गोलभेडा खेती प्रविधि

  • 3.7K
  •  
  •  
  •  
  •  
  •  
    3.7K
    Shares


परिचय;
गोलभेंडा (Tomato) सोलानासी (Solanaceae) परिवार अन्र्तगत पर्नेे नेपालको प्रमुख फल तरकारी हो । गोलभेंडाको उत्पत्ति दक्षिण अमेरिकाको पेरु, इक्वेडर र बोलिभिया क्षेत्रको एण्डिज पर्वतमालामा भएको मानिएको छ । गोलभेंडा न्यानो मौसममा उष्ण, उपोष्ण र शितोष्ण हावापानी भएको क्षेत्रमा खेती गरिने तरकारी बाली हो । गोलभेंडामा प्रशस्त मात्रामा खनिज पदार्थ, भिटामिन सि, फस्फोरस, क्याल्सियम, सोडियम, पोटासियम लगायत अन्य धेरै तत्वहरु पाईन्छ । गोलभेंडालाई तरकारीको रुपमा तथा सलादको रुपमा प्रयोग गर्नुको साथै यसबाट अचार, केचप, जुस पनि तयार गरेर प्रयोग गर्न सकिन्छ । नेपालका प्राय सबै जिल्लाहरुमा गोलभेंडा खेती गरिन्छ । उचित तापक्रम र आद्रता कायम गर्न सकेमा बाह्रै महिना खेती गर्न सकिने बाली भएकोले तरकारीमा यसको ठूलो महत्व छ । नेपालमा मौसममी खेती गर्दा यसको सरदर उत्पादकत्व १६ मे.टन प्रति हेक्टर रहेको छ भने लहरिने जातको प्लाष्टिक घरमा खेती गर्दा मध्य पहाडी क्षेत्रमा ६० मे.टन, उच्च पहाडी क्षेत्रमा ४० मे.टन र तराईमा नेट हाउसमा खेती गर्दा सरदर ८० मे.टन प्रति हेक्टर सम्म उत्पादकत्व रहेको पाइन्छ ।

गोलभेडाको पौष्टिक महत्व
गोलभेंडालाई पकाएर तरकारीको रुपमा अथवा काँचै सलादको रुपमा खाइन्छ । प्रति १०० ग्राम गोलभेडामा १८ क्यालोरी शक्ति पाइन्छ । गोलभेडामा ९५ प्रतिशत पानीको मात्रा हुन्छ । गोलभेडामा प्रशस्त मात्रामा भिटामिन सी, बायोटिन, मोलिब्लेडनम र भिटामिन के पाइन्छ । यसका अलाबा यसमा भिटामिन ए(बिटा क्यारोटिन), भिटामिन वी६, फोलिक एसिड (भिटामिन वि९, वायोटिन, भिटामिन सी, फस्फोरस, म्याग्नेसियम, रेशा आदि पाइन्छन् । यसमा अत्यन्त महत्वपूर्ण एन्टिअक्सिडेन्ट लाइकोपिन पाइन्छ जसको मात्रा बोक्रामा वढी हुन्छ । यो मुटु रोगीको लागि उपयुक्त, क्यान्सर रोक्ने क्षमता भएको , छाला स्बस्थ राख्ने गुण भएको फल हो । हाल बिश्वमा बिभिन्न किसिमका रंगिन तथा खाजाको रुपमा प्रयोग गर्नको लागि गोलभेडाको जातहरुको समेत बिकास गरिसकिएको छ ।

जातहरु
नेपालमा बागवानी अनुसन्धान महाशाखा खुमलटारद्धारा विकसित सृजना जातको गोलभेडाको मौसमी तथा बेमौसमी खेती बढ्दै गएको छ । यस लगायत नेपालमा खेतीका लागी करिव ३२ वटा गोलभेडाका जातहरु पन्जिकृत भई विभिन्न भौगोलिक क्षेत्रको लागि सिफारिस गरिएको छ । गोलभेडाको जात छनौट गर्दा सिफारिस क्षेत्र, बजारको माग, रोग तथा किरा सहन सक्ने गुण तथा प्रतिबोट उत्पादन, जातिय गुण तथा आवश्यक प्रविधिमा ध्यान दिन जरुरी छ ।

 

बीउ दर
गोलभेडा खेती गर्न एक रोपनी जग्गाको लागि ५ देखि ७ ग्राम वीउको आवश्यकता पर्दछ । (एक ग्राम राम्रो उमारशक्ति भएको वीउबाट सरदर १५० देखी २ सय सम्म बेर्ना उत्पादन हुन्छ ) ।

बेर्ना जमाउने तरिका
गोलभेडा नर्सरीमा बेर्ना जमाएर रोपिन्छ । जमिनमा नर्सरी राख्ने हो भने सकेसम्म गोलभेडा बर्गका गोलभेडा, भन्टा खुर्सानी बालीको खेती नगरेको माटोमा नर्सरी राख्दा राम्रो हुन्छ । नर्सरी १ मिटर चौडा र आबश्यकता अनुसार लम्बाईको बनाउन सकिन्छ । नर्सरी राख्दा प्रायः ब्याडमा राख्ने चलन भएतापनि स्वस्थ र बलियो बेर्ना उत्पादनको लागि प्लाष्टिकको थैलो वा बजारमा उपलब्ध सेल ट्रे÷प्लग ट्रेमा राखेमा स्वस्थ बेर्ना उत्पादन गर्न सहयोग पुग्दछ । बीउलाई माटो वा राम्ररी पाकेको कम्पोष्ट वा बालुवाले छोप्नुपर्छ । हजारीको सहायताले माटोमा चिस्यानको अबस्था बिचार गरी बेला बेलामा हजारीबाट हल्का सिंचाई गर्नु पर्दछ ।

बीउलाई १ भाग झोल मलमा ४ भाग पानी हालेर ६–७ घण्टा भिजाउँदा जराको वृद्धि विकासमा सहयोग पु¥याउँछ । यदि सेल ट्रेप्लग ट्रेमा विरुवा जमाउने हो भने कम्तीमा एक वर्ष पुरानो रोग तथा कीराको जिवाणु र झारपातको बीउ रहित कम्पोष्ट वा २–३ वर्ष काठको बोक्रा कुहाएर बनाएको कम्पोष्ट अथवा नरिवलको जटाबाट बनेको धुलो (growing media) मधुमास को प्रयोग गर्नु पर्दछ । यदि मधुमासको प्रयोग गर्ने हो भने आधा भाग मधुमासमा आधा भाग रोग तथा कीरा मुक्त गड्यौली मल वा पाकेको कम्पोष्ट प्रयोग गर्दा विरुवाको बृद्धि विकास राम्रो भएको पाइएको छ ।

चित्र: सेल ट्रे÷प्लग ट्रेमा जमाएको बिरुवा पोलिपटमा जमाइएको रोप्न तयार बिरुवा

बेर्ना रोप्ने समय
गोलभेडा खुल्ला खेतबारीमा बेर्ना लगाउने हो भने तराईमा भाद्र देखि पौष र मध्य–पहाडमा फाल्गुन महिनामा रोप्न सकिन्छ । प्लाष्टिक घरभित्र वेर्ना लगाउन मध्य–पहाडमा चैत्रदेखि भाद्र महिनासम्म उपयुक्त हुन्छ भने तराइमा भदौ असोज उपयुक्त महिना हो । प्लाष्टिक घरभित्र गोलभेडा खेती गर्दा उत्पादन आषाढ देखि कार्तिक महिना भित्रमा लिईसक्ने गरेर बेर्ना रोपेमा बजारमा सहज बिक्री बितरण गर्न सकिन्छ ।

हावापानी
गोलभेडाको गुणस्तरीय र राम्रो उत्पादन लिनको लागि न्यानो र सुख्खा मौसम उपयुक्त हुन्छ । यसले बढी वर्षा र तुषारो सहन सक्दैन । यसको खेतीको लागि सरदर २०–२४ डि.से. तापक्रम उपयुक्त मानिएको छ । गोलभेंडाको फल बढ्नका लागि र फल पाक्नका लागि १८–२७ डि.से. तापक्रम उपयुक्त हुन्छ । १२ डि.से. भन्दा कम तापक्रमले गोलभेंडाको सबै किसिमको वृद्धि विकासलाई प्रतिकूल असर गर्दछ । दिउँसोको तापक्रम २५ डि.से. र रातको तापक्रम १५–२० डि.से. भएमा राम्रो उत्पादन लिन सकिन्छ भने तापक्रम लामो समय सम्म ३५ डि.से. भन्दा माथि भएमा परागसेचनमा असर परी कम फल लाग्दछ ।

माटो
प्रायः सबैजसो माटोमा गोलभेडा खेती गर्न सकिने भएता पनि प्राङ्गरिक बस्तु (Organic Matter) प्रशस्त भएको उर्वर दोमट माटो गोलभेंडा खेतीका लागि उपयुक्त हुन्छ, माटोको पी.एच. ६ देखी ७ भएको, पानी नजम्ने माटो गोलभेडाको लागि उपयुक्त हुन्छ । पि.एच. मान कम भएमा गोलभेंडामा बिषेशगरि क्याल्सियम तत्वको लगायत अन्य तत्वको (नाईट्रोजन, फस्फोरस, पोटास, सल्फर, आदि तत्वहरुको उपलब्धता कम हुन्छ ।

मलखाद
गोलभेडाको उत्पादनमा मलखादको महत्वपूर्ण भूमिका हुन्छ । एक के.जी. गोलभेडा उत्पादन हुँदा विरुवाले नाइट्रोजन ६.१ ग्राम, फस्फोरस ७.० ग्राम, पोटास ७.४ ग्राम, क्याल्सियम ७.५ ग्राम, म्याग्नेसियम २.२ ग्राम र सल्फर ०.६ ग्राम आवश्यक पर्दछ ।
– खाद्य तत्वको प्रयोग गर्दा माटो परिक्षण गराई सन्तुलित खाद्यतत्वको प्रयोगमा ध्यान दिनुपर्दछ र सामान्यतया प्रति वर्ग मिटर जग्गामा आधा के.जी जति कृषि चुन प्रयोग गरेर जोत्ने र २०–२२ दिन जमिनलाई त्यतिकै छाडिदिने गर्नाले विरुवामा क्याल्सियमको कमीले टुप्पो कुहिने समस्या समाधान हुनाको साथै माटोको अवस्थामा सुधार ल्याउन सहयोग गर्दछ । चुनको प्रयोग गर्नु अगाडि माटो परिक्षण गरेर सिफारिस मात्रामा मात्र प्रयोग गर्नु लाभदायक हुन्छ ।
– माटोको उर्वरापन विचार गरी प्रति रोपनी जग्गामा १ सय के.जी. कुखुराको कुहिएको सुली, १५ सय के.जी. राम्ररी पाकेको गोबर मल, डी.ए.पी. १० के.जी., पोटास ५ के.जी., जिंक र वोरेक्स आधा–आधा के.जी. मिसाउनु उपयुक्त हुन्छ (जिंक तथा बोरोनको अत्याधिक प्रयोगले विरुवामा नकारात्मक असर पर्न जाने हुँदा एक वर्ष प्रयोग गरेपछि सामान्यतया २–३ वर्षसम्म प्रयोग गर्नु लाभदायक हँुदैन) ।
– माथिको मलखादको साथै एक रोपनी जग्गामा निम वा तोरी वा चिउरीको पिना २५ देखि ३० के.जी.को दरले माटोमा प्रयोग गर्नाले माटोमा रहेका धमिरा कमिला लगायतका कीरा कम गर्नका साथै निमाटोडको प्रकोप समेत कम हुन्छ ।
– यदि प्रति बोटको हिसाबले यदि मलखाद प्रयोग गर्ने हो भने ५ के.जी कम्पोष्ट, २५ ग्राम डि.ए.पी, १० ग्राम पोटास, बोरेक्स, जिंक आधा–आधा ग्राम प्रयोग गर्ने । बेर्ना सार्नुभन्दा एक हप्ता अगाडि ३० से.मी गहिरो र ४० से.मी चौडा कुलेसो बनाई उपरोक्त मल प्रयोग गर्दा विरुवालाइ फाइदा पुग्दछ ।
– मलखादको समुचित प्रयोगको लागि माटो परिक्षण गराएर सिफारिस मात्रामा प्रयोग गर्नु अत्यावश्यक हुन्छ ।
– गोलभेडाको उत्पादन बढाउन विरुवा रोपेको २ महिना जति पछि, नाइट्रोजन.र पोटास क्रमशः १० ग्राम,१० ग्रामको दरले दिनु पर्दछ । गोलभेडामा तोरीको पिना तथा बायोग्याँसको लेदोको प्रयोगले उत्पादन बढाउन सहयोग गर्ने हुनाले विरुवाको अबस्था विचार गरी प्रति बोट ३० ग्राम पिना र १ के.जी गोबर ग्याँसको लेदो प्रयोग गरी माटोले छोप्दा उत्पादन बृद्धिमा सहयोग गर्र्दछ । तर गोलभेडा बालीमा अत्याधिक मात्रामा नाइट्रोजनको प्रयोग भएमा फूल कम लाग्ने, पातहरुवाट हाँगा निस्कने तथा विरुवाको अन्तरगाँठोको लम्बाइ मात्र बढी उत्पादन घट्ने समस्या हुने हुनाले आवश्यक मात्रा बिचार गर्न जरुरी हुन्छ ।
हाल नेपालमा थोपा सिचाइ प्रणालीबाट पानी तथा माटोमा घुलनशिल मलखाद प्रयोग गर्ने चलन बढिरहेका सन्दर्भमा माटो रहित विभिन्न मिडिया तथा माटो सहितको गोलभेडा खेतीको लागि निम्नानुसार खाद्यतत्वहरुको प्रयोग गर्न सकिन्छ

बेर्ना रोप्ने अवस्था तथा दुरी
गोलभेडाको साधारणतया ४ देखि ५ पात आएको स्वस्थ विरुवा रोप्न योग्य हुन्छ । जमिन तयारी गरिसकेपछि जमिनभन्दा १५ देखी २० से.मी. अग्लो ड्याङ बनाई दुई ड्याङको बिचमा ४० से.मी. बाटो राख्ने र ड्याङमा एक बोटदेखि अर्को बोटको दुरी ५० देखि ६० से.मी र एक लाइनदेखि अर्को लाइनको दुरी ७० देखि ८० से.मी.राखी प्रति ड्याङ दुई लाइन विरुवा रोप्ने र हल्का सिंचाई दिने कार्य गर्नुपर्छ । विरुवाको दुरी जात तथा माटोको उर्वरापन , तालिम तथा काँटछाँट बिधिमा निर्भर हुन्छ । होचो हुने जातलाई डयाङ्ग देखि डयाङ्गको दुरी ६० से.मी र बोट देखि बोटको दुरी ४० से.मी. राख्दा उपयुक्त हुन्छ । अग्लो हुने जात यदि दुई काण्डिय प्रणालीमा लैजाने हो भने डयाङ्ग देखि डयाङ्गको दुरी ६० से.मी र बोट देखि बोटको दुरी ६० से.मी. कायम राख्नु पर्छ । एक काण्डिय प्रणालीमा लैजाने हो भने बोट देखी बोटको दुरी ४० से.मी. राख्दा हुन्छ । दुइ कान्डिय प्रणालीमा लैजाँदा एक काण्डिय प्रणाली भन्दा बिरुवालाइ बढी मात्रामा खाद्यतत्व आबश्यकता पर्ने हुँदा राम्रो उत्पादनको लागि खाद्यतत्व ब्यवस्थापनमा ध्यान दिन विशेष जरुरी हुन्छ ।

गोडमेल तथा सिँचाई
झारपातको प्रकोपकलाई बिचार गरी बेला बेलामा झारपात हटाउने कार्य तथा चिस्यानको मात्रा बिचार गरेर पानी दिने गर्नुपर्दछ । गोलभेडालाई फूल फुल्ने, फल लाग्ने तथा मलखादको प्रयोग गरिसकेपछी पानीको आवश्यकता पर्दछ । माटोमा चिस्यान मात्रा कायम हुने तर पानी नजम्ने गरी आवश्यकता हेरी बेला बेलामा सिंचाइ गर्नुपर्छ । यदि गोलभेडा खेतीमा झारपातको प्रकोप कम गरी उत्पादन बृद्धि गर्ने हो भने थोपा सिंचाइ र Silver lining भएको प्लाष्टिक मल्च प्रयोग गर्दा राम्रो हुन्छ । पानी तथा मलखादको उचित ब्यबस्थापनको लागि थोपा सिचाइ प्रणालीको प्रयोग गर्नु लाभदायक हुन्छ ।

तालिम / काँटछाँट र थाँक्रा दिने
तालिम तथा काँटछाँटले सूर्यको प्रकाश तथा हावाको सञ्चार एवं खाद्यतत्वको समुचित सदुपयोग गराई गोलभेडाको उत्पादनमा वृद्धि गर्न सहयोग गर्दछ । गोलभेडालाई लहरिने÷फुल फुल्दै फल्दै गर्ने÷छिमलमा फल्ने ( Indeterminate)  र नलहरिने ÷फुल फुलेपछि बोट नबढ्ने ( Determinate) जातमा बर्गिकरण गरिएको छ । साधारणतथा नलहरिने जातलाई त्यति धेरै तालिम तथा काँटछाँटको आवश्यकता नपरेतापनि ३ देखि ४ बटा काण्ड राखेर बाँकी हटाउँदा उत्पादन राम्रो हुन्छ । लहरिने जातलाई एक काण्डिय वा दुई काण्डिय प्रणालीबाट तालिम गर्न सकिन्छ । एक काण्डिय प्रणालीमा लैजान मुख्य काण्ड बाहेक अरु सबै मुना प्रत्येक दिन निरिक्षण गरी हटाउनुपर्छ ।

दुई काण्डिय प्रणालीमा लैजाने हो भने जमिनबाट करिब ३० देखि ४० से.मी. वीचबाट आएको एउटा सहायक मुना राखेर अन्य मुना हटाई मुख्य काण्ड र उक्त मुनालाई बढ्न दिनु पर्दछ । विरुवा रोप्ने बेलामा प्रत्येक ४ वटा विरुवाको बिचमा पर्ने गरेर ठाडा २.५ मी अग्ला दह«ा भाँटा राख्ने र विरुवा १ महिनाको भएपछि शुरुमा ३० से.मी.को फरकमा र त्यसपछि ४५ से.मि. फरकमा तेर्सा भाटा राखेर थाँक्रा दिने कार्य गरी गोलभेडालाई डोरीले भाटामा बाँध्नुपर्छ । भाटा राख्दा बाँसको चिल्लो भाग बिरुवातर्फ फर्काउन पर्दछ । थाँक्राको सट्टा गोलभेडालाई यू भि डोरीमा मात्र पनि फलाउन सकिन्छ । यसको लागि गोलभेडालाई थाँक्राको रुपमा बलियो प्लाष्टिकको यु.भी.डोरीमा तालिम गर्नुपर्दछ । यसरी यु.भि. डोरीमा तालिम गर्दा प्रति इकाई उत्पादन लागत घटाउन सकिने कुरा अध्ययन तथा कृषकहरुको अनुभवबाट पाइएको छ ।

गोलभेडा खेतीको अन्य व्यवस्थापन
१) विरुवा सरेपछि १० देखी १५ दिनको फरकमा झोलमल १ भागमा ६ भाग पानी मिसाएर छर्नुपर्छ वा १ भागमा ४ भाग पानी मिसाएर फेदबाट २–३ इन्च पर वरिपरी पर्ने गरी जरा भिजाउनुपर्छ वा यसो गर्न सम्भव नभएमा प्रत्येक १० दिनको फरकमा एक भाग गहुँतमा भैसीको पिसाब हो भने ५ भाग पानी, गाईको छ भने ६ भाग पानी र मानिसको छ भने १० भागसम्म पानी मिसाई प्रयोग गर्नुपर्छ । थोपा सिँचाइको सेट उपलब्ध छ भने विरुवाको जरामा पिसाब पानीको घोल ७ देखि १० दिनको फरकमा सेटबाट दिनु राम्रो हुन्छ । यसो गर्दा विरुवामा रोग किराबाट लड्ने क्षमताको विकास हुनुको साथै उत्पादनमा समेत बृद्धि हुन्छ ।


२) यदि प्लाष्टिक मल्च नहालीकन लगाइएको विरुवा हो भने विरुवा सरेपछि गाउँघरमा उपलब्ध हुने तितेपाती, बनमारा, असुरो, खिर्रो आदि ( तिता, पिरा ,टर्रा गन्ध आउने बनस्पति जे उपलब्ध हुन्छ) लाई १–२ इन्चको टुक्रा बनाई ५–७ दिन ओइलाएर गोलभेडाको फेद नछुने गरी ड्याङमा हालेमा धमिरा, कमिलाको प्रकोप न्युनिकरण गर्न तथा विभिन्न ढुसीजन्य रोगका माटोमा रहेका जिवाणुलाई कम गर्न सहायता पुग्छ ।

३) माटोमा छुन लागेका तथा पुराना पात कैचीको सहायताले काट्नुपर्छ । पात हटाउँदा फललाई छोपेको पात सकभर हटाउनुहुदैन । प्रत्येक पटक पात तथा मुना हटाउँदा कैचीलाई ढुसीनाषक विषादीमा डुबाएर प्रयोग गर्ने र मुना काटिसकेपछि २ ग्राम कपर अक्सिक्लोराइयुक्त विषादी १ लिटर पानीमा मिसाएर बोट भिज्ने गरी छर्नुपर्छ वा झोलमल छर्नुपर्दछ ।
४) विरुवामा फूल फूलेर फल फल्न शुरु गरेपछी फलको अबस्था हेरेर मल्टिप्लेक्स वा टोमाटो स्पेशियल वा अन्य सुक्ष्म तत्व ४–५ पटक छर्नुपर्छ ।
५) विरुवा लगाएको २०–२५ दिन पछिबाट पहेँलो स्टिकी ट्रयाप १०–१२ वटा प्रति टनेल राख्नुपर्छ । जसले गर्दा सेतो झिँगालगायत अन्य चुसाहा किराको उपस्थिति पत्ता लगाई बेलैमा नियन्त्रण गर्न सहयोग पुग्दछ ।

६) गोलभेडा टिप्दा कम क्षति पु¥याउने किसिमबाट कैचीको सहायताले भेट्नो सहित टिप्नुपर्छ ।
७) बोटको जरामा गाँठा बनाउने, जुका देखापरेमा पछिल्लो अवस्थामा नियन्त्रण गर्न कठिन हुने हुँदा गोबरग्याँसबाट निस्केको लेदो गोबरमल प्रति बोट ५ सय ग्राम जतिको दरले फेदबाट २–३ इन्च वरिपरी राखी माटोले छोपेको खण्डमा माथिबाट जराको वृद्धि विकास हुन मद्धत पु¥याई उत्पादनमा ह«ास हुनबाट बचाउँछ ।
८) बाह«ै महिना एवं लगातार टनेल भित्र, वाहिर वा नेट हाउस भित्र गोलभँेडाको खेती गर्दा रोग किराको प्रकोप बढ्न जानुको साथै माटोको अवस्था पनि बिग्रन जाने हुँदा गोलभेडा लगाएपछि भटमास वा अन्य दालबाली परिवारको बाली लगाई फूल फुल्ने अवस्थामा पुगेपछि माटोमा जोतेर छोडिदिनु राम्रो हुन्छ । एकचोटि गोलभेडा लिइसकेपछि प्लाष्टिक तथा बाँसका थाँक्राहरू हटाएर सयपत्री फूल वा तोरी रोपी १–१.५ महिनाको भएपछि माटोमा मिलाइ सेतो प्लाष्टिकले ३०–४२ दिन छोपेर माटोमा मिसाउनाले निमाटोड तथा अन्य माटोमा रहेका कीरालाइ नियन्त्रण गर्न सहयोग गर्दछ । हाल बजारमा उपलब्ध (नानो सिल्भर सिल्भर पार्टिकल र हाइट्रोजन पेरोअक्साइड युक्त बिषादी) को प्रयोगबाट समेत माटोको निर्मलीकरण गर्न सकिन्छ ।
९) विरुवा पहेलो हुँदै गएमा र उत्पादनमा ह«ास आउन थालेमा दुई लाइनको बिचमा जरा नखल्बलिने गरी ५ से.मी जति गहिरो लामो खाडल खनी ५–७ दिन कुहाएको पिना प्रति बोट ३० ग्रामको दरले दुई लाइनको बिचमा प्रयोग गर्नुपर्छ । गोवरग्याँसबाट निस्केको कुहिएको लेदो छ भने प्रतिबोट आधा के.जी जति परिमाणमा हुने गरी लाइनमा पिनासँगै हाल्ने र सिँचाई गर्नुपर्छ ।
१०) विरुवामा खाद्यतत्व (नाइट्रोजन, फस्फोरस र पोटास) को सन्तुलित रूपमा प्रयोग नभएमा रोग कीराको आक्रमण बढी हुने हुँदा सन्तुलित खाद्यतत्वको प्रयोगमा सधै ध्यान दिनुपर्छ । नाइट्रोजन तत्वको बढि प्रयोगले विरुवाको छिटो वृद्धि गराई विरुवा कमजोर बनाउने हुनाले रोग कीराको आक्रमण बढी हुन्छ । साथै गोलभेडालाई सूर्यको प्रकाशको पनि अधिक आवश्यकता पर्ने हुँदा उचित रूपमा प्रकाश छिर्न सक्ने गरी प्लाष्टिक घरको निर्माण गर्ने र विरुवाको बिचमा हावाको सञ्चार हुन सक्ने गरी विरुवाको दुरी कायम गर्नुपर्छ ।

उत्पादन
यदि लहरिने जात जस्तै श्रृजना जातको गोलभेडा लगाईएको छ र उचित व्यवस्थापन गरिएको छ भने नेट हाउस वा अन्य संरचनाभित्र प्रतिबोट सरदर ८ देखिसम्म उत्पादन लिन सकिन्छ (प्रति रोपनी ६ हजार ४ सयदेखि ८ हजार के.जी.सम्म) । प्लाष्टिक घरको प्रयोग नगरी खुल्ला ठाउँमा खेती गरिएको छ भने प्रति बोट सरदर २ देखी ३ के.जि. ( प्रति रोपनी दुई हजार चार सय देखी तीन हजार के.जि )सम्म उत्पादन लिन सकिन्छ ।

खेती खर्च र आम्दानीको बिश्लेषण

नोट ः माथिको खेती खर्च र आम्दानीको विश्लेषण कृषि ब्यवसाय तथा बजार अनुसन्धान कार्यक्रम हरिहरभबनले खुला खेतवारीमा गोलभेडा खेतीको लागि तयार गरिएको तालिकाको परिमार्जित रुप हो ।
यदि तराइको जिल्लामा कम्तिमा ७ देखी ८ महिना सम्म गोलभेडा फलाउने हो भने नेट हाउस,प्लाष्टिक मल्च तथा थोपा सिचाइको जरुरी पर्दछ जुन सुविधाको लागि प्रति बर्ग मिटर सरदर ११०० रुपैयाँ थप खर्च लाग्दछ । मध्य पहाड र उच्च पहाडमा बाँसको प्लाष्टिक घरमा थोपा सिंचाई र प्लाष्टिक मल्च सहित खेती गर्न सरदर प्रति बर्ग मिटर रु ६०० थप खर्च लाग्दछ भने नेचुरल्ली भेन्टिलेटेड प्लाष्टिक घरमा प्रति बर्ग मिटर रु २४०० जति थप खर्च लाग्दछ । संरचनामा खेती गर्दा बेमौसमी खेती हुने हुनाले केही महंगो मूल्यमा बिक्रि गर्न सकिनाको साथै उचित ब्यवस्थापनबाट तीन गुना भन्दा बढी उत्पादकत्व बृद्धि गर्न सकिन्छ । संरचनामा खेती गर्ने कृषकले आफ्नो भूगोल सुहाउँदो संरचना छनौट, जात छनौट तथा आबश्यक प्रविधि छनौटमा ध्यान दिन अत्यन्त जरुरी हुन्छ ।

बजार ब्यबस्थापन
खेतीको थालनी गर्नु अगाडी आफुले उत्पादन पुर्याउने बजारको पहिचान, त्यहाँका उपभोक्ताको रुची ,बजारमा बर्षभरि गोलभेडाको माग, आपूर्ति र मुल्य जस्ता कुरामा ध्यान दिएर खेती गरेमा मात्र बजार ब्यवस्थापन प्रभावकारी रुपबाट गर्न सकिन्छ ।

लेखक काफ्ले बरिष्ठ बागबानी बिकास अधिकृत हुनुहुन्छ र हाल युनिभर्सिटि अफ साउथ अष्ट्रेलिया, अष्ट्रेलियामा अध्ययनरत हुनुहुन्छ ।


  • 3.7K
  •  
  •  
  •  
  •  
  •  
    3.7K
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here