विश्वविद्यालयको सफल परीक्षण : हिउँदमा पनि भैंसीको बिगौंती

चितवन, वैशाख ११ –

दूधको उत्पादनमा कमी हुने समयमा दूध उत्पादन वृद्धि गर्ने प्रविधिको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले सफल परीक्षण गरेको छ । सामान्यतया चैतदेखि असारसम्मको महिनामा भैँसी नब्याउने भएकाले यी महिनालाई दूध उत्पादनमा कमी आउने समयको रुपमा लिने गरिन्छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कार्यरत अनुसन्धानकर्ताहरुले विभिन्न मौसममा प्रजनन् शक्तिमा वृद्धि गरी भैसी ब्याउन सक्छन् भन्ने कुरा प्रमाणित गरेका छन् । भैँसीको डिम्बासयको नियमित परीक्षण गरी यसको कार्य क्षमताको अध्ययन, भैँसीको उचित व्यवस्थापन, पोषण र डिम्बासय जगाउने हर्मोनको प्रयोग गरेर गर्मी महिनामा भैँसी ब्याउने बनाउ सकिएको एसियन बफ्यालो एसोसिएसनका मुख्य अनुसन्धानकर्ता तथा प्रा.डा भूमिनन्द देवकोटाले बताउनुभयो ।

नेपाल सरकारबाट अनुसन्धानको लागि भनेर कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई अनुदान दिने गरेको छैन । विश्वविद्यालयले आन्तरिक बजेट व्यवस्थापनबाट अनुसन्धान गर्दै आएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक डा. नवराज देवकोटाले जानकारी दिनुभयो । कृत्रिम गर्भाधान गराउँदा पशु स्वास्थ्यको समेत ख्याल गर्नुपर्ने उहाँले बताउनुभयो ।

विश्वविद्यालयले अनुसन्धानबाट ५० प्रतिशत भन्दा बढी भैँसीहरु चैतदेखि असार महिनासम्म ब्याउन सक्छन् भनेर सफल परीक्षण गरेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा ईश्वरीप्रसाद ढकालले जानकारी दिनुभयो । विश्वविद्यालयले पशु तथा अन्नबालीमा विभिन्न अनुसन्धान र प्रसारका कामहरु गर्दै आएको छ ।

विश्वविद्यालयमा रहेका आठ वटा भैँसीमा गरिएको अनुसन्धानमध्ये पाँच वटा भैँसीमा सफल परीक्षण भएको छ । बैशाख पहिलो साता ब्याएका फार्म भित्रका पाँच वटा भैँसीले एक दिनमा १० लिटरसम्म दूध दिने गरेको अनुसन्धानकर्ताले बताएका छन् ।

Leave a Reply