नेपालमा तरकारी खेतीको लागि संरक्षित  संरचनाको प्रयोगबाट फाइदा लिन ध्यान दिनुपर्ने कुराहरु

  • 1.6K
  •  
  •  
  •  
  •  
  •  
    1.6K
    Shares

नेपालमा क्षेत्रिय कृषि अनुसन्धान केन्द्र लुम्लेले वि.सं २०५१ सालतिर बेमौसमी तरकारी उत्पादनका लागि लुम्ले आसपासका क्षेत्रमा वर्षात तथा चिसोबाट तरकारी जोगाई बेमौसमी उत्पादनको लागि प्रयोग गरेको प्रविधिले त्यसको १० वर्ष पछिबाट उक्त क्षेत्रमा वर्षात, हावाहुरी तथा असिना र चिसोको प्रकोपबाट जोगाउन १०० देखी १२० ग्राम प्रति बर्ग मिटर मोटाइको सिल्पाउलिन प्लाष्टिकको प्रयोग गरेपछी बेमौसमी गोलभेडा खेतीमा ब्यापकता पाएको देखिन्छ ।

पश्चिमान्चल क्षेत्रमा सफल देखिएको प्रविधि क्रमश नेपालभर नै २०६६ सालसम्ममा विस्तार भएको  र स्थान र उपलब्ध सामाग्री अनुसार प्रविधिमा परिमार्जन भई आजका दिनमा आउँदा बाँसको प्लाष्टिक घर, जि.आइ पाइपको टनेल, नेचुरल्ली भेन्टिलेटेड प्लाष्टिक घर, नेट हाउस उच्च प्रविधिमा आधारित ग्रिन हाउस, पोलिकार्वोनेट÷फाइवरको घर लगायतका ६ वटा प्रविधिहरु नेपालको तराई देखि उच्च हिमाली जिल्लाहरुमा बेमौसमी तरकारी तथा तरकारी बेर्ना उत्पादनमा प्रयोग भएको पाइन्छ ।

नेपालमा गोलभेडा खेतीमा यस किसिमका संरचनाहरुको प्रयोगमा ब्यापकता आई खुल्ला जमिनमा करिव १७ मे.टन प्रति हेक्टर उत्पादकत्व भएको गोलभेडा स्थान अनुसार ६० देखी ८० मे.टन प्रति हेक्टरसम्म उत्पादकत्व भएको पाइएता पनि हालका दिनमा आएर प्रविधि प्रतिस्पर्धी हुन नसकेको गुनासो कृषक तथा कतिपय प्राविधिकहरुबाट आउन थालेको सन्दर्भमा यस्ता खाले संरचनाका खेतीमा नेपालमा भएका कमी कमजोरी र समाधानका उपायमा केन्द्रित भएर यस लेख तयार पारिएको छ ।

वर्तमान अवस्था 

नेपालमा आजसम्ममा संरचनाले ओगटेको क्षेत्रफल,  खेती गर्ने कृषक सङ्ख्या तथा उत्पादकत्वको एकिन तथ्यांक नभएतापनि ७०० हेक्टर भन्दा बढी क्षेत्रफलमा संरचनामा आधारित तरकारी खेती हुने गरेको र बाँसमा आधारित संरचनाले प्रमुख स्थान ओगटेको पाइन्छ । विगतमा प्रयोग भएका ४५ देखी १२० ग्राम प्रति वर्ग मिटर मोटाइको सिल्पाउलिन (जसलाइ त्रिपालको रुपमा प्रयोग हुने प्लाष्टिक पनि भनिन्छ) प्लाष्टिकको सट्टामा १०० देखी २०० माइक्रोनको पराबैजनी किरण छेक्ने प्लाष्टिक, कीरा प्रतिरोधी जाली तथा थोपा सिँचाइमा आधारित स्थान अनुसारका विभिन्न संरचना तरकारी र तरकारी विरुवा उत्पादनमा प्रयोग भएतापनि क्षेत्रफल विस्तारको तुलनामा उत्पादकत्व बृद्धि हुन सकेको छैन  । यस्ता खाले संरचना प्रयोगमा अग्रणी रहेको नेदरल्याण्डमा प्रति हेक्टर गोलभेडा उत्पादकत्व ६०० मे.टन रहेको छ भने छिमेकी देश भारतमा समेत १५० मे.टन सरदर उत्पादकत्व हुँदा नेपालमा सरदर ६० मे.टन मात्र रहेको छ ।  यदि यस्ता प्रविधिबाट लाभ लिने हो भने हामिले निम्न कुराहरुमा ध्यान दिन जरुरी हुन्छ ।

स्थान र आबहावाको विचार गरी संरचना निर्माण तथा मापदण्ड तयार

नेपाल भौगोलिक विविधतायुक्त देश हो यहाँ ७१ मिटर देखी  करिव ४५०० मिटर उचाई भएका क्षेत्रफलसम्म तरकारी खेती हुनाका साथै ठाउँ विशेष तापक्रम, आद्रता र सूर्यको प्रकाशमा विविधता रहेको पाइन्छ । संरचना निर्माणको प्रमुख उद्धेश्य भनेको विरुवालाई आवश्यक तापक्रम , आद्रता र सूर्यको प्रकाश तथा हावाको सन्चार कायम गर्नु हो भन्ने कुरामा संरचना निर्माण गर्ने तथा प्रयोग गर्ने कृषकले ध्यान दिन्का साथै संरचना निर्माण गर्न नेपाल सरकारले मापदण्ड बनाउन जरुरी छ । नेपाल सरकारले विभिन्न आबहावा तथा क्षेत्रका लागि उपयुक्त डिजायन सहित प्रयोग हुने सामाग्रीको गुणस्तर , जि आइ पाइपको मोटाई, प्लाष्टिकको गुणस्तर (यू.भि तथा मोटाई ) , नेटको गुणस्तर तथा थोपा सिँचाइको सेटको गुणस्तर  लगायतका कुरामा अध्ययन अनुसन्धानका साथै मापदण्ड तयारीमा तत्काल ध्यान दिन जरुरी छ । आम कृषकहरुले बुझ्नुपर्ने कुरा के हो भने संरचना निर्माण गर्दा सकभर तापक्रम २० देखी ३० डिग्री सम्म आद्रता ६० देखी ७० प्रतिशत सम्म, ५ देखी ७ घण्टा सम्म दैनिक सूर्यको प्रकाश आउने स्थान तथा यू. भि. विकिरणको मात्रा कम छिर्ने संरचना तथा हावाको उचित संचार हुने गरी माथि र वरिपरीवाट भेन्टिलेसन सहितको संरचना निर्माण गर्न सकेमा मात्र राम्रो उत्पादन लिन सकिन्छ ।

उपयुक्त जातको प्रयोग र मलखाद ब्यवस्थापन

विश्वका धेरैजसो देशमा संरचना भित्र प्रयोग हुने तरकारी बालीको छुट्टै जातको बिउ प्रयोग हुदै आएको पाइन्छ । संरचनाभित्र परसेचित बालीलाई परागसेचन प्रकृयामा सहजता नहुने हुनाले स्वसेचित बाली वा परसेचित बालीका विकसित पार्थिनोकार्पिक जातको प्रयोग गर्नाका साथै स्वसेचित बालीलाई समेत केही मात्रामा परागसेचन गराउन सकेमा उत्पादन बढाउन सकिन्छ । स्वसेचित बालीहरु जस्तैः गोलभेडा, भेडे खुर्सानी आदिमा समेत परागसेचन प्रकृयाको लागि सहजता प्रदान गर्न सके अझ उत्पादन बृद्धि गर्न सकिन्छ भने काँक्रो जस्ता परसेचित बालीको कृषकले रुचाएका पार्थिनोकार्पिक जातहरु लगाउन आवश्यक छ ।

यसको लागि नेपालको बीउ बिजन नियमावलीमा तरकारी बालीको जातहरु आयात दर्ताको हकमा केही सुधार तथा परिमार्जन गर्न सकेमा मात्र विश्वका प्रचलित कम्पनीका गुणस्तरीय बीउ उपलब्ध भई उत्पादन बढाउन सकिन्छ । यसका साथै संरचनाभित्र पानी तथा मलखाद ब्यवस्थापनको उत्तम विकल्प थोपा सिँचाइ प्रविधि हो तर  नेपालमा विभिन्न तरकारी बालीका लागि उपयुक्त पानीमा धुलनशिल मल तथा सूक्ष्म तत्व वर्तमान रासायनिक मल नियन्त्रण आदेश अनुसार आयात प्रकृया असहज हुनाले खाद्यतत्व उपलब्ध नहुँदा विरुवालाई उचित खाद्य तत्व ब्यवस्थापन हुन सकेको छैन । यदि गुणस्तरीय बीउ र खाद्यतत्व ब्यवस्थापन गर्ने हो भने उही लागतमा हालको उत्पादनलाई कम्तीमा पनी ३० प्रतिशतले बृद्धि गर्न सकिन्छ ।

बजारको माग अनुसारको उत्पादन

संरचनाभित्र खेती गर्ने कृषकहरुले बजारमा उपभोक्ताको तरकारीको माग, आपूर्ति अवस्था तथा गुणस्तर आदि कुरामा ध्यान दिएर मात्र विशिष्टिकृत उत्पदन गर्न सकेमा मात्र यस किसिमको प्रविधिबाट फाइदा लिन सकिन्छ । हालका दिनमा बाह्रै महिना संरचनामा एउटै बालीमा केन्द्रित हुनाले बजारको माग अनुसारको उत्पादन हुन सकिरहेको छैन यदि माग अनुसार उत्पादन गर्न सकेमा संरचनामा सागपात लगायतका छोटो बालीवाट समेत फाइदा हुन्छ र यस्ता बालीले बालीचक्र ब्यवस्थापनमा समेत सहयोग पुर्याउँदछ भन्ने कुरामा ध्यान दिन अत्यन्त जरुरी देखिन्छ ।

माटो तथा रोगकीरा ब्यवस्थापन

माटोलाई विरुवाको सहाराको प्रमुख आधारको रुपमा लिई माटोको स्वस्थता तथा उर्वरापन कायम गर्न जरुरी हुन्छ । माटोको पि. एच.को मात्रा तथा भौतिक गुणमा सुधार गर्नको लागि कुनै बाली लगाउन पूर्व अनिबार्य परीक्षण र सिफारिस मात्रामा मलखादको प्रयोग खेतीको पूर्वशर्त हो । माटोमा समूचित खाद्यतत्व ब्यवस्थापन गर्नको लागि माटोको अबस्था विश्लेषण अत्यावश्यक छ भन्ने कुरामा सदैब ध्यान दिनका साथै अधिकांश रोग तथा कीराको प्रकोप बाह्रै महिना एउटै बाली लगाउँदा देखा पर्ने भएकोले बजारको माग अनुसार लामो समय उत्पादन दिने बाली पछि छोटो समयमा उत्पादन दिने अन्य समूहका तरकारी खेती गर्ने, रोग तथा कीराले आक्रमण गर्न सक्ने अबस्था विश्लेषण (तापक्रम तथा आद्रताको आधारमा ) गरी बेलैमा सजग हुने तथा बेलैमा प्राविधिक मार्फत समस्या समाधानका उपायमा ध्यान दिने जस्ता कार्य गर्न महत्वपूर्ण हुन्छन् ।

असल कृषि अभ्यास बिधि अवलम्बन

हालका दिनमा आएर उपभोक्ताहरुको स्वास्थलाई बिचार गरी सिफारिस प्रविधिको प्रयोग र अभिलेखीकरण गरी खेती गरी बजारीकरण गर्ने प्रविधि विश्वका कतिपय देशका साथै नेपालले पनि नेपाल ग्याप स्टान्डर्ड बनाई प्रयोगमा ल्याएको सन्दर्भमा आयातित उत्पादनसँग प्रतिस्पर्धा गर्न  असल कृषि अभ्यासमा आधारित उत्पादन प्रविधि अबलम्बन गर्न जरुरी देखिन्छ  । आफ्नो उपज स्वस्थकर र हानी रहित हो भनी उपभोक्ताको विश्वास जित्न समेत यस्तो अभ्यास सहयोगी सिद्ध हुन्छ ।

 प्रतिस्पर्धी क्षमताको बिकास 

लाभ लागत विश्लेषण सहितको संरचनामा आधारित खेती गर्न सकेमा जोखिम न्यूनीकरणमा टेवा पुग्दछ  । कृषकहरुले कुनै पनी किसिमको प्रविधि प्रयोग पूर्व यस्ता प्रविधिको बारेमा पूर्व जानकारी लिन अत्यावश्यक देखिन्छ ( के, किन, कसरी, कहिले, संभावित जोखिम) साथै सेवा प्रदायकले पनि कृषकलाई संरचना मात्र नभई यसका फाइदा बेफाइदा र प्रविधिको प्याकेज दिन अत्यावश्यक देखिन्छ । वर्तमान अवस्थामा संरचना भित्र उपत्यकामा गोलभेडा खेती गर्दा प्रति के. जि. लागत रु २८ सम्म र बाहिर २२ सम्म पर्ने देखिन्छ तसर्थ बजारको माग र मूल्य अनुसारको उत्पादन तथा बढी उत्पादन दिने जात र प्रविधिको प्रयोग गरेर प्रति इकाई उत्पादन लागत घटाउनाका साथै विशेष पहिचान सहितको उत्पादन गर्न सकेमा मात्र प्रतिस्पर्धि क्षमताको बिकास भई संरचनाभित्रको खेती लागत प्रभावी हुने देखिन्छ ।

नेपाल सरकारको वर्तमान अनुदान प्रकृयामा सुधार

हाल नेपालमा प्रतिस्पर्धात्मक क्षमतामा आधारित अनुदानमा विकृति  र विसंगति देखा पर्दै गएको सन्दर्भमा यस किसिमका संरचनमा आधारित खेती गर्न चाहने किसानलाई ब्यवसायिक योजना निर्माणमा सहयोग गरी लागानी गर्न आवश्यक बित्तिय ब्यबस्थाको लागि सुलभ कर्जाको लागि वित्तिय संस्थासँग समन्वय गर्न जरुरी देखिन्छ । यसका साथै नेपाल भित्रै संरचना निर्माण तथा प्रविधि प्रसारका लागि आवश्यक पर्ने सामाग्री निर्माण गर्ने उद्योग तथा उद्यमीलाई प्रोत्साहन गर्नका साथै आयात गर्नुपर्ने सामाग्रीका भन्सारका दरमा परिवर्तन गर्न सकेमा हाल आकाँसिदै गएको संरचना निर्माण खर्च कम हुनाका साथै अधिक कृषहरुले लाभ पाउने देखिन्छ । तसर्थ नेपाल सरकारका विभिन्न निकायका कृषि विकास कार्यक्रमलाई सोही अनुसार लक्षित गरी संघीय मन्त्रालयले नीतिगत सुधार र सहजीकरण र प्रदेश मन्त्रालय तथा स्थानीय निकायले कार्यक्रम सँचालन प्रकिृयामा सुधार गर्न सकेमा दीगो रुपमा यस्ता प्रविधि प्रभावकारी हुने देखिन्छ ।

 क्षमता तथा दक्षता अभिबृद्धि

यस्ता खाले प्रविधिमा संलग्न हुने प्राविधि, सेवा प्रदायक तथा उत्पादक कृषकहरुको क्षमता अभिवृद्धि गर्न राष्ट्रिय स्तरमा यस खाले प्रविधि अध्ययन  अनुसन्धान तथा समन्वयको ब्यवस्था गरी उक्त निकाय वा इकाइले नीतिगत सहजीकरण,  आवश्यकता पहिचान गरी दक्षता विकास तथा मापदण्ड निर्माण तथा परिमार्जन र अनुगमन निरीक्षण गरी आवश्यक सुधारका कार्य गर्न जरुरी देखिन्छ ।

 निष्कर्ष

संरचनामा आधारित तरकारी खेती उत्पादकत्व अभिबृद्धिको लागि प्रमुख आधार हो भन्ने कुरा हाम्रा छिमेकी देश तथा विकशित देशले समेत प्रमाणित गरिसकेका छन् । नेपालमा समेत प्रत्येक वर्ष यस खाले प्रविधिमा युवा किसानहरुको आर्कषण बढ्दै गएको पाइन्छ । यस्ता खाले प्रविधिले वातावरणीय प्रतिकुल अवस्था तथा विभिन्न रोग कीरा जन्य तथा प्राकृतिक प्रकोपमा समेत उत्पादनमा टेवा पुर्याउनेमा दुईमत छैन । नेपालमा यस्ता प्रविधिको दीगोपनका लागि आवश्यक गुणस्तर नियमन, मापदण्ड निर्माण,नीतिगत सहजीकरण, बित्तिय तथा कार्यक्रमगत सहजीकरणका साथै  यस प्रविधिको सफलताको प्रम्ख चूनौतीको रुपमा रहेको गुणस्तरीय बीउको  आवश्यकता पूर्ति तथा आवश्यक पानीमा घुलनशिल मलखाद र उत्पादन सामाग्री आयात तथा आवश्यक प्रविधि विकासका लागि ठोस कदम चाल्न सकेमा आम किसान तथा देशले यस प्रबिधिबाट फाइदा लिन सक्दछन् ।

लेखक काफ्ले बरिष्ठ बागबानी बिकास अधिकृत हुनुहुन्छ र हाल युनिभर्सिटि अफ साउथ अष्ट्रेलिया, अष्ट्रेलियामा अध्ययनरत हुनुहुन्छ ।


  • 1.6K
  •  
  •  
  •  
  •  
  •  
    1.6K
    Shares
error: Content is protected !!