संकटमा इलामको चिया व्यवसाय

इलाम – देशको अर्थतन्त्रमा महत्वपूर्ण भाग ओगट्दै आएको इलामको चिया व्यवसाय संकटमा परेको छ । मजदुर अभावका कारण हरियो पत्ती टिप्न समस्या भएपछि व्यवसाय संकटमा परेको हो । इलाममा २ वर्ष यता मजदुर अभावका कारण समयमै हरियो चियापत्ती टिपाई हुन छाडेको छ । ७ दिनभित्र अनिवार्य टिप्नुपर्ने हरियो पत्ती मजदुर अभावका कारण १५ दिनको फरकमा टिप्दै आएका छन् ।

इलामका अधिकांश क्षेत्रमा चिया रोपिएको भए पनि गाउँका युवाहरु उच्च शिक्षाका लागि शहर र रोजगारका लागि विदेश गएकाले मजदुर अभाव भएको पाइन्छ ।

जिल्लाका अधिकांश मानिसको आयस्रोत चिया खेती नै हो । चिया रोप्नेदेखि टिप्ने तथा काँटछाँटकालागि समेत दक्ष जनशक्तिको अभाव भएको छ ।

यसले गर्दा चियाको उत्पादन, प्रशोधन र बजारीकरणमा समस्या बढेको किसानहरु बताउँछन् । चियाबगानमा मजदुरी गरेर परिवार पाल्नै गाह्रो हुने भएकाले आफूहरुको अन्तिम विकल्प वैदेशिक रोजगारी नै भएको बताउछन ।

इलाममा मात्र तीन हजार तीन सय ९३ हेक्टरमा भइरहेको चियाखेतीबाट वार्षिक १५ हजार नौ सय ७१ मेट्रिक टन हरियो चियापत्ती उत्पादन हुने गरेको तथ्यांक छ ।

error: Content is protected !!