पर्यटन वर्ष २०२० को तयारी तीव्र, सरकारको सपना होला त साकार ?

काठमाडौं – भिजिट नेपाल २०२० को तयारी तीब्र पारिएको छ । वार्षिक २० लाख पर्यटक नेपाल ल्याउने उद्देश्यसहित घोषणा भएको नेपाल भ्रमण वर्षलाई सफल बनाउन मन्त्रालयलगायत मातहतका निकाय सक्रियतापूर्वक लागिपरेका छन् ।

सन् २०२० का लागि घोषित भिजिट नेपाल २०२० लाई सफल बनाउने तयारीमा सरकार जुटेको छ । देशको आर्थिक समृद्धिसँग पर्यटनको विकास र यस क्षेत्रमा हुने सकारात्मक परिवर्तनले विशेष महत्व राख्छ यस कारणपनि सरकार पर्यटन विकासमा थप सक्रिय देखिएको हो । विगतमा पर्यटन प्रवर्धनका लागि चलाइएको अभियानले अपेक्षाअनुसार पर्यटक भित्राउन सफल भएको निष्कर्षसँगै सरकार आगामी सन् २०२० भित्र वार्षिक १५ देखि २० लाख पर्यटक ल्याउने लक्ष्यका साथ अघि बढेको हो ।

सरकारले विगतमा ‘भिजिट नेपाल १९९८’, ‘नेपाल टुरिजम इयर २०११’ लगायत विभिन्न समय देशमा पर्यटन विकासलाई बढावा दिन अभियान चलाउँदै आएको छ । सन् २०१५ मा गएको गोरखा भूकम्प र नाकाबन्दीका कारण पर्यटकको संख्यामा आएको कमी हटाउन सरकार प्रयाशरत छ ।
गएको वर्ष करिब १० लाख पर्यटक नेपाल आएकोमा यो वर्ष १२ लाख पर्यटक ल्याउने अर्को वर्ष १६ र २०२० मा २० लाख ल्याउने सरकारको लक्ष्य रहेको छ । तर देशभर भूकम्पपश्चात पुनःनिमार्ण हुनुपर्ने राष्ट्रिय संरचना त छँदैछ, यसका अलावा देशका पर्यटकीय गन्तव्य स्थलका रुपमा परिचित क्षेत्र वरपर हुनुपर्ने पूर्वाधार विकास, होटल तथा आधारभूत पूर्वाधार निर्माणम अपेक्षा अनुरुप हुनसकिरहेका छैनन् ।

पर्यटक आगमन व्यवस्थित बनाउन हालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलले धान्दैन । यसका लागि निर्माणाधीन क्षेत्रीय तथा विमानस्थल निर्माणको कामलाई शीघ्ररुपमा अघि बढाउन सरकार तथा नीजि क्षेत्रको समन्वयकारी भूमिका आवश्यक छ ।विमानस्थल निर्माणलाई उच्च प्राथमिकता दिएर निजी क्षेत्रले पनि पर्यटकीय पूर्वाधारमा लगानी बढाउन अग्रसर हुने हो भने २०२०को सपना अपेक्षा अनुसार सफल बन्न मद्धत पुग्छ ।

पर्यटकीय पूर्वाधारको मुख्य आधार पर्यटकीय गन्तव्यस्थल मध्येको आकर्षक गन्तव्यमध्ये अग्रस्थानमा रहेको नेपालमा भिजिट नेपाल २०२० लाई सफल बनाउन पर्यटन क्षेत्रमा कार्यरत सम्बद्ध सबै निकायको निस्वार्थ सहभागिता अनिवार्य छ ।

प्रारम्भिक तयारीमा देखिएको भिजिट नेपाल २०२० को तयारी सुखद देखिए पनि यसको निरन्तरता कतिको प्रभावकारिता हुन्छ त्यो भने प्रतिक्षाकै विषय हो ।

error: Content is protected !!