भक्तपुरमा आलुको बीमा शुरु

काठमाडौं –  किसानलाई मध्यनजर गर्दै भक्तपुरमा आलु बिमा सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भक्तपुरको संयोजनमा आलु जोनअन्तर्गतका किसानको आलु बिमा थालनी गरिएको हो ।

मैसमी र बेमौसमी गरी तीनपटकसम्म आलु खेती गरिँदै आएको चाँगुनारायण नगरपालिका–८ र ९ मा हाल बेमौसमी आलु खेतीमा बिमा सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्राविधिक सहायक अर्जुन चौलागाईंले जानकारी दिए । भक्तपुरको सुडाल र ताथलीमा आफ्नो कार्यक्षेत्र बनाउँदै आएको जोनले आलु बिमाको कार्यक्रम ल्याउँदा किसान हर्षित भएका छन् ।

मकै बारीभित्र गरिने आलु खेतीलाई प्रोत्साहन मिलोस् भन्ने हेतुले पनि आलु बिमाको अवधारणा ल्याइएको र यसले किसानलाई आकर्षित गरेको चौलागाईंको भनाइ छ ।

चाँगुनारायण नगरपालिका–८ सुडालको माथिल्लो भाग वडा नम्बर ९ ताथलीको माथिल्लो भेग तथा बनेपा नगरपालिका वडा नम्बर १, २ र ३ लगायतको भिरालो जमिनमा हाल बेमौसमी आलु खेती हुने गरेको छ ।

कोदो पनि फल्न मुस्किल हुने जमिनमा लगाइने आलुमा पनि बिमा आएपछि आफूहरू हर्षित भएको किसान हरेराम दंगाल बताउँछन् । उनका अनुसार पहिला भिरालो जमिन भएकै कारण मकै र कोदोको खेती मात्र हुने गरेको थियो हाल आएर ६० दिनमा नै आलु फल्ने बारीका रूपमा आफ्ना भिराला जमिन उपभोगमा आएसँगै कृषकको जीवनस्तर पनि उकासिएको उनी बताउँछन् ।

यसका साथै विगतका वर्षमा विभिन्न रोग, कीराका कारण मकै बारीभित्र लगाएको आलुबाट किसान घाटामा जाँदै आएका थिए र आलु खेती पनि त्याग्दै आएका थिए । अब आलु बिमा आएपछि ती किसानले पनि आलु नै लगाउने भएको उनी सुनाउँछन् ।

आलु बिमा गर्न प्रतिरोपनी किसानले ३०४ रुपैयाँ तिर्नुपर्छ भने सरकारले ९१२ रुपैयाँ बेहोर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ ।

कार्यालयका अनुसार १ रोपनी आलुबराबर २४ हजार ३ सय रुपैयाँबराबरको बिमांक कायम गरिएको छ । शेखरनाथ तरकारी फर्मबाट सुरु गरिएको बिमा हाल ५० भन्दा बढी किसानले गरिसकेको कार्यालयले जनाएको छ ।

थालनीका रूपमा रहेको बिमाको विषयमा ज्ञान नहुँदा पनि कृषि बिमाले त्यति प्राथमिकता पाउन नसकेको कृषि प्रविधिकको भनाइ छ ।

भक्तपुरमा हाल प्रतिहेक्टर बेमौसमी आलु १८ देखि २० टन उत्पादन हुने गरेको छ भने मौसमी आलु भने २० देखि २५ टन उत्पादन हुने गरेको छ । मौसमी आलुको बजार स्थानीय नै भए पनि सुडाल र आसपासका क्षेत्रमा लगाइने बेमौसमी आलुको बजार भने भारतसम्म पनि हुने गरेको छ ।