गत वर्षको तुलनामा २० प्रतिशत धान रोपाई कम

काठमाडौं । गत वर्षको तुलनामा यो वर्ष २० प्रतिशत रोपाई कम भएको छ । अघिल्लो साल यही अवधिमा ८८ प्रतिशत बढी रोपाई सकिएको थियो । मनसुन भित्रिन ढिला भएको, पर्याप्त पानी नपरेको तथा गाईगोरुमा देखापरेको लम्पी स्किन रोगका कारण गोरु अभाव हुँदा रोपाइँ ढिला भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

रोपाइँको मुख्य मौसम सकिन करिब एक साता मात्रै बाँकी छ । मधेस, गण्डकी र बागमती प्रदेशमा ढिलो मनसुन सुरु भएका कारण रोपाई सुरु हुनै समय लागेको थियो । अन्न भण्डार भनेर चिनिने मधेश प्रदेशमा रोपाइँ आधा पनि सकिएको छैन । मधेशको ४६ प्रतिशत खेतमा मात्रै रोपाइँ भएकोे छ । गत वर्षको यही अवधिमा मधेशका ८८ प्रतिशत खेतमा रोपाइँ सकिएको थियो ।

देशको कुल धान उत्पादनको एक चौथाइ हिस्सा मधेशमा उत्पादन हुन्छ । यद्यपि मधेशका जिल्लामा साउनको अन्तिमसम्म नै रोपाइँ हुने गरेकोले रोपाइँ बढ्ने अनुमान गरिएको छ । हालसम्म कोशी ७३, बाग्मती ६५, लुम्बिनी ७४, कर्णाली ७६, गण्डकी ६७ र सुदूरपश्चिममा ९८ प्रतिशत रोपाई भएको छ ।

कृषि मन्त्रालयका अनुसार देशभर १३ लाख ५७ हजार हेक्टर खेतमा धान उत्पादन हुन्छ । तर यो बर्ष नौ लाख २७ हजार हेक्टरमा मात्रै धान रोपाइँ सकिएको छ । समयमा रोपाइँ नहुँदा यो बर्ष उत्पादनमा कमी आउने र चामल आयातमा वृद्धि हुने अनुमान गरिएको छ ।

त्यस्तै, भारतले चामलको निर्यातमा रोक लगाएसंगै चामलको मागको आपूर्तिमा चुनौती थपिएको छ । नेपालमा प्रतिव्यक्ति बराबर प्रतिवर्ष १ सय ३८ कीलो चामल उपभोग हुन्छ । २०७७-७८ को तुलनामा गत आर्थिक बर्षमा पनि ८.७४ प्रतिशतले धान उत्पादनमा कमी आएको थियो । विदेशी मुलुकमा प्रतिहेक्टर ६ मेट्रिक धान फल्ने गर्दछ तर नेपालमा प्रतिहेक्टर ३.८ मेट्रिक टनमात्र धान फल्छ ।

तर मुलुकमा धान उत्पादनमा कमी आउँदा आयात बढ्दै गएको छ । नेपालमा भारत, चीन, अमेरिका, भियतनाम, थाइल्याण्ड तथा भुटानबाट चामल आयात गरिन्छ । मुलुकको अर्थतन्त्रमा करिब ७ प्रतिशत धानको योगदान छ ।

सरकारको कृषि क्षेत्रमा ठूलो लगानी रहेको छ तर कृषिमा आधुनिकीकरण, यान्त्रिकरण र व्यवासायीकरण नहुँदा उत्पादनमा कमी आउने गर्दछ । जसका कारण किसानलाई समस्या हुनुका साथै आम उपभोक्ता महंगी र कालोबजारीको मारमा पर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here