उखु किसानकाे कुराले संसद तात्याे

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडाैं – सरकारले उखुको समर्थन मूल्य तोक्न नसक्दा तीन लाख ५० हजार किसान प्रभावित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद हृदयेश त्रिपाठीले हरेक वर्ष कात्तिक मसान्तदेखि मङ्सिरको पहिलो साता उखुको समर्थन मूल्य तोकिने र उखु पेल्ने काम शुरु हुने भएपनि यस पटक त्यस्तो नभएकाले किसान प्रभावित भएकामा गुनासो गर्नुभयो ।

उहाँले सरकारले उखुको समर्थन मूल्य तोक्न नसक्दा किसान प्रभावित हुँदा उनीहरुका आश्रित परिवार समेत प्रभावित भएको भन्दै तत्काल मूल्य तोक्न आग्रह गर्नुभयो । सांसद पुष्पा भुसालले महिला हिंसाका घटना नियन्त्रण गर्न नसकेकामा सरकारको आलोचना गर्नुभयो ।

उहाँले कञ्चनपुरको निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म हत्यारा पत्ता नलाग्दा नागरिकमा निराश पैदा भएको भन्दै तत्काल अपराधीलाई पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गर्नुभयो ।

सरकारी बैंकको सेवा प्रभावकारी भएन

सरकारी लगानीका बैंक तथा वित्तीय संस्थाले नागरिकलाई प्रभावकारी सेवा दिन माग गर्दै सांसद रेनुका गुरुङले निजी बैंकको तुलनामा सरकारी बैंकलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

उहाँले सरकारी लगानीका बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा ल्याएका एटिएम मेसिनको सेवा प्रभावकारी नभएको, नागरिकले हैरानी मात्रै पाएकाले राष्ट्र बैंकले आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो । उहाँले एटिएम मेसिनमा पैसा नराखी नागरिकलाई दुःख दिने बैंकका कर्मचारीलाई कारवाही गर्नुपर्नेमा जोड दिनुभयो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!