धान उत्पादनमा कमी आउनुको कारण खोज्दै नार्क (यस्तो रहेछ कारण)

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, जेठ १४ – ललितपुर सुनाकोठीका हरी महर्जनलाई गत चैतदेखि अर्थात् वर्षा पहिले नै पानी परिरहेकाले कतै असारमा सुक्खा भएर धान रोप्न नपाइने हो कि भन्ने चिन्ता छ ।

पहिले पहिले वैशाख– जेठमा गर्मी र असार लागेपछि वर्षा शुरु हुन्थ्यो । अहिले कुन महिनामा कस्तो मौसम हुन्छ भन्ने टुङ्गो छैन । त्यसैले असारमा पानी नै नपरेर सुक्खा हुँदा रोपाइँ गर्न नपाइने हो कि भन्ने महर्जन चिन्ता गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “कुनै वर्ष असारभर सुक्खा हुन्छ, कुनै वर्ष परे पनि छिटफुट पर्छ, कहिले त धान काट्ने बेलामा झरी पर्छ ।” मौसम प्रतिकूल हुँदा उहाँ हैरान हुनुहुन्छ ।

असारलाई माना रोपेर मुरी फलाउने महिना भन्ने नेपाली कथन छ । कामको चटारोले किसानलाई छोप्छ । तैपनि पर्याप्त पानी परेर बेलामा धान लगाउन पाउँदा किसान दङ्ग पर्छन् । उहाँ भन्नुहुन्छ, “पानी नपरेर फुर्सदिलो बन्नुभन्दा असारको पहिलो हप्ता रोपिसक्न पाए आनन्द हुन्थ्यो ।”

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको कृषि विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली जलवायु परिवर्तनका कारण धानबालीमा प्रत्यक्ष असर परेको बताउनुहुन्छ । केही वर्षयता धानका लागि पानी नचाहिने महिनामा पर्ने र चाहिँदा पानी नपर्दा किसान हैरान छन् । समयमा रोप्न र समयमा बाली काट्न किसानले पाएका छैनन् ।

पराजुली भन्नुहुन्छ, “बीउ राख्नेदेखि रोप्ने तथा काट्ने बेलासम्म समयमै गर्दा राम्रो उत्पादन लिन सकिन्छ ।”

नेपालका धेरै किसान आकाशे पानीका भरमा धानखेती गर्छन् । केही वर्षदेखि असारमा पानी नपरेर वैशाख महिनामा पर्न थालेको छ । वर्षा सकिएपछिको समय मानिने असोजमा समेत मुसलधारे पानी पर्ने गरेको छ ।

उहाँ भन्नुहुन्छ, “केही वर्षदेखि धान रोप्दादेखि काट्ने समयसम्म नै धानखेतीका लागि मौसम प्रतिकूल बन्न लागेको छ ।”

धानमा फूल फुलेर बाला लाग्नका लागि तापक्रम केही बढ्नुपर्छ । समयमा पानी नपरेर ढिलो रोपाइँ गर्दा धानमा बाला लाग्न ढिला हुन्छ । असोजमा बाला लाग्न थाल्दा तापक्रम बढिसक्छ । उहाँ भन्नुहुन्छ, “समयमा रोप्दामात्रै सबै कुरा मिल्दो हुन्छ ।”

मौसम प्रतिकूल हुँदा रोग र किराले आक्रमण गर्ने प्राविधिक पराजुली बताउनुहुन्छ । धानका लागि प्रतिकूल मौसम किरा र रोगका लागि अनुकूल हुँदा रोग र किरा फैलन सक्छ । उहाँ भन्नुहुन्छ, “बोट स्वस्थ हुँदामात्रै त्यसले राम्रो उत्पादन दिन्छ ।” धानमा लाग्ने मरुवालगायतका कतिपय रोगले शुरुमा एउटा भाग हुँदै सिङ्गो बोटलाई सुकाएर लैजान्छ ।

नेपालका कतिपय धानका परम्परागत जातमा जलवायुसँग लडेर उत्पादन दिने क्षमताको भएको पराजुली बताउनुहुन्छ । हाइब्रिड र उन्नत जातप्रतिको झुकावका कारण विस्तारै स्थानीय जात हराउँदैछन् । “कतिपय बीउ देशभरका सही नभए पनि जुन ठाउँमा पुस्तौँदेखि लगाउँदै आइएको हो, त्यहाँका लागि राम्रो हुने थियो,” उहाँले भन्नुभयो । ग्रामीण क्षेत्रसम्म स्थानीय जातको धान किसानले लगाउन छाडिसकेका छन् ।

धरै किसानको रोजाइमा हाइब्रिड धानको बीउ पर्छ । हाइब्रिड बीउ यहाँको मौसम अनुकूल नहुन सक्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एक वर्ष राम्रो भएकै जातको बीउ अर्को वर्ष किनेर लगाउँदा राम्रो नभएको किसानले बताएका छन् ।”

केही वर्षदेखि वातावरण सुहाउँदो बीउ विकास गर्नमा नै लागिएको नार्कले जनाएको छ । सुक्खा मौसममा समेत प्रसस्त उत्पादन दिन सक्ने धानको बीउ विकास गर्न अध्ययन भइरहेको छ । सकेसम्म बीउ छनोट गर्दा नै सुक्खा मौसम सहन सक्ने बीउ बुझेरमात्रै लगाउन उहाँ किसानलाई सल्लाह दिनुहुन्छ ।

नार्कअन्तर्गत जनकपुरको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथले तराईका लागि त्यही अनुसन्धान गरेर धानको बीउ सिफारिस गरिरहेको छ । पहाडका लागि महाशाखाअन्तर्गको धान शाखाले यसमा काम गरिरहेको छ । दुवै कार्यालयले बदलिँदो मौसममा अनुकूलसँगै रोग प्रतिरोधी क्षमता बढी भएको र उत्पादन बढी दिनसक्ने बीउ सिफारिस गर्दै आएका छन् ।

धान नेपालको मुख्य बाली हो । नेपालीले सबैभन्दा बढी खाने अन्न पनि चामल हो । त्यसैले पनि धान रोप्ने महिनालाई किसानले उत्सवका रुपमा लिन्छन् । असारको १५ गते हिलो छ्यापेर मनाउने र दही चिउरा खाने चलन छ । साउन १५ गते खिर खाने चलन छ । नेपाली समाजमा धानखेती जीवनशैली र संस्कृतिसँग जोडिएको छ । नेपालको तराईदेखि पहाडी क्षेत्रसम्म धान लगाइँदै आएको छ । – रासस


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!