सामुहिक टिमुर खेतीमा जुटे महिला

  • 72
  •  
  •  
  •  
  •  
  •  
    72
    Shares

स्याङ्जाको गल्याङ नगरपालिकाका स्थानीय महिलाले सामूहिक टिमुर खेती थालेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–१० को लाखुडाँडा र भिरालेका स्थानीय महिलाले यस्तो जमर्को गरेका हुन् । पचास घरधुरीले देवीभञ्ज्याङ टिमुर ब्यवसायी कृषक समूह गठन गरी सामूहिक टिमुर खेतीको थालनी गरेका हुन् । “अन्य खेती लगाउँदा बाँदरले नष्ट गरिदिने भएकाले हामी महिलाहरुको सक्रियतामा यस ठाउँलाई टिमुर खेतीको रुपमा विकास गर्न लागिपरेका छौं” समूहका अध्यक्ष खगीसरा गाहाले भने, “झाडीमा परिणत भएका बाँझो जग्गा भाडामा लिएर टिमुर खेती शुरु गरेका छौं ।”

महिलाहरुको सक्रियतामा डेढ हेक्टर क्षेत्रफलमा पहिलो चरणमा दुई हजार ४०० टिमुरका बिरुवा रोपिएका छन् । गाहाका अनुसार आगामी वर्षहरुमा क्षेत्रफल र बिरुवाहरु अझै विस्तार गर्दै लैजाने तयारी भइरहेको छ । टिमुरका लागि यहाँको हावापानी र माटो सुहाउँदो छ । पाखो तथा बाँझो रहेका जग्गाहरुको सही सदुपयोग गर्न सामूहिक टिमुर लगाउने निर्णय गरिएको बताउँदै गाहाले भने– “सामूहिकरुपमा महिला दिदीबहिनीहरु सँगसँगै काम गर्न पाउँदा नजानेका कुराहरु सिक्ने र ब्यवहारमै प्रयोग गर्ने बानीको विकास समेत भएकाले हामी खुशी र सन्तुष्ट पनि छौं ।”

लाखुडाँडा र भिराले गाउँ उत्तरतर्फ फर्केको उर्वरायुक्त पहाडी भू–भाग हो । बाँदरको समस्या तथा शहरीकरणसँगै यस ठाउँका केही घरहरु नजीकैको बजार वालिङ, बुटवल, पोखराजस्ता शहरहरुतर्फ बसाइ सरेका छन् । बसाइसराईका कारण बाँझिएका खेतीयोग्य जमीनमा अनावश्यक झाडी तथा बुट्यानहरु देखेर मनमा खिन्नता छाएकाले सामूहिक टिमुर खेती अभियान अगाडि बढाएको समूहका सदस्य लीला सारुले बताए । “झाडी र बुट्यान फडानी गरेर जमीनलाई पहिलेकै अवस्थामा ल्याई आधुनिक ड्रिल मेशिनमार्फत खाल्डा खनेर टिमुरका बिरुवा लगाएका छौं,” समूहका सदस्य सारुले भने– “आधुनिक मेशिनको प्रयोग र समूहमा मिलेर काम गर्दा छुट्टै अनुभव प्राप्त भएको छ । आखिर आँट नै ठूलो रै’छ । जस्तो सुकै कार्य पनि गर्न सकिँदो रहेछ ।”

वैदेशिक रोजगारी तथा बसाइँ सरी गएकाहरुलाई आफ्नै जन्मथलोमा फर्काएर केही गर्न सकिन्छ भन्ने उदाहरण देखाउन सामूहिक टिमुर खेती थालिएको स्थानीय युवा टेकबहादुर सिञ्जालीले बताए । “विदेशमा गएर पैसा यत्तिकै पाइन्छ भन्ने मानसिकता छ तर, त्यहाँ सोच्दै नसोचेका कडा परिश्रम र निरन्तर मेहनत गर्नुपर्छ,” सिञ्जालीले भने – “विदेशमा गर्ने परिश्रमलाई आफ्नै गाउँठाउँमा गर्न सकियो भने यहाँ नहुने केही छैन, प्रशस्त संभावना छ भन्ने उदाहरण यहाँका स्थानीय महिला समूहको सक्रियताले प्रष्ट पारेको छ ।” विशेष गरी महिला दिदीबहिनीहरुको सक्रियतालाई प्रोत्साहन दिँदै युवा जमातले पनि टिमुर खेती अभियानलाई सहयोग गरेको सिञ्जालीले बताए ।

गत वर्ष पनि डिभिजन वन कार्यालय स्याङ्जा र वडाको सहयोगमा यहाँ घर घरमा टिमुर लगाइएको स्थानीय युवा लक्ष्मण शाहीले बताए । गत वर्ष ६०० टिमुरका बिरुवा लगाइएको र अहिले डिभिजन वन कार्यालय स्याङ्जा र वडा कार्यालयको संयुक्त लगानीमा गाउँमै नर्सरी स्थापना गरी बिरुवा उत्पादन गरिएको छ । “नर्सरीमा जति बीउ छ¥यौं आशा गरे अनुसार उम्रिएन,” शाहीले भने– “यहाँ उम्रिएका बिरुवाले मात्रै नपुगेपछि टिमुरका बिरुवा खरिद गरी लगाएका हौं ।”

वडा कार्यालयले आधुनिक प्रविधिको खाडल खन्ने औजार उपलब्ध गराएका कारण पनि काम छिटो छरितो र सहज ढङ्गबाट भएको छ । स्याङ्जा जिल्लामै पहिलो पटक सामूहिक रुपमा व्यावसायिक टिमुर खेती शुरु भएको वडा नै गल्याङ– १० भएको वडाध्यक्ष ध्रुवप्रसाद शर्मा पंगेनीको दाबी छ । बाँदर तथा अन्य वन्यजन्तुका कारण बाली लगाए पनि उत्पादन लिन सक्ने अवस्था नभएपछि यस ठाउँमा स्थानीय बासिन्दालाई सामूहिक टिमुर खेतीतर्फ लाग्न प्रेरित गरेको वडा अध्यक्ष पंगेनी बताउँछन् । “वडाले धेरै ठूल्ठूला महत्वाकांक्षी योजना केही पनि सोचेको छैन र त्यस्ता योजना एउटा पनि बनाएको छैन,” वडाध्यक्ष पंगेनीले भने– “गाउँका जनतालाई कृषितर्फ आकर्षित गरी आत्मनिर्भर बनाउन वडाले सडक र कृषिमा बजेट विनियोजन गरेको छ ।” वडा अध्यक्ष पंगेनीका अनुसार प्राकृतिक सौन्दर्यले पनि महत्व राख्ने यस वडालाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने गरी टोल तथा वडा भेलाबाट योजनाहरु निर्माण गरिएका छन् । “उर्वर भूमि र प्रशस्त सिँचाइको सुविधा हुँदा हुँदै पनि बाँदरको समस्याका कारण बाली लगाएर उत्पादन लिन सक्ने अवस्था कम छ,” पंगेनीले भने– “कि त आलोपालो गरेर खेतबारीमै बसेर बाँदर कुर्नुप¥यो होइन भने बाँदरको समस्याबाट मुक्ति पाउन बाँदरले नखाने खालको खेती लगाउनुप¥यो । त्यसकारण टिमुर तथा कागतीको खेती शुरु गरिएको हो ।”

वडाका विभिन्न ठाउँमा माटो परीक्षण गरी टिमुर, कागती, अमला, कुरिलो तथा अन्य फलफूलका बिरुवाहरु लगाउँदै जाने योजनालाई निरन्तरता दिइने पंगेनीले बताए ।“मानव जीवनका लागि बहुपयोगी औषधीय गुणसँगै मसलाजन्य फलका रुपमा रहेको टिमुर यहाँका स्थानीयवासीले उत्पादन मात्रै गर्न सकेको खण्डमा त्यसको बजारीकरणको कुनै समस्या छैन,” पंगेनीले भने– “यसको नजीकैको बजार तथा अन्यत्र पनि माग बढी भएकाले मनग्य आम्दानी लिन सकिने संभावना मैंले देखेको छु ।”

यस गाउँमा घरबास (होमस्टे) सञ्चालनका लागि तयारी करीब पूरा भएकाले पनि पाखैभरि राताम्मे पाकेको टिमुर आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आकर्षण बन्ने विश्वास स्थानीय बासिन्दाको छ । यहाँ पर्यटकलाई कोशेली स्वरुप टिमुरको प्याकेट उपलब्ध गराउने लक्ष्यसहित देवीभञ्ज्याङ टिमुर यवसायी कृषक समूहले काम थालेको छ । एकपटक रोपेपछि वर्षौंसम्म उत्पादन लिन सकिने टिमुरको बजार माग अधिक रहेको बताइन्छ । यसको खेतीबाट मनग्य आर्थिक लाभ लिन सकिने र स्वास्थ्यका दृष्टिले उपयोगी भएकाले यस खेतीप्रति स्थानीय महिलाहरु आकर्षित भएका हुन् ।


  • 72
  •  
  •  
  •  
  •  
  •  
    72
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here