किवी फलको बीउबाट विरुवा उत्पादन गर्ने प्रविधि

  • 1.4K
  •  
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

किवीफलको परिचय

चीनमा उत्पत्ती भई न्यूजिल्याण्डबाट व्यवसायिक रुपमा खेती सुरूवात भएको किवी फल एक पतझर लहरे बिरुवा हो। यसलाई अर्को शब्दमा “चाईनिज गुजबेरी” पनि भनिन्छ। साधारण भाषामा “किवी” भन्नाले न्युजिल्याण्डको राष्ट्रिय चरा भन्ने बुझिन्छ।

किवीफल अंगुर जस्तै लहरामा फल्ने एक वहुबर्षिय र अत्यन्तै पोषिलो फल हो। यसको फल खैरो रङ्गको (रेड किवी बाहेक) र मसिना झुसले ढाकेको हुन्छ। यो फलको फुल फुल्ने र फल्ने समय जात अनुसार फरक पर्दछ, तर साधारणतया चैत्र महिनामा फुल फुल्न सुरु गरि वैशाख महिनासम्म फुलिसक्दछ भने कार्तिक-मङसिर महिनामा फल टिप्नको लागि तयार हुन्छ।

फलको पातलो बोक्रा बाहेक सबै भाग खान सकिन्छ। किवी फल रोपेको ३ वर्षपछि फल्न सुरु गर्दछ र निरन्तर लगभग ३०-४० वर्षसम्म उत्पादन दिईरहन्छ। हिउँद महिनामा यसको पात झर्दछ र यसको लहरा छिटो बढ्ने स्वभावको हुन्छ। किवीफलको भाले र पोथी फुल फरक- फरक बोटमा फुल्दछ, तसर्थ परागसेचनको लागि भाले र पोथी बोट एकै ठाउँमा रोप्नु एकदमै आवश्यक हुन्छ।

 किवीफलको बीउ संकलन

किवीफलको बीउ फल भित्र मसिनो कालो रङ्गको तीलको दाना जस्तो लहरै रहेको हुन्छन । मसिनो बीउहरुलाई ध्यानपूर्वक संकलन गर्नुपर्दछ।

 किवीफल बाट बीउ निकाल्ने तरिका

किवीफलको बीउबाट बिरुवा उत्पादन गर्नको लागि सर्वप्रथम एकदमै राम्ररी पाकेको र सबैभन्दा ठूलो फलको छनौट गर्नुपर्दछ। बीउ निकाल्ने फल टिप्नको लागि फल तयार भएको थाहा पाउन फल काटेर हेर्दा भित्र बीउ गाढा कालो रङ्गको हुनुपर्दछ वा फलको गुलियो पदार्थको (TSS) रिफ्याक्ट्रोमिटरले परीक्षण गर्दा १२ डिग्री ब्रिक्स भन्दा बढी   निकाल्ने फलहरुलाई बोटमा नै राम्रोसँग छिप्पिन दिनुपर्दछ। त्यस पश्चात उक्त फलहरुलाई सुरक्षित साथ टिपेर राम्रोसँग पाक्ने गरी गुम्स्याउनु पर्दछ।

यसरी राम्रोसँग पाकेको फलको बाहिरको बोक्रा धारिलो चक्कुको सहायाताले ध्यानपुर्वक ताछ्नु पर्दछ।त्यस पश्चात बोक्रा फ्यालिएको फलहरुलाई एउटा सफा भाँडामा राखी भित्रको गुदी र बीउ देखिने गरी काट्नुपर्दछ।

त्यसपछि भित्रको सेतो भागलाई अनिवार्य रुपमा हटाउनु पर्दछ।बाँकी रहेको भागलाई बालुवासँग हातको सहायताले मोल्नुपर्दछ। बालुवासँग मोल्नुको मुख्य उदेश्य भनेको बीउसँग टाँसिएर रहेको चिप्लो पदार्थलाई बीउबाट छुट्टयाउनु हो।

त्यसपछि त्यसबाट बीउ मात्र निकाल्नको लागि पानीले विस्तारै पखाल्नु  वा छान्नु पर्दछ।यति गरिसकेपछि निस्किएको बीउलाई छाँयामा सुकाउनु पर्दछ।तर बीउलाई प्रत्यक्ष घाममा भने कदापी सुकाउनु हुँदैन। यदि घाममा सुकाईयो भने बीउको उमार शक्ति नष्ट हुने गर्दछ। यदि छान्नको लागि पानीको प्रयोग नगर्ने हो भने अगाडी बनेको लेदोलाई एउटा सफा कपडा (विषेश गरि सिरकको खोलको कपडा) मा पातलो गरि फैलाउन वा बिछ्याउन समेत सकिन्छ।यसरी कपडामा फैलाएको लेदोलाई छाँयामा सुकाउनु पर्दछ।

लेदो राम्ररी सुकिसकेपछि त्यसबाट बीउ सजिलै छुटिन्छ । त्यसबाट बीउलाई ध्यानपुर्वक बिस्तारै निकाल्नु पर्दछ । यति गरिसकेपछि निस्किएको बीउलाई छाँयामा सुकाउनु पर्दछ ।

३. बीउ निकाल्ने उपयुक्त समय/महिना

रेड किवी बाहेक अन्य किवीको हकमा बीउ निकाल्ने उपयुक्त समय भनेको मंसिर महिना पछि हो।मंसिर महिना पश्चात नर्सरी राख्ने समय भन्दा अगाडी सम्म बीउ निकाल्न सकिन्छ।रेड किवीको हकमा भने यसको बीउ अत्यन्तै सानो हुने भएकोले यसको प्राय: गरि नर्सरी गरिदैन।रेड किवीको बिरुवा उत्पादन गर्नको लागि चाँहि यसको सायन अरु कुनै जातको रुटस्टकमा ग्राफ्टिङ्ग गर्नु पर्दछ। किवी फलबाट बीउ निकाल्नको लागि अत्यन्तै राम्रोसँग पाकेको र ठूलो साईजको फलको छनौट गर्नुपर्दछ।त्यसरी निकालिएको बीउ नर्सरी बेडमा रोपण नगरुन्जेल सम्म कपडामा पोको पारेर छाँयामा सुरक्षित भण्डारण गर्न सकिन्छ।

४. बीउ उपचार

विशेष गरि नर्सरी बेडमा ढुसीजन्य रोग जस्तै बेर्ना कुहिने रोग (Damping off)  बाट बेर्नालाई बचाउनको लागि बीउको उपचार गर्नु एकदमै आवश्यक हुन्छ।बीउ उपचार गर्न मूख्यतया: ट्राईकोडर्मा नामक ढुसीप्रतिरोधक (Fungicide) को प्रयोग गर्नु उपयुक्त हुन्छ। जुन एग्रोभेटहरुमा सजिलैसँग पाउन सकिन्छ र धुलोको रुपमा पाईन्छ।बीउको उमार शक्ति बढाउनको लागि जिबेरेलिक एसिड (Gibberellic Acid) नामक वृद्वि हार्मोनको प्रयोग गर्न सकिन्छ।सन् २०१० मा भारतमा गरिएको एक अध्यनबाट २००० पि.पि.एमको जिबेरेलिक एसिडमा बीउ उपचार गरी रोपेमा ब्रुनो जातको किवीमा ६७.२५ % र हेवार्ड जातको किवीमा ५३ % उमार शक्ति कायम भएको पुष्टि भईसकेको छ।

५. नर्सरी बेड तयार गर्ने तरिका

बीउबाट बेर्ना उत्पादन गर्नको लागि उपयुक्त नर्सरी बेडको आवश्यकता हुन्छ।एउटा नर्सरी बेडको चौडाई १ मिटर र लम्बाई आवश्यकता अनुसार बनाउन सकिन्छ।नर्सरी बनाउने जमिनमा पानी नजम्ने र निकासको राम्रो प्रबन्ध भएको हुनुपर्दछ।जमिनको तयारी गर्दा माटोलाई मसिनो हुने गरि खनजोत गरि आवश्यकता अनुसार राम्ररी पाकेको गोबर मल वा कम्पोष्ट मललाई जंगलको मलिलो माटो संग १:२ को दरमा मिसाएर प्रयोग गर्नुपर्दछ।नर्सरी बेडलाई जमिनको सतहबाट १५ से.मी. को उचाईसम्म उठाउनु पर्दछ।

किवी फलको बेर्ना उत्पादनको लागि प्रथम र दोश्रो गरी दुई पटक नर्सरी तयार गर्नु पर्दछ। बीउ राम्रो सँग उम्रनको लागि नर्सरी बेडमा उपयुक्त मात्रामा चिस्यान कायम हुनु एकदमै आवश्यक हुन्छ।तर बेडमा पानी जम्न भने कदापी दिनु हुँदैन। चिस्यान कायम गर्नको लागि सकेसम्म स्प्रिङकल सिंचाईको प्रवन्ध गर्नुपर्दछ। नर्सरी बेडमा सुकेको खर, स्याउला वा परालले छापो (Mulching) हालेर पनि चियान कायम गर्न सकिन्छ। बीउ उम्रिसके पछि राखिएको छापो हटाउनु पर्दछ।

५.१ प्रथम नर्सरीको तयारी

किवी फलको बीउको उमार संख्या वा क्षमता बीउको गुणस्तरियता साथै प्रथम नर्सरी तयारीको प्राविधिक पक्षमा निर्भर रहन्छ।माथी वर्णन गरे अनुसारको नर्सरी बेड तयारी गरिसके पछि त्यसमा सानो गुमोज ८० जि.एस.एम. को सिल्पाउलिन प्लाष्टिकको प्रयोग गरी पनि बनाउन सकिन्छ। तर सानो गुमोज बनाउँदा त्यस भित्र सापेक्षित आद्रता (Relative Humidity) र हावाको संचार राम्रोसँग नहुने भएको बेर्ना कुहिने रोग (Damping off) को प्रकोप बढ्न सक्दछ। त्यसैले त्यसको निराकरणको लागि स्क्रिन हाउसको निर्माण गर्नु उत्तम हुन्छ । स्क्रिन हाउस निर्माणको लागि ८० जि.एस.एम. को सिल्पाउलिन प्लाष्टिकको प्रयोग गर्न सकिन्छ। स्क्रिन हाउसको दायाँ बाँया निस्किएको सिल्पाउलिन प्लाष्टिकलाई जमिनको सतहमा माटोले पुर्नुपर्दछ। त्यसो गर्दा बाहिरबाट नर्सरी बेडमा पानी वा भेल पस्न पाउँदैन। स्क्रिन हाउसको उचाई ६ फिटको हुनुपर्दछ। एउटा स्क्रिन हाउस भित्र दुईवटा नर्सरी बेड बनाउन सकिन्छ। दुईवटा नर्सरी बेडको बिचमा १८ ईन्चको हिड्ने बाटो राख्नु पर्दछ। जसले गर्दा त्यस भित्र आवश्यक काम गर्न र हिडँडुल गर्न सहज हुन्छ । उक्त बाटोको दाँया बाँया १/१ मिटर चौडाई भएको दुईवटा नर्सरी बेड तयार हुन्छ । प्रथम नर्सरी बनाउने उत्तम महिना भनेको पौष-माघ हो।

६. प्रथम नर्सरीमा बीउ रोपण

प्रथम नर्सरीमा किवी फलको बीउ रोपण गर्ने उपयुक्त महिना भनेको माघ अन्तिम देखि चैत्र सम्म हो।नर्सरी बेड तयार भईसकेपछि बीउलाई लाईनमा २-४ ईन्चको फरक र २-३ से.मी को गहिराईमा रोप्नु पर्दछ। एक लाईन देखि अर्को लाईन सम्मको दुरी १०-१५ से.मी. कायम गर्नुपर्दछ । लाईनमा बीउ रोपिसकेपछि त्यसलाई पातलो सँग पुर्नुपर्दछ। त्यसको लागि मसिनो गरी बनाईएको माटो वा मसिनो बालुवाको पनि प्रयोग गर्न सकिन्छ। रोपिएको बीउलाई राम्रो संग उम्रनको लागि नर्सरी बेडमा चिस्यान कायम गर्नु एकदमै आवश्यक हुने गर्दछ। त्यसको लागि हजारी वा स्प्रिङकल बाट सिँचाई गर्न सकिन्छ। यदि हरेक समय सिँचाईको श्रोत सम्भव हुँदैन भने त्यस्तो अवस्थामा छापो हालेर पनि चिस्यान कायम गर्न सकिन्छ। बीउ रोपेको १ महिना पछि उम्रन सुरु हुन्छ।

७. दोश्रो नर्सरीको तयारी र बेर्नाको प्रतिस्थापन

पहिले नर्सरीको तयारी जस्तै दोश्रो नर्सरीमा पनि माटोलाई मसिनो बनाउनु पर्दछ। राम्ररी पाकेको गोबर मल र माटोलाई राम्रोसगँ मिसाएर जमिनको तयारी गर्नुपर्दछ । पहिलो नर्सरीमा बीउ रोपण गरेको करिब २-३ महिना पछि ३/४ वटा पात पलाउँन सुरु गर्दछ। ३/४ वटा पात पलाई सकेपछि बेर्नालाई दोश्रो नर्सरीमा सार्नु पर्दछ। प्रतिस्थापन गरिएका बेर्ना बीच करिब ८-१० से.मी. को दुरी कायम गर्नुपर्दछ अर्थात एउटा बेर्ना र अर्को बेर्ना ८-१० से.मी. को फरकमा रोप्नु पर्दछ। यसरी सारिएको बेर्नालाई हुरि बतास, तापिलो घाम र असिना बाट बचाउनको लागि छहारीको रुपमा एग्रो नेटको प्रयोग गर्नुपर्दछ।किराहरु र अन्य बाह्य जीवजन्तुहरु बाट बचाउनको लागि त्यसको वरिपरि हरियो जालीको प्रयोग गर्न सकिन्छ। दोश्रो नर्सरीमा १ वर्षमा ग्राफ्टिङ्ग गर्नको लागि बेर्ना तयार हुन्छ । यसरी दोश्रो नर्सरीमा उत्पादन भएको बेर्नालाई रुट स्टकको रुपमा प्रयोग गर्नुपर्दछ । त्यसमा ग्राफ्टिङ्ग गरेर मात्र बिक्रि वितरण र रोपण कार्य गर्नुपर्दछ । ग्राफ्टिङ्ग गर्नको लागि अर्को किवीको बोटबाट सायन ल्याई उक्त बीउबाट उमारिएको बेर्नामा जोड्नुपर्दछ।

८. ग्राफ्टिङ्ग गरी नयाँ बिरुवा उत्पादन गर्ने तरिका

एउटा बिरुवाको जरा तिरको भाग (रुट स्टक) र अर्को बिरुवाको फल्ने हाँगा (सायन) लाई जोडी नयाँ बिरुवा उत्पादन गर्ने प्रविधीलाइ ग्राफ्टिङ्ग भनिन्छ । दोश्रो नर्सरीमा तयार भएको बिरुवालाई रुट स्टकको रुपमा प्रयोग गर्नुपर्दँछ भने कुनै अर्को फलिरहेको बोटबाट पेन्सिल साईजको कम्तिमा ६ महिना पुरानो हाँगालाई सायनको रुपमा प्रयोग गर्नुपर्दछ । प्रयोग गरिने सायनमा कम्तिमा २ वटा बड वा आँखा हुनुपर्दछ । ग्राफ्टिङ्ग गर्ने धेरै तरिकाहरु मध्ये विप वा टङ्ग र साईड ग्राफ्टिङ्ग चाँहि किवी फलमा बढी प्रभावकारी र सफल हुने गरेको छ।

९. ग्राफ्टिङ्ग वा कलमी गर्ने प्रविधिहरू (Grafting Technique)
९.१. टङ्ग ग्राफ्टिङ्ग (Tongue Grafting)

यो प्रविधि किवीफलमा कलमी गर्ने प्रचलित प्रविधि हो । यो प्रविधिमा १ वर्ष उमेर पुगेको र पेन्सिल साईज गोलाई पुगेको रुटस्टकमा सोही साईज मिल्ने सायन जोडिन्छ । रुटस्टकको फेदबाट करिब ६ ईन्च माथि छड्के आकारमा (Slanting Cut) ३ देखि ६ से.मी. लामो काटिन्छ जसलाई Whip Cut भनिन्छ र त्यसको बीच भागमा चित्रमा देखाए जस्तै गरि चिर्नु पर्दछ जसलाई Tongue Cut भनिन्छ।

त्यस्तै सायनको फेदतर्फ पनि तेर्सो हुने गरि अथवा रुटस्टकको जस्तै आकारमा काट्नु पर्दछ र काटेको भागको बीचमा चिर्नु पर्दछ । त्यसपछि रुटस्टक र सायनको काटेको भागलाई एक आपसमा राम्रोसँग मिल्ने गरि काटेको भाग मिलाउनु पर्दछ । जोडेको भागमा हावा र पानी नपसोस भनेर ग्राफ्टिङ्ग टेपको सहायाताले कसिलोसँग बाध्नु पर्दछ । बाधीसकेपछि  हावा र घामबाट सुक्न नदिन बिरुवालाई छायाँमा राख्नुपर्दछ र नहल्लाईकन रोप्नुपर्दछ । सायन र जोडेको भाग ढाक्ने गरी प्लाष्टिक ब्यागले ढाक्नु पर्दछ।पालुवा पलाउन सुरु भएपछि ब्याग हटाउनु पर्दछ । यो प्रविधिबाट कलमी गर्दा बिरुवा पछिसम्म नभाचिने, बलियो रहने र काम गर्न सजिलो हुन्छ ।

९.२ साईड ग्राफ्टिङ्ग (Side Grafting)

रुटस्टकको ६ ईन्च माथि बाहिरी बोक्रामा ३ देखि ४ से.मी. तलतर्फ भित्री भाग काट्नुपर्दछ । जसलाई Inward Cut भनिन्छ । सायनको फेद भागमा एकातर्फ रुटस्टकको काटेको भागमा मिल्ने लामो काट्नुपर्दछ र अर्को तर्फ छोटो काट्नुपर्दछ । दुवै भागको बोक्रा र काठ मिल्ने गरि टास्नुपर्दछ।

त्यसपछि राम्ररी ग्राफ्टिङ्ग टेपले बाध्नुपर्दछ । यो प्रविधि पनि सजिलो नै छ तर यसको सफलता काम गर्ने सीप, बानी र अनुभवमा भर पर्दछ । यो प्रविधिबाट कलमी गरेको बिरुवाको ओसार पसार गर्दा र अन्य काम गर्दा ग्राफ्टिङ्ग गरेको ठाँउ भाँचिन सक्ने हुन्छ।

९.१.३ टप वर्किङ्ग (Top Working)

यो पनि एक प्रकारको बिरुवा उत्पादन गर्ने कलमी प्रविधि हो । ठूलो हुर्किसकेको बोटको टुप्पो भागमा कलमी गरिने भएकोले यसलाई टप वर्किङ्ग भनीएको हो ।

पुरानो बोटको जमिनबाट ६० से.मी. भन्दा माथि मोटो काण्ड करौंतीको सहयाताले काटिन्छ र त्यसमा ग्राफ्टिङ्ग प्रविधिबाट उपयुक्त सायन जोडिन्छ।

टप वर्किङ्ग गर्दा यदि ठुलो फेद भएमा Cleft Grafting र सानो फेद भएमा Side Grafting गरिन्छ ।हिउँदे फलफुलमा टप वर्किङ्ग गर्ने उपयुक्त समय पालुवा पलाउनु भन्दा अगावै वा बिरुवामा रस बग्न सुरु गर्ने समय अर्थात माघ महिनाको अन्तिम हप्ता देखि पाल्गुनको महिनाको पहिलो हप्तासम्म मात्र हो। यो समय पनि स्थान अनुसार फरक पर्न सक्दछ ।

 


  • 1.4K
  •  
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here