चिया उत्पादित साना किसानको विरुद्धमा विचौलिया

  •  
  •  
  •  
  •  
  •  
  •  

इलाम –

सूर्योदय नगरपालिकाले चियाको गुणस्तर कायम गर्न तथा हरियो पत्तीको मूल्यमा मनपरी हुन नदिन नयाँ कार्यविधि ल्याएपछि त्यसलाई असफल बनाउन बिचौलिया लागिपरेका छन् ।

चिया कारखाना र बिचौलिया आआफ्नै समिति बनाएर कार्यविधिविरुद्ध लागेपछि साना चिया किसान मारमा परेका छन् । चिया टिप्ने पहिलो सिजनमा हरियो पत्तीको मूल्य प्रतिकिलो ८० हाराहारी र त्यही वर्ष प्रतिकिलो २० रुपैयाँसम्ममा खरिद गर्ने कारखाना र बिचौलियाको रणनीति रोक्ने गरी नगरपालिकाले न्यूनतम मूल्य तोकेको थियो । ४० प्रतिशत नरम पात भएको पत्तीको न्यूनतम मूल्य ४० रुपैयाँ प्रतिकिलो कायम गरिएपछि कारखाना र बिचौलियाले कार्यविधि असफल बनाउन चलखेल गरेको नगरपालिकाले जनाएको छ ।

आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माले किसानको हितमा गरेको निर्णयलाई गलत भन्दै किसानलाई नै दुःख दिने प्रयास भइरहेको बताए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र सूर्योदय कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७४ को अधिनमा रहेर कार्यविधि जारी गरिएको उनको भनाइ छ । भने, ‘कार्यविधि कार्यान्वयनले चिया किसान र उद्यमीलाई दिगो फाइदा पुग्छ ।’ बिचौलियाले हरियो पत्तीमा प्रतिकिलो १० रुपैयाँसम्म कमिसन लिने गरेको जनाइएको छ ।

सूर्योदय नगरपालिका क्षेत्रमा हरियो चियापत्तीको उत्पादन, प्रशोधन, संकलन गर्ने व्यक्ति संघसंस्थालाई लक्ष्य गरी जारी गरिएको कार्यविधिमा पहाडी भूगोलको चियामा हुने मौलिक गुणस्तर कायम गरी चिया उत्पादन प्रशोधन गर्नु/गराउनुपर्नेछ । चियापत्ती भारत तथा तराईतर्फ र तराईबाट पहाडतर्फ ल्याएर प्रशोधन गर्न नपाइने कार्यविधिमा उल्लेख छ । ४० प्रतिशतभन्दा कम गुणस्तरको पत्तीको खरिद तथा बिक्रीलाई निरुत्साहित गरिने कार्यविधिमा छ ।

शर्माका अनुसार कारखानाले भने मापदण्डभन्दा तलको चिया खरिद नगर्ने सूचना प्रकाशन गरिसकेका छन् । भने, ‘निरुत्साहित गर्ने भनेको हो बन्द गर्ने भन्ने होइन, उद्योगले गलत व्याख्या गरेर किसानलाई आन्दोलित बनाउने प्रयास गरे ।’ चिया व्यवसायमा संलग्न कृषक, उत्पादक, संकलक तथा प्रशोधनकर्ता अनिवार्य नगरपालिकामा दर्ता भई हुनुपर्ने सर्त अघि सारेपछि बिचौलिया असन्तुष्ट भएको नगरपालिकाको बुझाइ छ ।

इलाम टी प्रोड्युसर्स प्रालि आइतबारेका प्रबन्धक ओम काफ्लेले कार्यविधिले चियाको गुणस्तर कायम गर्न सहयोग गर्ने बताए । कार्यविधिले तोकेको ४० प्रतिशत मुना भएको चियाको मापदण्ड पूरा गर्न अहिले सम्भव नहुने भएकाले जटिलता आएको उनको भनाइ छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!