आँपमा खाद्यतत्वको कमीले देखिने समस्याहरु तथा व्यवस्थापन

  • 348
  •  
  •  
  •  
  •  
  •  
    348
    Shares


अन्नबाली वा तरकारी र फलफूल खेति गर्नुमा धेरै अन्तर छ। किनकि अन्न वा तरकारी एक दुई देखि चार महिना भित्रमा उत्पादन लिन सकिने बालि हो तर फलफूलको प्रकार हेरि २ बर्ष देखि ५-६ बर्षपछि उत्पादन दिन सुरु गर्दछन । नेपालमा बिशेषगरि तराई भेगमा आँपको खेति गरेको पाइन्छ । व्यवसायिक आँप खेतिको लागि समुन्द्रि सतह देखि ७०० मिटर उचाई सम्मको जमिन उपयुक्त मानिन्छ। आँपलाई २५ ० देखि ३५ ० सेन्टिग्रेड तापक्रम फूल फूल्ने समयमा उपयुक्त मानिन्छ।

आँपको बोटको वृद्धि र गुणस्तरमा बिभिन्न तत्वहरुले असर पार्दछन। माटोमा चिस्यानको मात्रा, हावा, तापक्रम, प्रकाशको अवस्था, सन्तुलित खाध्यतत्व, रोग किरा आदिले बोटको बृद्धि र गुणस्तरमा असर पार्दछन। आँपको उत्पादनमा देखिने समस्याहरु मध्ये खाध्यतत्वको कमि पनि एक महत्वपुर्ण समस्या हो । आँपको राम्रो उत्पादन लिन र उत्पादकत्व बढउन पर्याप्त मात्रामा खाध्यतत्व दिनुपर्ने हुन्छ।

जुनसुकै वोटबिरुवालाई १७ वटा तत्वको जरुरत पर्दछ । जसमध्ये ३ वटा सँरचनात्मक तत्व; कार्बन (C), हाइड्रोजन (H), अक्सीजन (O), ३ वटा प्रमुख खाध्यतत्व; नाइट्रोजन (N), फास्फोरस (P), पोटासियम (K), ३ वटा सहायक खाध्यतत्व; क्याल्सियम (Ca), सल्फर (S), म्याग्नेशियम (Mg), र ८ वटा सुक्ष्म खाध्यतत्व; फलाम (Fe), बोरन (B), क्लोरीन (Cl), मन्गानिज (Mn), जिंक (Zn), तामा (Cu), मोलिब्डेनम (Mo), निकल (Ni) पर्दछन्। बिरुवालाई पर्याप्त मात्रामा खाध्यतत्व उपलव्ध छ छैन भन्नेकुरा बगैँचाको माटोको जाँच, बिरुवाको पात बिश्लेषण र बिरुवाले देखाएका खाध्यतत्वको कमिको लक्षणको आधारमा थाहा पाउन सकिन्छ।
नाइट्रोजन कमिका लक्षणहरु

नाइट्रोजनले बिरुवाको बृद्धि र गुणस्तरमा मद्धत गर्दछ। यसको कमिले बिरुवाको बृद्धिमा कमि हुन्छ र पात पहेँलो हुदै जान्छ। नाइट्रोजन कमिका लक्षणहरु बिरुवाको फेदबाट सुरु भई टुप्पातिर बढ्दै जान्छन । यसको कमिले आँपको पातहरु सामान्य बनेटमा नपुगि परिपक्क हुन्छ तथा नयाँ हाँगा काठे हुन्छन्। यदि प्रकोप बढि भएमा फलको आकार सामान्य अवस्थामा नपुगि अपरिपक्कमा नै पाकेर झर्छ।

रोकथामका उपायहरु
आँपमा सिफारिस गरिएको नाइट्रोजनको मात्रा १४३३.८४ ग्राम ( युरिया) प्रति फलदिने बोट हो। सिफारिस गरिएको मात्रालाई तीन चरणमा बिरुवामा दिनु पर्दछ । सिफारिस गरिएको मात्राको १/३ भाग फल्ने बोटको नयाँ पालुवा नआउदै, १/३ भाग बर्षायाम सुरु हुनु भन्दा अगाडि र १/३ भाग बर्षायामको अन्तमा बिरुवाले ओगटेको भाग वरिपरि ( Plant Canopy ) माटोमा राम्रोसंग मिलाईदिनु पर्दछ। २% युरियाको झोल फल लाग्ने बेलामा दिँदा आँपको उत्पादनमा बृद्धि हुन्छ।

फस्फोरस कमिका लक्षणहरु

यसको कमिले बिरुवाको टुप्पो भाग मर्ने, पातको किनारमा पहेँलो थोप्लाहरु देखिने, पात झर्ने, फल झर्ने, काण्ड सुक्दै जाने र पातको किनारा भाग र तल्लो भागमा बैजनि रङ्ग देखिन्छ। फस्फोरसको कमिले जराको बृद्धि कम हुनुको साथसाथै फल परिपक्क हुन ढिलो हुन्छ।

रोकथामका उपायहरु

आँपमा सिफारिस गरिएको फस्फोरसको मात्रा ९३१.३० ग्राम ( डि.ए.पि) प्रति फलदिने बोट हो। फस्फोरसयुक्त मलहरु पैष-माघमा पुरै मात्रामा एकैपटक बिरुवाले ओगटेको भाग वरिपरि ( Plant Canopy ) माटोमा राम्रोसंग मिलाईदिनु पर्दछ।
पोटासियम कमिका लक्षणहरु

पोटासियमको मुख्य काम भनेको बिरुवामा रोग प्रतिरोधात्मक क्षमता बढाउनु हो। यसको कमिले पातको टुप्पो डड्ने, पातको किनारा मर्ने, अपरिपक्क अवस्थामा पात झर्ने र माथिबाट मर्दै जान्छ । पात सानो र पातलो हुन्छ र पातको टुप्पो मर्दै जान्छ।

रोकथामका उपायहरु
११३३.३३ ग्राम ( म्युरेट अफ पोटास) प्रति फलदिने बोटमा पैष-माघमा पुरै मात्रामा एकैपटक बिरुवाले ओगटेको भाग वरिपरि ( Plant Canopy ) माटोमा राम्रोसंग मिलाईदिनु पर्दछ। ३% पोटासको झोललाई नयाँ पालुवा पलाईसकेपछि छर्कदा फाइदाजनक हुन्छ।
क्याल्सियम कमिका लक्षणहरु

यसको कमिले बिरुवा सानो र फिक्का हरियो हुन्छ तथा फलमा jelly fruit, soft nose देखा पर्दछ।

रोकथामका उपायहरु
१% क्यालसियम क्लोराइड वा क्यालसियम नाइट्रेड फल लाग्नु भन्दा अगाडि र फल लागिसकेपछि दुई पटक छर्कदा उपयुक्त मानिन्छ।

म्याग्नेशियम कमिका लक्षणहरु

म्याग्नेशियमको कमिले बिरुवाको प्रकाश संस्लेशण (Photosynthesis) प्रकृयामा असर गर्दछ। बिरुवाको बृद्धि बिकासमा कमि हुनुको साथै बिरुवा फिक्का देखिन्छ। यसको कमिले पातको रेशाहरुको मध्ये भागमा सेतो धब्बाहरु देखिन्छन।

रोकथामका उपायहरु
माटोमा म्याग्नेशियमको परिपुर्ति गर्न ५०० ग्राम म्याग्नेशियम पैष-माघमा पुरै मात्रामा एकैपटक बिरुवाले ओगटेको भाग वरिपरि ( Plant Canopy ) माटोमा राम्रोसंग मिलाईदिनु पर्दछ। यसको अलावा २% म्याग्नेशियम सल्फेटको (MgSo4) घोल गृष्म ऋतुमा र ५% म्याग्नेशियम सल्फेटको (MgSo4) शरद ऋतुमा बिरुवामा छर्कन सकिन्छ।

सल्फर कमिका लक्षणहरु

यसको कमिले गाढा हरियो पातमा मृत दागहरु देखिन्छ, पातको किनार भाग मर्दै जान्छ, कलिला पातहरु झर्दछन् र बिरुवाको बृद्धि कम हुन्छ।

रोकथामका उपायहरु
नाइट्रोजन (N), फास्फोरस (P) र पोटासियम (K) को लागि मल प्रयोग गर्दा सल्फरयुक्त मलको (Ammonium sulfate, Super phosphate, Potassium salt ) प्रयोग गर्ने।

जिकं कमिका लक्षणहरु
यसको लक्षण बिरुवाको टुप्पोबाट सुरु हुन्छ र किनारामा समेत पहेँलो देखिन्छ। पात साँगुरो ,दर्हो र विकृत देखिन्छ । पातमा कहिलेकाहि खरानि खैरो रंगको धब्बाहरु देखिन्छ। यसको धेरैनै कमि भएमा नयाँ पालुवा आउन रोकिन्छ र बोट अनुत्पादक हुन्छ ।

रोकथामका उपायहरु
०.५% Zinc sulphate को घोल पहिलो नयाँ पालुवा आएपछि र दोस्रो पहिले प्रयोग गरेको ३० दिन पछि छर्कनु पर्दछ।

फलाम(आइरन) कमिका लक्षणहरु
नयाँ पातहरु हरियो पँहेलो हुन्छ र पातहरुको बृद्धि रोकिई हाँगाहरु टुप्पाबाट मर्दै जान्छ।

रोकथामका उपायहरु
Iron Chelate वा Ferrous sulphate को ०.५% को घोल बैशाख-जेठमा छर्कनु पर्दछ।

मेङ्गानिज कमिका लक्षणहरु
यसको कमिले पातको साना नशाहरु पँहेलो देखिन्छन।

रोकथामका उपायहरु
१% Manganese sulphate को घोल बैशाख-जेठ मा छर्कनु पर्दछ।

बोरोन कमिका लक्षणहरु
यसको कमिले फलको भित्रि भाग मर्ने, पातहरु विकृत देखिने, सानो हुने, झुरो (Brittle) हुने अंतरआख्ला छोटो हुने, फूल गुजुमुजुक्क भई फूल्ने र मध्य रेशाको तल्लो भागमा खैरो हुने हुन्छ।

रोकथामका उपायहरु
५० ग्राम बोरेक्स प्रतिबोट माघ-फागुनमा वा ०.३% बोरेक्स फल लागेपछि १५ दिनको अंतरमा ३ पटक सम्म छर्नु पर्दछ।


  • 348
  •  
  •  
  •  
  •  
  •  
    348
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here