शहरी तरकारी तथा फलफूल खेती प्रविधि

  • 431
  •  
  •  
  •  
  •  
  •  
    431
    Shares

 परिचय
सामान्य अर्थमा शहरी तरकारी तथा फलफूल खेती भन्नले खेती गर्ने जमिनको अभाब रहेको घना बस्ती भएका शहरी वा शहरउन्मुख क्षेत्रमा परिवारको दैनिक तरकारी तथा केही मात्रामा फलफूलको आवश्यकता पूर्ति गर्नको लागि गरिने तरकारी, फलफूल तथा मसलाबालीको शहरी क्षेत्रभित्र उपलब्ध प्रकाश, प्रविधि आदिको व्यवस्थित रुपमा गरिने खेतीलाई समेत बुझिन्छ । हाल आएर यस प्रबिधिको नेपालको शहरी क्षेत्रमा लोकप्रियता बढ्दै गएको पाईन्छ ।
फाइदाहरू
– परिवारको इच्छा अनुसारको स्बच्छ एवं ताजा तरकारी तथा फलफूल आपूर्ति हुने
– दैनिक तरकारी तथा फलफूल किन्नको लागि लाग्ने पैसा तथा समयको बचत हुने
-दैनिक भान्साबाट निस्कने कुहिने फोहरमैलाबाट मल निर्माण गरी वाताबरण प्रदुषण नियन्त्रण तथा     शहरी क्षेत्रमा हरियाली प्रर्बद्धन हुने
– फुर्सदको समयको सदुपयोग हुने
– शारिरिक तथा मानसिक तन्दुरुस्ती मिल्ने
– उपत्यका भित्र मात्र करिव ४० लाखभन्दा बढी जनसंख्या वसोवास गर्ने सन्दर्भमा एक ब्यक्तिलाई स्वस्थ जीवनयापनको लागि दैनिक ३२५ ग्राम तरकारी आवश्यक (जरे ७५ ग्राम, कोसे ७५ ग्राम, फल ७५ ग्राम र सागपात १०० ग्राम ) जस अनुसार उपत्यकामा बसोवास गर्ने जनसंख्याको दैनिक तरकारीको आवश्यकता १३०० मे.टन रहेको सन्दर्भमा उपलब्ध प्रविधि, श्रोत, हावापानी र विविधताको उपयोग गरि घरायसी आवश्यकताको ३० प्रतिशत भन्दा बढी अंश पुरा गर्न सकिने ।

शहरी तरकारी तथा फलफूल खेतीको लागि स्थानको छनौट
शहरी खेतीका लागि प्रशस्त घाम लाग्ने तथा सजिलैसँग पानी दिन सकिने तथा गोडमेल गर्न सकिने, निकासको उचित प्रबन्ध भएका तल उल्लेखित ठाउँहरु उपयुक्त हुन्छन् :
घरको छत
घरले थाम्न सक्ने तौललाई ध्यानमा राखी खुल्ला छतमा माटो वा अन्य विरुवा हुर्काउन सकिने पदार्थहरू (Medium) जस्तै कोकोपिट र माटो वा प्रांगारिक मलको मिश्रण राखी खेती गर्न सकिन्छ ।
– घरको बरण्डा
पक्की घरमा घर अनुसार निकालिएका कौसीहरू (Balcony) मा उपयुक्त–आकारका भाँडा गमला, फ्रेम, बाकस तथा अन्य संरचना राखी तरकारी खेती गर्न सकिन्छ ।
– घरको कौसी
कौसी वा बरण्डाको रेलिङ्ग
घर–कम्पाउण्डको पर्खाल
करेसावारी
साना संरचनामा आधारित ब्यवस्थित उत्पादन

शहरी खेतीका प्रचलित प्रकारहरु
शहरी खेतीलाई साधारण रुपमा संरचनामा आधारित र माटोमा आधारित गरी २ बर्गमा विभाजन गर्न सकिन्छ
१. संरचनामा आधारित
१.१ स्थानिय स्तरमा उपलब्ध
यसमा प्लाष्टिक, बोरा, काठका बाकस, माछा प्याकिंग भएर आउने स्टाइरोफोम, गमला, प्लाष्टिकका बोतल जस्ता परम्परागत संरचना पर्दछन्
१.२ आयातित संरचना
यसमा प्लाष्टिकका ग्रो ब्याग, सिल्पाउलिनवाट बनेका विभिन्न आकार प्रकारका संरचना आदि पर्दछन्
१.३ उच्च प्रविधिमा आधारित संरचना
यसमा हाल आएर नेपालमा अबलम्वन भएका माटोविनाका खेती प्रविधि जस्तै पानीमा खाद्यतत्व दिइ गरिने खेती, माछामा आधारित खेती, विभिन्न मिडिया (कोकोपिट, पर्लाइट, भर्मिकम्पोष्ट) जस्ता पाइप प्रयोग गरि गरिने खेती पर्दछन् ।

२. माटोमा आधारित खेती
यसमा स–साना करेसावारी तथा पर्खालको छेउमा उपलब्ध माटोको प्रयोग गरी खेती गर्ने तथा गमला लगायतका संरचनामा माटो प्रयोग गरि गरिने खेती पर्दछ जुन धेरैजसो शहरी बासिन्दाहरुले अबलम्वन गरेको पाइन्छ । यसका अलावा शहरभित्र टनेल लगायतका संरचनामा आधारित खेतीलाइ समेत माटोमा आधारित खेतीले समेट्दछ ।

खेतीका लागि संरचनाको छनौट
माटोको गमला, विस्कुटका खाली टिन, आधा काटिएका ड्रम, मालसामान प्याक भएर आएका काठका बाकस, माछा प्याकिंग भएर आएका स्टाइरोफोम, पुराना बोरा र प्लाष्टिका थैला आदि कौसी खेतीमा प्रयोग गर्न सकिने संरचना हुन् । यी भाडाहरूको साइज र आकार फरक हुन सक्दछन् । त्यसैले लगाइने तरकारीको बोटको फैलावटका आधारमा भाडोको छनौट गरिनु पर्दछ । साधारणतया ३० से.मी. देखि ४५ से.मी. ब्यास भएको गमला वा प्लाष्टिकको थैला, बोरा आदि प्रयोग गर्नु बढी व्यावहारिक देखिन्छ ।

यी भाँंडाहरूको पिंधमा पानी निथ्रेर जाने स–साना प्वालहरू हुनु आवश्यक छ । खर्चको दृष्टिकोणले प्लाष्टिक थैला वा बोरा सबैभन्दा सस्तो पर्दछ । तर यो एक पटक मात्र प्रयोग गर्न सकिन्छ । गमला, काठको बाकस र सिमेन्टका संरचना महंगो पर्दछन् तर पटक पटक प्रयोगमा ल्याउन सकिन्छ । तसर्थ शहरी फोहोर ब्यवस्थापन समेत गर्न सकिने गरी उपलब्ध संरचनाको प्रयोगमा ध्यान दिइ खेती गर्न सकेमा अधिक फाइदा लिन सकिन्छ ।

बालीको छनौट
साना संरचना तथा कौसीमा खेती गर्न बाली छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरु
जरा सकभर कम फैलने खालको तथा जरा कम गहिराईमा सिमित रहने
छिटो उत्पादन दिने
लामो समयसम्म उत्पादन दिने
बोट धेरै नझाङ्गिने
ब्यवस्थापन गर्न सहज हुने तथा पटक पटक उत्पादन गर्न सकिने
साना संरचना तथा करेसाबारीमा उपयुक्त केही फलफूल तथा तरकारीहरु
खेती गरिने स्थानको हावापानी, मोहडा तथा उपलब्ध संरचनालाई बिचार गरी शहरी खेतीमा निम्न प्रकारका फलफूल तथा तरकारी बालीहरु खेती गर्न सकिन्छ ।

यस बाहेक जिरीको साग, चुकन्दर, लट्टे,थाइ पालुंगो जस्ता तरकारी बाली समेत लगाउन सकिन्छ ।
खेतीका लागि माटो ब्यबस्थापन
यदि करेसाबारीमा तरकारी खेती गर्ने हो भने लगाउने बाली अनुसार पि एच ६ देखी ७ सम्म भएको, पानी नजम्ने बलौटे दुमट माटोमा तरकारी तथा फलफूलको उत्पादन राम्रो हुन्छ,। माटो उपयुक्त छैन भने पनि बजारमा उपलब्ध मधुमास (cocopeat) तथा प्र्रांगारिक मल र गड्यौली मलको प्रयोग गरी माटो सुधार गर्न सकिनाका साथै प्रांगारिक पर्दाथको उपलब्धता बढाई माटोमा जैविक कृयाकलाप बढाउन सकिन्छ । माटो विरुवा अडिने आधार मात्र हो तसर्थ त्यसमा विरुवालाई आवश्यक खाद्यपदार्थ दिन सकेमा मात्र राम्रो उत्पादन लिन सकिन्छ भन्ने कुरामा ध्यान दिन सबै कौसी खेती गर्ने ब्यक्तिले ध्यान दिन जरुरी छ । माटोमा बायुमण्डलीय नाइट्रोजनको मात्रा थप्न कोसेबालीको बाली चक्र अपनाएमा उत्पादकत्व वृद्धि गर्न सकिन्छ ।
माटो छनौट गर्दा निम्न कुरामा ध्यान दिन आवश्यक हुन्छ:
– माटोको प्रकार तथा लगाउने बालीको आवश्यकता
– माटोमा रहेको प्रांगारिक पदार्थको अवस्था (सामान्यतया माटोको रंगलाई बिचार गरेर)
– माटोको अम्लियपना वा क्षारियपनाको अवस्था
– माटोबाट सर्ने रोग तथा कीराको अवस्था (पहिला भएको बाली तथा तिनमा लागेको रोग कीराको अवस्था बिश्लेषण गरेर)
यस किसिमको प्रविधि माटोमा सघन रुपबाट तरकारी खेती गरिने प्रबिधि भएकोले समुचित रुपमा मलखादको ब्यबस्थापन गर्न अत्यावश्यक हुन्छ । मलखादको प्रयोग गर्दा लगाईएको तरकारी बालीको किसिम, आवश्यक मलखादको मात्रा आदि कुरालाई ध्यान दिन आवश्यक छ अन्यथा अपेक्षित रुपमा उत्पादन लिन सकिदैन । खेर गएका सड्ने बस्तु कुहाई घरमै मल बनाउनाको साथै बजारमा उपलब्ध बिभिन्न प्रकारका प्रांगारिक मल तथा आवश्यक खाद्यतत्व आपूर्ति गर्न रासायनिक मलको समेत प्रयोग गर्न सकिन्छ । यसका अलावा हाल बजारमा विभिन्न संरचनाका लागि हलुका रुपमा तथा लामो समय सम्म खेती गर्न मधुमास(कोकोपिट) तथा गड्यौली मल तथा विभिन्न प्रांगारिक मल समेत उपलब्ध छन् । विरुवालाई आवश्यक खाद्यतत्वको लागि सडेर जाने फोहोर कुहाएर घरमै राम्रो मल बनाउन ध्यान दिन जरुरी हुन्छ ।
शहरी खेतीमा खाद्यतत्व ब्यवस्थापन
विरुवाका आवश्यक खाद्य तत्वहरुको अभावमा विरुवाले आफ्नो जीवन चक्र पुरा गर्न सक्दैन, एउटा तत्वको अभावमा त्यस तत्वले गर्ने काम अर्को तत्वले गर्न सक्दैनन तथा ति तत्वहरुले विरुवाको वृद्धि तथा विकासमा सोझै असर पार्दछन तसर्थ विरुवाको समूचित खाद्यतत्व ब्यवस्थापनमा सदैव ध्यान दिन जरुरी हुन्छ ।

खाद्यतत्वको वर्गिकरणः
विरुवालाई आवश्यक खाद्यतत्वको मात्राको आधारमा खाद्यतत्वलाइ निम्नलिखित तहमा बर्गीकरण गरिएको छ :
प्राथमिक खाद्य तत्व : कार्वन ,हाइड्रोजन, अक्सिजन जुन हावा तथा पानीवाट प्राप्त हुन्छन् ।
मुख्य तत्व :  नाइट्रोजन, फस्फोरस, पोटास जसको लागि रासायनिक तथा प्रांगारिक स्रोतको प्रयोग गर्नु पर्दछ ।
सहायक तत्वः क्याल्सियम, म्याग्नेसियम, सल्फर, जसको लागि रासायनिक, प्रांगारिक ंस्रोतको साथै बजारमा उपलब्ध सुक्ष्म तत्वको प्रयोग गर्नु पर्दछ ।
सुक्ष्म तत्व : सुहाग ,जस्ता, म्यागनिज ,मोलिब्डेनम , ताँवा ,क्लोरिन र फलाम जसको लागि रासायनिक , प्रांगारिक स्रोतको साथै बजारमा उपलब्ध सुक्ष्म तत्वको प्रयोग गर्नु पर्दछ ।
शहरी खेतीको आकार
कौसी तथा करेसाबारीमा कुन तरकारी कति लगाउने भन्ने कुरा परिवारको आवश्यकता ,उपलब्ध स्थान तथा श्रोत साधनमा भर पर्दछ सामान्यतया ४ देखी ६ जना परिवारको लागि ताजा तरकारी आपूर्तिको लागि ४०–५० वटा गमला वा अन्य संरचनाहरु र २५–३० बर्ग मिटर क्षेत्रफल बराबरको छत अथवा काठको ट्रे को आवश्यक पर्दछ । माथिको क्षेत्रफल तथा संरचनाको अधिकतम उपयोग गरेमा मौसमी उत्पादनमा प्रति ब्यतिm दैनिक ३२५ ग्रामका दरले तरकारी उपलब्ध गराउन सकिन्छ । यदि बरण्डा वा कौसीमा खेती बिस्तार गर्ने हो भने आफूले बनाएको घरको संरचना कति बलियो छ र त्यसले कति भार बहन गर्न सक्दछ भन्ने कुरामा समेत विचार पुर्याउन आबश्यक छ । यदि बरण्डा, पर्खाल लगायतका क्षेत्रहरु प्रशस्त छ भने सो क्षेत्रमा समेत तल्ले पद्धति(Vertical system)मा खेती गर्न सकिन्छ ।

नोट: कोष्टभित्रको समयले उत्पादन दिन शुरुहुने समय जनाउँदछ । लहरा जाने विरुवा लगाउँदा बरण्डा तथा पर्खालको छेउमा लगाउन जरुरी हुन्छ भने तिनीहरुको मुनि छायाँमा हुर्कने अदुवा जस्ता बाली लगाउन सकिन्छ ।
कौसी तथा करेसा खेतीमा हेरचाह तथा गोडमेल
-गमला, प्लाष्टिक तथा संरचनामा सारेको बिरूवालाई बराबर हेरचाह र हल्का गोडाईको आवश्यकता पर्दछ ।
– थाँक्रा चाहिने बोटलाई साना साना करिब १ मिटर लामो बांसको कप्टेरा वा लठ्ठी गाडी सहारा दिनु पर्दछ । लहरेबालीलाई डोरीको सहायताले बढन दिनु पर्दछ ।
– खेती गरिएका फलफुल र तरकारीहरूलाई एकनासको चिस्यानको आवश्यकता पर्दछ । बढी सुख्खा र बढी पानी हुन दिनु हुदैन । कहिलेकाही चर्को घाम लाग्दा प्लाष्टिक तथा भाडा तातेर बिरूवा ओइलाउन थाल्दछ । त्यो अवस्थामा छहारीतिर सार्नु पर्दछ । बढी पानी परेको समयमा निकासको उचित प्रबन्ध मिलाउन जरुरी हुन्छ ।
बाली टिपाई
तरकारी तथा फलफूलको उपयुक्त अवस्थाको विचार गरी टिप्नु पर्दछ । फल ठुलो बनाएर टिप्छु भनेर धेरै समय बोटमै राख्नु हुदैन यसले नयाँ आउने फल लाइ असर पार्दछ । तसर्थ टिप्न योग्य अवस्थाको विचार गरी टिप्दै जानु पदर्छ ।

नेपालमा शहरी खेतीको अवस्था
-शहरी क्षेत्रमा कम लागतमा संरचनामा माटो भरेर वा उपलब्ध जमिनमा परम्परागतरुपमा खेती भइरहेको छ । बर्षा याम तथा पुष माघ जस्ता चिसो समयमा कौसीमा खेती न्यून
– शहरी खेती कुनै प्रविधि वा प्राविधिकको रेखदेखमा आधारित भन्दा पनि खेती गर्ने बासिन्दाको परम्परागत ज्ञान तथा सीपमा आधारित जसले गर्दा शहरी खेती दीगो हुन नसकेको
– शहरी क्षेत्रमा महानगरका वातावरण शाखा तथा विभिन्न एनजिओ को सहकार्यमा कौसी खेती तालिम तथा मल बनाउने भाँडो , गमला लगायतका संरचना वितरण गरी धेरै बर्ष देखी कौसी तथा करेसावारी खेती भएको
– खेती गर्ने बासिन्दाले खेती प्रविधि, उत्पादन सामाग्री तथा रोग कीरा ब्यवस्थापन प्रविधि बारे आवश्यकता अनुरुप प्राविधि सेवा पाउन नसकेका
– शहरी क्षेत्रमा जमिन भाडामा लिइ ब्यवसायिक रुपमा खेती गर्ने चलन बढेको र उपत्यकाभित्र मात्र करिव २०० हेक्टरमा बाँसका प्लाष्टिक घर लगायतका संरचनामा असल कृषि अभ्यासमा आधारित खेती बढ्दै गएको ।
शहरी खेतीमा रोग तथा कीरा ब्यवस्थापन
– शहरी खेतीमा रासायनिक बिषादीको प्रयोग सकेसम्म नगर्नु राम्रो हुन्छ । परम्परागत तरिकाबाट तयार गरिएका बानस्पतिक विषादी प्रयोग गर्दा उत्पादन राम्रो हुन्छ । स्थानिय स्तरमा उपलब्ध खरानी, साबुन पानी, बकैनो, निम आदिको झोल प्रयोग रोग तथा कीराको प्रकोप कम गर्न सहयोगी हुन्छन् । उपलब्धता अनुसार पशु मुत्र पनि प्रयोग गर्न सकेमा उत्पादन राम्रो लिन सकिन्छ । केहि नलागेमा कम समयमै उडेर जाने र मानवको लागि सुरक्षित बिषादी सावधानीपूर्वक मात्र प्रयोग गर्नु पर्दछ । यदि बिषादि प्रयोगै गर्ने हो भन विषादी छरे पछि तोकिएको समय सम्म फलपूmल र तरकारी टिपेर खानु हुंदैन ।
रोग तथा कीरा नियन्त्रणका केही प्रभावकारी र बिधिहरु
खेती गर्ने प्रबिधिहरु बाट
यो तरिका सबभन्दा प्रभावकारी तरिकाको रुपमा लिन सकिन्छ जसमा निम्न लिखित तरिकाहरु पर्दछन् :
– घुम्तीबाली प्रबिधि (लगातार एउटै वालीको एउटै संरचनामा खेती नगर्ने, कोशे तरकारी फल तरकारी,जरे तथा सागपातलाइ बर्षेभरी मिलाएर रोप्ने )
-सरसफाई (नियमित निरिक्षण गरी झारपात हटाउने)
-मिश्रीत बालीको प्रयोग (काउलीसंग लसुन, प्याजआदि, भण्टासंग धनियाँ आदि लगायत)
-राम्ररी पाकेको गोबर, कम्पोष्ट मलको प्रयोग
– रोग तथा कीरा रहित माटो तथा बिरुवा हुर्काउने माध्यमको प्रयोग
माटोभित्र बसी बोट बिरुवामा आक्रमण गर्ने रोग तथा कीरा ब्यबस्थापन
– खिर्रो, बनमारा, तितेपाती, केतुकीका पात र डाँठलाई मसिनो पारेर काटी जमिनमा मिसाउने यसले रातो कमिला, धमिरा, खुम्रे, फेद कटुवाको नियन्त्रणमा सहयोग गर्दछ ।
– चिउरीको पिना रातो कमिलाको लागि उपयोगी ।
-तोरीको पिना १०० केजी प्रति रोपनीको दरले राखी अदुवा लगाउँदा गानो कुहिने रोग कम ।
– असुरोको माटोमा छापो हाल्नाले फेद कटुवा र खुम्रे कम ।
– तितेपातीमा ब्याक्टेरिया, ढुसी तथा किटनाशक गुण हुन्छ ।
– बोटको वरिपरी मकैको पिठो छर्नाले फेद कटुवाले धेरै पिठो खाई पेट फुटेर मर्दछ ।
– सिस्नोको पात र मुन्टालाई १ः२ पानीमा १५ दिन कुहाउने र ३ भाग पानी मिसाएर माटोमा प्रयोग गर्दा रातो कमिला र खुम्रेमा प्रभावकारी ।
– बकाईनोको १ केजी पात ५ लि पानीमा मिसाई छानेर बिरुवामा तत्काल प्रयोग गर्दा माटोका हानिकारक जिबाणुको नियन्त्रणमा धेरै सहयोग पुग्दछ ।

लेखक बरिष्ठ बागबानी बिकास अधिकृत अरुण काफ्ले हाल युनिभर्सिटि अफ साउथ अष्ट्रेलिया, अष्ट्रेलियामा अध्ययनरत हुनुहुन्छ ।


  • 431
  •  
  •  
  •  
  •  
  •  
    431
    Shares
error: Content is protected !!