भू–उपयोग ऐन चाँडै ल्याउँछौँ : मन्त्री अर्याल

  •  
  •  
  •  
  •  
  •  
  •  

काभ्रेपलाञ्चोक:

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्यमा अर्यालले वैज्ञानिक ढङ्गले भू–उपयोग ऐन ल्याउन लागेको बताउनुभएको छ ।मन्त्री अर्यालले शुुक्रबार धुलिखेलमा अन्तराष्ट्रिय नारी दिवसका अवसरमा परोपकार प्राथमिक उपचार केन्द्रद्वारा आयोजित काभ्रेपलाञ्चोकको स्थानीय तहका महिला जनप्रतिनिधिलाई सम्मान गर्ने कार्यक्रममा उपयोगिताको आधारमा वैज्ञानिक ढङ्गले भू–उपयोग ऐन ल्याउन लागेको बताउनुभएको हो । उहाँले भन्नुभयो “अब २/४ दिनमै संसद्ले भू–उपयोग ऐन पारित गर्दैछ, यो ऐन पूर्णतः वैज्ञानिक छ ।”

मन्त्री अर्यालले भू–उपयोग ऐनमा नौ प्रकारले भूमिको वर्गीकरण गरिएको बताउनुभयो । “कृषियोग्य जमिनको अधिकतम उपयोग गर्नेगरी ऐन आउँदैछ, पहिलोपटक ल्याइने यो ऐनअनुसार कुनै पनि जमिन आफूखुशी खण्डीकरण गर्न पाइने छैन”, उहाँले भन्नुभयो । उहाँले जमिनको खण्डीकरणलाई समेत व्यवस्थित गर्नेगरी ल्याइने ऐनले स्थानीय तहलाई भूमिसम्बन्धी कार्यसम्पादनमा सहयोग पुग्ने बताउनुभयो ।

मन्त्री अर्यालले आफ्नो मन्त्रालयले भूमि बैंक ऐनको समेत परिकल्पना गरिरहेको बताउनुभयो । “भूमि बैंक ऐन ल्याएपछि कुनै पनि जमिन बाँझो हुँदैन”, उहाँले भन्नुभयो, ‘सो ऐनअनुसार जमिनमा खेती गर्न नसक्नेलाई बैंकले सहयोग गर्छ, पछि किसानले चाहेको समयमा आफैँ स्वामित्व लिन सक्छन् ।”

सो अवसरमा सांसद नविना लामाले लोकतान्त्रिक आन्दोलनमा महिलाको भूमिकाको स्मरण गर्दै जुनसुकै तहको कार्यसम्पादनमा महिला पुरुषभन्दा कम नभएको दाबी गर्नुभयो । पूर्व सांसद कमला दोङ, प्रदेशसभा सदस्यद्वय चन्द्र लामा र रत्न ढकाल, धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याजु श्रेष्ठ, नेकपाका नारायण पाण्डे र नेपाली काङ्ग्रेसका चन्द्रबहादुर लामाले आ–आफ्नो धारणा राख्नुभएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here