युवाहरू लहैलहैमा चर्को ब्याज तिरेर वैदेशिक रोजगारीमा कठीन परिश्रम गरिरहेका छन्,’ उनले भने, ‘तर स्वदेशमा नै व्यावसायिक तरिकाले काम गर्न सके विदेशभन्दा तेब्बर बढी आम्दानी हुँदोरहेछ ।’

सिंहले गाउँका युवाजति विदेश गइसकेकाले कृषि मजदुरको अभाव किसान झेल्न बाध्य रहेको सुनाए । ‘सरकारले पनि युवाहरूलाई स्वदेशमा नै काम गरेर राम्रो आम्दानी गर्न सकिने परामर्श दिनु आवश्यक छ,’ उनी भन्छन्, ‘युवाहरूले आफ्नै गाउँ ठाउँ सुहाउँदो काम र त्यसको बजारको बारेमा जानकारी नभएर पनि वैदेशिक रोजगारीमा जान बाध्य भइरहेका छन् ।’ युवाहरूमा व्यावसायिक तरिकाले काम गर्ने संस्कृति विकासमा सरकारले लगानी गर्नु आवश्यक रहेको उनको भनाइ छ । यस्तै, विराटनगर ८ अमर टोलका रामप्रताप साहले पनि वैदेशिक रोजगारीबाट फर्केर व्यापार थालेका छन् । उनले अहिले एक करोड लागतमा सितल जल उद्योग, ग्यास र मकै चोकर दानाको डिलर र गाई फार्म सञ्चालन गरिरहेका हुन् ।

उनी पूर्वाञ्चल विश्वविद्यालयमा कम्प्युटर इञ्जिनियरको पढाइ बीचमा नै छोडेर वैदेशिक रोजगारीमा कतार गएका थिए । कतारमा अढाई वर्ष बिताएर फर्केपछि उनी कुवेत गए । त्यहाँ पनि अढाई वर्ष बिताएर फर्केपछि पुन: परिवारसहित कतार गएको उनले सुनाए । ‘इञ्जिनियर पढ्दै गरेको अवस्थामा साथीको लहैलहैमा लागेर विदेश गएर पनि राम्रै आम्दानी गरेँ,’ उनले भने, ‘पछिल्लो पटक कतार जाँदा मासिक डेढ लाख कमाइ भइरहेको थियो ।’ देशको राजनीति अवस्था सुध्रिन थालेपछि यहीं केही गर्ने सोचले फर्केर उद्योग व्यवसाय सुरु गरेर विदेशभन्दा पनि राम्रो आम्दानी गरिरहेको उनले बताए । उनले आफ्ना सपरिवारका साथै ८ जनालाई रोजगारीसमेत दिएको सुनाए ।

उनी जस्तै, कटहरी ४ का कोपिन्द्र सिंह पनि मलेसियाबाट फर्केर तरकारी खेती गरेर नाम र दाम दुबै कमाउन सफल भएका छन् । उनले तरकारी खेती गरेर जिल्ला र क्षेत्रीयस्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भइसकेका छन् भने यस वर्ष कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट प्रदेश १ का उत्कृष्ट कृषक सम्मान प्राप्त गर्न सफल भएका हुन् ।

महेन्द्र मोरङ क्याम्पस विराटनगरमा बीबीएस प्रथम वर्षमा पदै गरेको अवस्थामा मधेसमा जनतान्त्रिकको बिगबिगी सुरु भएपछि असुरक्षित महसुस गरेर उनी वैदेशिक रोजगारका लागि मलेसिया पलायन भएको सुनाए । ‘मलेसियामा तीन वर्ष काम गरेपछि राम्रो आम्दानी गर्न सकिनँ,’ उनले भने, ‘मलेसियामा मासिक ११ हजार मात्रै आम्दानी भएपछि गाउँमै व्यावसायिक तरिकाले खेती गर्ने लक्ष्यका साथ २०६७ बैशाखमा फर्केर आएँ ।’ मलेसियाबाट फर्केर आएपछि एक वर्ष व्यावसायिक तरकारी खेती कसरी गर्ने बारे अध्ययनमा नै बिताएको उनी सम्झे ।

‘२०६८ मा गाउँका २५ जना युवालाई सहभागी गराएर त्रिशक्ती कृषक समूह गठन गरी जिल्ला कृषि विकास कार्यालय मोरङमा दर्ता गरायौं,’ उनले भने, ‘सुरुमा सबै जनाले २/२ कठ्ठामा बन्दा काउलीको खेती गर्‍यौं र सफल भयौं ।’ सिंहले जिल्ला कृषि विकासले ६५ हजारको साना सिँचाइ योजनासमेत दिएपछि समूह नै उत्साहित भएर थप जग्गामा तरकारी खेती गरेको सुनाए । उनले २ कठ्ठाबाट सुरु गरेको तरकारी खेती अहिले ४ विघामा पुर्‍याएर ६० लाख बढी आमदानी गरिसकेको बताए ।

सिंहले यस वर्ष बर्षे तरकारीमा घिरौला १५ कठ्ठा, भन्टा ५, करेला ७, भिण्डी ६ र बोरी ६ कठ्ठामा लगाएर ३ लाख ५० हजार आम्दानी गरेँ,’ उनले भने, ‘अब टमाटर एक बिघा, बन्दा डेढ विघा, काउली १५ कठ्ठा, भन्टा १० कठ्ठ र खुर्सानी ५ कठ्ठामा हिउँदे तरकारी खेती लगाउने तयारी थालेको छु ।’ उनले हिउँदे तरकारी खेतीका लागि बेर्ना राखिसकेको सुनाए ।

उनले आफूसँगै १ सय ९० जना किसानलाई तरकारी खेती गर्न प्रोत्साहित गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी ब्लकमा १ सय ९० जना किसानलाई उनले संगठित गरेका हुन् । ब्लकमा परियोजनाले ४६ लाख सहयोग प्राप्त भयो । उक्त बजेटबाट टयाक्टर, दुई वटा पावर टिलर र तरकारी बेच्न पिकअप भ्यान खरिद गरेको उनले सुनाए ।

उनले तरकारी खेतीसँगै किसान कृषि फार्म स्थापना गरेर अहिले कटहरी ६ का रामसागर मण्डलको १० विघा जग्गा वार्षिक ३० मन धानमा भाडामा लिएर धान गहुँको बीउ उत्पादनको काम पनि थालेको बताए । उनले विउ उत्पादनका लागि थप १४ विबा जग्गा भाडा लिन छलफल भइरहेको सुनाए । ‘तरकारी खेतीबाटै मैले नाम र दाम कमाएकाले यसलाई थप व्यवस्थित गरेर अघि बढ्ने योजना छ,’ उनले भने, ‘अब टनेलमा बाह्रै महिना तरकारी खेती गर्ने लक्ष्यका साथ काम गरिरहेको छु ।’

सिंहले तरकारी खेतीका लागि गुणस्तरीय बिउ नपाउनु र भारतीय तरकारी बजारमा बिनारोकटोक आउनु किसानका लागि मुख्य चुनौती रहेको बताए । यसका साथै कृषि मजदुरको पनि समस्या उस्तै रहेको उनको भनाइ थियो । उनले सरकारले आफ्नै मुलुकमा प्रयाप्त तरकारी उत्पादन भइरहेको बेला भारतीय तरकारी आयातमा रोक लगाउन माग गरे ।

सिंहले तरकारी खेतीबाट किसानभन्दा बिचौलीयाले बढी फाइदा कमाइरहेको गुनासो पोखे । बजारमा किसानको सीधा पहुँचको व्यवस्था मिलाउन सरकारसँग माग गरे । उनीहरू जस्तै नयाँबाजरका गाउँभरीका किसान अहिले तरकारी खेतीमा रमाइरहेका छन् । प्रत्येक परिवारले तरकारी खेतीबाट वार्षिक २ देखि १० लाखसम्म आम्दानी गरिरहेको स्थानीय रामचन्द्र मण्डलले बताए । उनले बैदेशिक रोजगारीबाट फर्केका युवाहरूले गरेको तरकारी खेती देखेर गाउँभरका किसानहरूले व्यावसायिक रूपमा खेती गर्न थालेको सुनाए । नयाँ बजारका अन्य ६ जना युवा बैदेशिक रोजगारीबाट फर्केर खेती तथा व्यवसाय सञ्चालन गरेको उनले बताए ।

यस्तै, जहदा गाउँपालिकामा पनि युवाहरू धमाधम वैदेशिक रोजगारीबाट फर्के गाउँमा नै खेती तथा व्यवसाय गर्न थालेका छन् । जहदा गाउँपालिकाका अध्यक्ष कैलासप्रसाद मण्डलले विदेशबाट फर्केका युवाहरूलाई तरकारी लगायतको व्यावसायिक खेती र अन्य व्यापार व्यवसायबाट गत बर्ष ६० लाख बढी अनुदान वितरण गरेको सुनाए । आजको कान्तिपुर दैनिकमा खबर छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!