सवा दुई करोड बराबरको रुद्राक्ष लुटियो

भोजपुर ।
भोजपुरको षडानन्द नगरपालिका २, कुदाककाउलेको ताबुमा रहेको करिब सवा दुई करोड बराबरको रुद्राक्ष एक अज्ञात समुहले लुटेर लगेका छन् । शुक्रबार बिहान करिब ५ बजेतिर अन्दाजी ७/८ जनाको अज्ञात समुहले स्थानीय हिमाल तामाङ र नगरपालिकाका मेयर बीरबल राईले साझेदारीमा लगाएको करिब २ करोड १५ लाख मूल्य बराबरको रुद्राक्ष चोरी गरेर भागेको जनाईएको छ ।

जग्गाको सिमाना साझेदारीमा भएकाले दुबैजनाले लगाएको उक्त रुद्राक्षको बगानलाई एकवर्ष अघि षडानन्द नगरपालिका ३, खार्तम्छाका अगमसिं राईले ३ वर्षका लागि ३० लाख रुपैँयामा ठेक्कामा लिएका थिए । रुद्राक्ष बगानमा चारजना हेरालु राखेको भएपनि अज्ञात समुहले उनीहरुमाथि कुटपिट गरि रुद्राक्षका डाला काट्दै, भाँच्दै रुद्राक्ष लुटेर लगेको बगानका हेरालु साल्पासिलिछो गाउँपालिका दोभानेका ओमकार थुलुङले बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय दिङलाका अनुसार हातहतियारसहित आएका अज्ञात समुहले रुद्राक्षका रेखदेख गर्न बसेका दुईजना हेरालुलाई नियन्त्रणमा लिएर रुद्राक्ष लुटेर लगेको जनाईएको छ । उक्त समुहले राम्रो बोटको सबै रुद्राक्ष लुटेर घटनास्थलदेखि पश्चिम छिमेकी जिल्ला खोटाङको सिमानातिर भागेको हुन सक्ने भएकोले सुचनाका आधारमा खोटाङको जिल्ला प्रहरी कार्यालयलाई समेत खबर गरेको ईन्सपेक्टर सञ्जिव ओलीले बताउनुभयो ।

घटनापश्चात ईलाका प्रहरी कार्यालय दिङ्ला र प्रहरी चौकी कुदाककाउलेबाट २० जनाको प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ । घटनाको पूर्ण विवरण, थप अनुसन्धान र उक्त अज्ञात समुहको खोजी कार्य भईरहेको छ । मेयर राईले लुटपाटपछि जिल्ला प्रहरी कार्यालय भोजपुरमा आएर किटानी जाहेरी दिएको जनाईएको छ ।

error: Content is protected !!