असार सकिन लाग्दा पनि यो वर्ष धान रोपाइँ २६.७१ प्रतिशत मात्र

काठमाडौं । अघिल्लो वर्षको तुलनामा असार अन्तिम हुन लाग्दा पनि यसपालि धान रोपाइँ कम भएको छ । यो वर्ष पोहोरको तुलनामा असार २१ सम्म डेढ लाख हेक्टरमा कम रोपाइँ भएको हो । बढी रोपाइँ हुने मधेश, गण्डकी र लुम्बिनीमा मनसुन ढिलाइ हुँदा रोपाइँमा कमी आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

बर्खे धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ५७ हजार ८ सय १६ हेक्टर हो । यसमध्ये ३ लाख ६२ हजार ६ सय २५ हेक्टर अर्थात् २६.७१ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयले बताएको छ ।

प्रतिशतका हिसाबमा सबैभन्दा बढी सुदूरपश्चिममा रोपाइँ भएको छ । यस प्रदेशमा १ लाख ७१ हजार ४ सय ७६ हेक्टरमा धान रोपाइँ हुन्छ । त्यसमध्ये ४८.९७ प्रतिशत अर्थात् ८३ हजार ९ सय ७२ हेक्टरमा रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा भने ७२.७० प्रतिशत रोपाइँ भइसकेको थियो ।

दोस्रोमा कर्णालीमा ४५ प्रतिशत अर्थात् १७ हजार ४ सय ३५ हेक्टरमा रोपाइँ भएको छ । गतवर्ष यही अवधिमा ५६.३१ प्रतिशत रोपाइँ भएको थियो । कर्णालीमा ३८ हजार ७ सय २७ हेक्टरमा रोपाइँ हुन्छ । कोशीमा २ लाख ७५ हजार १ सय ३३ हेक्टरमा रोपाइँ हुन्छ । असार २१ सम्ममा ३६.६७ प्रतिशत अर्थात् १ लाख ८ सय ९१ हेक्टरमा रोपाइँ भएको छ । यही अवधिमा पोहोर कोशीमा भने ३१.९६ प्रतिशत मात्रै रोपाइँ भएको थियो ।

वाग्मतीमा १ लाख १३ हजार ८३ हेक्टरमा धान रोपाइँ हुन्छ । हालसम्म ३०.७८ प्रतिशत अर्थात् ३४ हजार ८ सय ७ हेक्टरमा रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा ४३ प्रतिशत रोपाइँ भएको थियो । लुम्बिनीमा ३ लाख ३ सय ९२ हेक्टर रोपाइँ हुनेमध्ये २४.४३ प्रतिशत अर्थात् ७३ हजार ३ सय ८६ हेक्टरमा रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ । गत वर्ष यही अवधिमा लुम्बिनीको रोपाइँ आधाले घटेको छ । गत वर्ष लुम्बिनीमा ५३ प्रतिशत रोपाइँ भएको थियो ।

गण्डकीमा १ लाख ४ हजार ६ सय २२ हेक्टरमा रोपाइँ हुन्छ । त्यसमध्ये १७.५५ प्रतिशतमा रोपाइँ भएको छ । सबैभन्दा बढी मधेशमा ३ लाख ५४ हजार ३ सय ८३ हेक्टरमा रोपाइँ हुन्छ । यस प्रदेशमा ९.५३ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा भने ३० प्रतिशत रोपाइँ भएको थियो । मनसुन सुरु हुने क्रमसँगै रोपाइँको क्षेत्रफल पनि बढ्दै गएको मन्त्रालयले जनाएको छ । रोपाइँ नहुनुको प्रमुख कारण भने सिँचाइ समस्या हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here