जब प्रचण्डलाई सुन्तलाकाे माला लगाइयाे….

  •  
  •  
  •  
  •  
  •  
  •  

नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई रामेछापस्थित लखनपुरवासीले सुन्तलाको माला लगाएर स्वागत गरेका छन् । आफ्नो उत्पादनलाई पहिचान गराउन मालै बनाएर विशिष्ट अतिथिको स्वागत गरेको गाउँलेले बताए ।

छिमेकी काभ्रेको गगर्चेमा एक विद्यालयको कार्यक्रममा आएका नेकपा अध्यक्ष दाहाललाई पाकेका सुन्तलाको दाना उनेर माला लगाइदिएका हुन् । ‘अब म रामेछापको सुन्तलाको बजार प्रवर्द्धनमा लाग्छु,’ उनले हाँस्दै भने । दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले भने, ‘हामी व्यावसायिक उत्पादन गराउन जोड गर्छौं, उताबाट पकेट क्षेत्रको घोषणाका लागि पहल गरिदिनुपर्‍यो ।’

असाध्यै गुलियो र रसिलो सुन्तला हुने लखनपुरका किसानले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । बोटभरि पहेंलपुर भए पनि सुन्तला बिक्दैन । नजिकै बजार छैन । लखनपुरदेखि काभ्रेको दोलालघाट नपुग्दा सुन्तलाको बजार भेटिँदैन । गाडीमा ५ घण्टाको बाटो ढुवानी गरेर सुन्तला दोलालघाट पुर्‍याउँदा सुन्तला बिक्री गरेको पैसा ढुवानीमै सकिन्छ ।

‘१०/२० केजी होइन,’ स्थानीय गंगाबहादुर लामाले भने, ‘धेरै फल्छ कता लगेर बेचौं ।’ किसानले सुन्तलाको बजारका लागि कृषि मन्त्रालयसँग बजारीकरणका लागि सहयोगको अपेक्षा गरेका छन् । सहकारीमार्फत गाउँमै बिक्री गर्न पाए मोल पाउँथ्यौं भन्ने आस लामाको छ ।

गाउँपालिकाले लखनपुर, गौश्वारालगायत क्षेत्रलाई सुन्तला पकेट क्षेत्रका रूपमा घोषणा गरी कार्यक्रम सञ्चालन गरिदिन दाहाललाई आग्रह गरेको छ । उक्त कार्यक्रम सञ्चालन भए सुन्तलामा लाग्ने रोगकीराको नियन्त्रण, खेती विस्तार र बजारीकरणमा सहयोग पुग्ने स्थानीयको विश्वास छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!