काम लागेन कृषि प्राविधिकको सल्लाह,डढुवा रोगले गोलभेँडा सखाप

  •  
  •  
  •  
  •  
  •  
  •  

पर्वत,
चैत ९ – गोलभेँडामा डढुवा रोग देखिन थालेपछि पर्वतका गोलभेँडा किसान चिन्तित भएका छन । लटरम्म फलेर पाक्ने समयका गोलभेँडाका पातमा कालो दाग देखिने र एक सातामै बोट मर्न थालेको किसानले बताएका छन् ।

पर्वतको मोदी, पैयुँ, जलजला गाउँपालिका र फलेवास नगरपालिकामा गोलभेँडामा डढुवाको संक्रमण देखिएको हो । बारीमा मात्रै नभएर टनेलभित्रका गोलभेँडाका बोट धमाधम मर्न थालेपछि किसान आत्तिएका छन् ।

“अघिल्लो वर्ष टनेलको गोलभेँडा बेचेर दुई लाखसम्म आम्दानी गरेको थिए,” फलेवास– ६ देवीस्थानका ओमप्रसाद भुषालले भन्नुभयो,– “यसवर्ष पाक्ने बेलामा सबै सखाप भयो । लगानी उठ्न पनि मुस्किल छ ।”

फलेवास– ४ का थानेश्वर भुषालले डढुवा रोगको संक्रमण बढेपछि कृषि प्राविधिकको सल्लाहमा विभिन्न औषधि प्रयोग गरे पनि बोट मर्ने क्रम नरोकिएको बताउनुभयो । उहाँले दुई महिनादेखि डढुवा रोग निको पार्न विभिन्न विषादीको प्रयोग गरेको बताउनुभयो ।

लाखौं लगानी गरेर गोलभेँडाको खेती गरेका किसान डढुवा रोगका कारण निराश छन् । एउटा टनेल बनाउन १ लाख ५० हजारसम्म खर्च हुन्छ । दुई वर्ष लगातार डढुवा रोग लागेर गोलभेँडा मरेपछि हालसम्म लगानी जुटाउन नसकेको भुषाल बताउनुहुन्छ । खुलाबारीमा देखिएको डढुवा टनेलभित्रको गोलभेँडामा पनि फैलिएको हो ।

जलजलाका रामु सुवेदीले तीन रोपनीमा लगाएको गोलभेँडामा डढुवा फैलिएको बताउनुभयो । “विगतमा गोलभेँडाबाट पाँच लाखसम्म  अाम्दानी हुन्थ्यो,’ उहाँले भन्नुभयो, “बीउ र परिश्रम सबै खेर गयो ।” गोलभेँडाको बोट मरेपछि पारिश्रमिक उठाउन नसकेको उहाँको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मी मौसममा थोरै फेरबदल हुने वित्तिकै गोलभेँडा र आलुमा डढुवाले आक्रमण गर्ने बताउनुहुन्छ । खुला स्थानमा लगाइएको गोलभेँडामा छिटो आक्रमण गर्ने यो रोगले टनेलभित्र पनि असर गरेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!