काठमाडाैं
देशभर अहिलेसम्म ८२ प्रतिशत धान रोपाइँ भएको छ । कृषि मन्त्रालयअन्तर्गत कृषि प्रसार निर्देशनालयको तथ्याङ्कअनुसार साउनको झन्डै दोस्रो साता आइपुग्दा ८२ प्रतिशत खेतीयोग्य जमिनमा रोपाइँ सम्पन्न भएको हो ।
असार महिनामा मौसम सक्रिय भएको र त्यसपछि पनि छिटफुट वर्षा भइरहेकाले रोपाइँ मुलुकभर नरोकिएको कृषि मन्त्रालयले जानकारी दिएकाे छ । कृषि मन्त्रालयका सह प्रवक्ता शंकर सापकाेटाका अनुसार साउन महिनाभर सतप्रतिशत रोपाइँ हुने कृषि मन्त्रालयले प्रक्षेपण गरेकाे छ । सापकाेटाका अनुसार अघिल्लाे वर्षकाे तुलनामा यस वर्ष धानको उत्पादन बढ्ने अनुमान छ ।
समयमै रासायनिक मल उपलब्धता, बीउबिजन र समयमै वर्षा भएकाले पनि यस वर्ष उत्पादन बढ्ने अनुमान मन्त्रालयको छ । तर कतिपय जिल्लामा अझै किसानले मल पाउन सकेका छैनन् । कतै वर्षा नहुँदा राेपाइ हुन सकेकाे छैन । मन्त्रालयकाे तथ्यांक अनुसार सुदूर पश्चिम क्षेत्रमा शतप्रतिशत रोपाइँ सकिएको छ ।
अन्य क्षेत्रमा झन्डै ८० प्रतिशत हाराहारीमा रोपाइँ भएको छ । गत वर्ष यही समयमा झन्डै ६८ प्रतिशत मात्रै रोपाइँ सकिएको थियो । गत वर्ष ५१ लाख मेट्रिक टन धान उत्पादन भएको थियाे ।