खाद्यान्नमा बिष: के मान्य छ हामीलाई ?

  • 51
  •  
  •  
  •  
  •  
  •  
    51
    Shares

हामीले दैनिक रुपमा सेवन गर्ने तरकारी, फलफूलमा बढ्दो र अब्यवस्थित रासायनिक बिषादीको प्रयोग यतिबेला आम सरोकारको विषय बनेको छ । बि.सं २०७४ मा नेपाल जनस्वास्थ्य प्रतिष्ठानले जिल्ला समन्वय समिति कार्यालय, चितवनसँगको समन्वयमा करिब ६ महिना लामो अध्ययनबाट चितवन जिल्लाका ९३ प्रतिशत कृषकले रासायनिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ ।
तीमध्ये ५० प्रतिशतभन्दा बढी कृषकले १० वर्षदेखि रासायनिक बिषादी मात्र प्रयोग गरिरहेका छन् । कृषकहरुले १० वर्षभन्दा लामो समयदेखि बिषादी प्रयोग गरिरहेको भए पनि धेरैजसो कृषकलाई आफूले प्रयोग गर्ने बिषादी कत्तिको खतरनाक छ भन्ने केही हेक्का छैन । कस्तो दुःख लाग्दो अवस्था ! बिषादी प्रयोग गर्दा सुरक्षित पोसाक त धेरै टाढाको कुरा भयो ।

यसरी खाद्यान्नमा बिषादी प्रयोगको विषय चिन्ताजनक मानिनुका पछाडि केही विशेष कारण छन् । त्यो हो, बिषादीको गुण । बिषादीको मूलतः दुईवटा विशेषता छन् । पहिलो, केही खतरनाक विषादी हाम्रो शरीरमा प्रवेश गरेपछि अन्य तरल पदार्थजस्तो नाश भएर जाँदैन । दोस्रो, बिषादीको अवशेष जम्मा भएर मानिस र प्रकृतिका ठूलाठूला जीव र पशुपंछीलाई झन् धेरै असर गर्छ । यसै कारणले गर्दा लामो समयसम्म बिषादीको संसर्गमा आएपछि प्रजनन् क्षमतामा ह्रास आउने, विभिन्न किसिमका क्यान्सर (रक्तक्यान्सर, मस्तिष्क, मृगौला, पित्तथैली, फोक्सो र छालासम्बन्धी क्यान्सर) हुने सम्भावना बढ्ने अध्ययनहरूले देखाएका छन् ।

तत्काल स्वास्थ्य समस्याका रूपमा भने छालामा एलर्जी हुने, आँखा पोल्ने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पेट दुख्ने र शरीर कमजोरी हुने गर्दछ । बिषादीले आमाको गर्भ र स्तनपानबाट पनि बच्चाको शारीरिक र मानसिक विकासलाई असर गर्दछ । तसर्थ रासायनिक बिषादीको बढ्दो प्रयोगलाई निरुत्साहित गर्न केही बिकल्पहरु अघि सारेको छु ।

१. रासायनिक बिषादीका विकल्पहरूको खोजी र पहुचमा वृद्घि
पछिल्लो समयमा रासायनिक बिषादीका धेरै बिकल्पहरूबारे अनुसन्धान भएका छन् । यी विधि एवं प्रविधिहरू उत्पादनका दृष्टिकोणले प्रभावकारी र रासायनिक बिषादीको तुलनामा सस्तो पनि छन् । विभिन्न प्रकारका मोहिनी पासो, बत्तीको पासो, पहेँलो पासो (yellow sticky trap), Bacillus thuringiensis (BT) जस्ता शाकाणुजन्य बिषादी वा न्युक्लियर पोलिहेड्रोसिस भाइरसजस्ता विषाणुजन्य विभिन्न वैकल्पिक प्रविधिहरू हुन् । यसबारे धेरै कृषकहरू अनविज्ञ छन् र यी प्रविधिहरू सहज रूपमा उपलब्ध छैनन् । त्यस्तै गाउँघरमै पाइने वनस्पति र गाईवस्तुको पिसाब प्रयोग गरी बनाइने जैविक विषादी पनि उत्तिकै प्रभावकारी र सुरक्षित पाइएको छ तर यसको ब्यवसायिक उत्पादनमा जोड दिइएको छैन । पाकेको गोबरमल, कम्पोस्टमल र गँड्यौलामलले बालीनालीलाई आवश्यक पर्ने धरै पोषण तत्त्वहरूको परिपूर्ति गर्छ र तिनको नियमित प्रयोगले रासायनिक मललाई विस्थापित पनि गर्न सक्छ । त्यसैले बिषादी प्रयोगको न्यूनीकरणलाई टेवा पु¥याउन यस्ता प्राङ्गारिक मलको उत्पादनलाई व्यवसायीकरण गर्नुपर्दछ ।


२. उपभोक्ता र कृषक सचेतना
बिषादीको प्रयोग घटाउन र प्राङ्गारिक कृषिलाई प्रवद्र्धनका लागि अन्य प्रयाससँगै उपभोक्ताहरूको रोजाइ र सोचाइलाई घच्घच्याउन आवश्यक छ । उपभोक्ताले टलक्क टल्केको, अस्वभाविक ढङ्गले फस्टाएको, बेमौसमी तरकारी, फलफूल छान्दा बजारले यस्तै उत्पादनलाई प्राथमिकता दिन्छ जुन् रासायनिक विषादीको उपज हो । प्राकृतिक आकार, रङ्ग र मौसमी उत्पादन नै सबैभन्दा उत्तम रोजाई हो भन्ने उपभोक्तालाई पनि बुझाउन आवश्यक छ । प्रत्येक घरमा विषादीरहित करेसाबारी भए कस्तो हुने थियो होला ?
कृषकहरूको हकमा पनि तुरुन्तै असर गर्ने किसिमको बिषादी रोज्ने प्रवृत्ति बढेको पाइन्छ (Knock down effect) । रासायनिक बिषादीले हानिकारक र फाइदाजनक दुवैथरी किरा र जीवलाई असर गर्दछ भन्ने कुरा कृषकहरुलाई बुझाउन आवश्यक छ । संसारका ९० प्रतिशतभन्दा बढी किरा मांशाहारी एवं फाइदाजनक (मित्रजीव) हुन्छन् र यी हानिकारक कीरा (शत्रुजीव) खाएर बाँच्छन् । तसर्थ मित्रजीवलाई संरक्षण गर्नुपर्ने कुरामा जोड दिन आवश्यक छ ।
३. बजार व्यवस्थापन
नेपालमा बिषादी प्रयोग गरिएको र प्राङ्गारिक कृषि उत्पादनको बिक्री वितरणका लागि छुट्टाछुट्टै बजार छैन । जसले गर्दा प्राङ्गारिक उत्पादन उपभोग गर्न चाहनेहरूका लागि पनि बिषादी प्रयोग गरिएको कृषि उत्पादन नै खरिद गर्नुपर्ने बाध्यता छ । तसर्थ रासायनिक बिषादी प्रयोग भएको र नभएको उत्पादन बिक्रीका लागि बजारमा छुट्टाछुट्टै स्थानको ब्यवस्था गरिनुपर्दछ ।
यसका साथै उत्पादनमा बिषादी प्रयोग भए/नभएको वा कति भएको छ भनी एकिन गर्न बिषादी मापन केन्द्र स्थापना गरी अनिवार्य रूपमा बिषादी परीक्षणकोे व्यवस्था गरिनुपर्दछ । नेपालमा भित्रिने र नेपालभित्रका खाद्य उत्पादन, तरकारी, फलफूल, माछा र मासुहरूमा बिषादी परीक्षण अनिवार्य गरिनुपर्दछ र दण्ड सजायको प्रावधान हुनुपर्दछ । बिषादी प्रयोग भए/नभएको वस्तुको मूल्य पनि केही मात्रामा फरक फरक तोकिनु पर्दछ । यसले गर्दा रासायनिक बिषादीका विकल्पहरू अवलम्बन गर्नेहरूका लागि तत्काल प्रोत्साहन मिल्नेछ र बिषादी न्यूनीकरणका कार्यक्रमहरू पनि प्रभावकारी हुनेछन् ।
यस क्षेत्रमा गर्नुपर्ने क्रियाकलापहरू धेरै छन् । यद्यपि माथि उल्लेख गरिएका बुँदाहरूमा एकीकृत रूपमा नीतिगत र स्थानीय तहमा काम गर्न सकेमा पक्कै पनि रासायनिक न्यनिकरण अभियानले सार्थकता पाउनेछ ।
लेखीका काफ्ले नेपाल बिकास समाजमा कार्यक्रम सँयोजकको रुपमा कार्यरत हुनुहुन्छ ।


  • 51
  •  
  •  
  •  
  •  
  •  
    51
    Shares
error: Content is protected !!