spot_img

अन्तर्राष्ट्रिय चिया प्रतियोगितामा नेपालको चिया सर्वोत्कृष्ट

काठमाडौं । चीनमा भएको अन्तर्राष्ट्रिय चिया प्रतियोगितामा नेपालको ‘ब्ल्याक टी’ सर्वोत्कृष्ट घोषित भएको छ। नेपालसहित, चीन, भारत, श्रीलंका र केन्यालगायत अन्य देशहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपालको ‘ब्ल्याक टी’ को एउटा नमूना सर्वोत्कृष्ट घोषित भएको हो।

उक्त नमूना इलामस्थित तीनजुरे चिया उत्पादक सहकारी संस्थाले उत्पादन गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले जानकारी दिए। उनले नेपालकै अन्य पाँच वटा ‘ब्ल्याक टी’ का नमूनाले स्वर्ण पदक र चार वटा नमूनाले रजत पदक जितेको बताए।

नेपालबाट १६ वटा ‘ब्ल्याक टी’ का नमूनाहरू प्रतियोगिताका लागि चीन पठाइएकाेमा तीमध्ये १० वटाले ऐतिहासिक पदक जितेको हो । पछिल्लो समय चीनले नेपाली चिया आयात गर्नेबारे चासो देखाएसँगै नेपालले गत भदौ २३ गते अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि १६ वटा ‘ब्ल्याक टी’ का नमूना चीन पठाएको थियो।

चीन, भारत, श्रीलंका र केन्या चियाका लागि विश्वमै ख्याति कमाएको देश भएकाले यो नेपालका लागि ऐतिहासिक उपलब्धि हो । चीन र भारत भनेको चियाको बादशाह हो। श्रीलंकाको चिया पनि विश्वमै राम्रो मानिन्छ। त्यसैले नेपालले पाएको यो उपलब्धि ऐतिहासिक हो, चिया क्षेत्रका विज्ञहरु भन्छन् । साथै यो उपलब्धिले नेपाली चिया चीनमा निर्यात गर्ने प्रक्रियालाई छिटो सम्पन्न गराउन थप बल प्रदान गर्नेछ ।

पछिल्ला समय भारतबाट नेपाली चिया आयात गर्ने कुरामा तारन्तार समस्या आउन थालेपछि नेपालले चिया निर्यात गर्नका लागि वैकल्पिक बजार खोज्न सुरू गरेको हो। सोही क्रममा भारतपछि चीन राम्रो विकल्प हुनसक्ने ठहर गर्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चीनमा नेपाली चिया निर्यात गर्न पहलकदमी सुरू गरेको थियो।

4 COMMENTS

Comments are closed.

ताजा समाचार

सम्बन्धित समाचार