विषादी बन्यो किसानको लागि विष तथ्यले देखाउँछ किसानमा क्यान्सरको भयावह सरकार भन्छ ‘विश्वको तुलनामा यो सामान्य हो’
गत वैशाख अन्तिम साता काठमाडौँमा आयोजित एक कार्यक्रममा भारतका प्रसिद्ध क्यान्सर रोग विशेषज्ञ तथा अभियन्ता डा. विशाल रावले दक्षिण एसियाका देशहरूमा अबको १० वर्ष भित्र हरेक तीन मध्ये एक व्यक्तिमा क्यान्सर लाग्न सक्ने जोखिम रहेको बताए ।
भारतको बैंङ्लोरमा रहेको एचसिजी क्यान्सर हस्पिटलका हेड एण्ड नेक सर्जिकल ओन्कोलोजी र रोबोटिक सर्जरी विभाग प्रमुख क्यान्सर रोग विशेषज्ञ डा. विशाल रावले काठमाडाैमा स्वास्थ्य पत्रकारहरूसँग कुरा गर्दै दक्षिण एसियाका देशहरूमा खानपानकै कारण अबको १० वर्ष भित्र ३३ प्रतिशत अर्थात् हरेक तीन मध्ये एक व्यक्तिमा क्यान्सर लाग्न सक्ने जोखिम रहेको तर्क गरे ।
क्यान्सर नियन्त्रण नीतिमा भारत सरकारको सल्लाहकार समेत रहेका डा.रावले खेतबारीमा अन्नबाली र फलफूल उत्पादन गर्दा प्रयोग गरिने अत्यधिक विषादीको प्रयोग र ती विषादीयुक्त अन्न, सागसब्जी र फलफूलको सेवनले मानिसमा क्यान्सरको जोखिम रहेका बताएका हुन् ।
खेतबारीदेखि सुरु भएको विषादी भान्सासम्म पुग्दा यसले क्यान्सरसँगै लाने गरेको तथ्य देखिएको छ । देशका विभिन्न क्षेत्रबाट प्राप्त तथ्यलाई एक पटक हेरौँ –
गोरखाको एकै पालिकाका ६१ कृषकमा क्यान्सर
गोरखाको गण्डकी गाउँपालिकाका ६१ जना कृषक क्यान्सरपीडित छन् । अन्य कतिपयको मिर्गौला फेल भएको छ । पीडित सबै जना व्यावसायिक खेती किसानी गर्दै आएका छन् । प्रारम्भिक अनुमान के भने तरकारी खेतीमा विषादीको प्रयोग गर्नाले नै क्यान्सर र मिर्गौलाको रोगी भएका हुन् । व्यावसायिक खेती किसानी गर्दा विषादीको प्रयोग अत्यधिक हुने गरेको छ । छिटो फल्ने, ठुलो फल्ने र रोग कीराबाट बचाउने हुँदा किसान विषादीमा आकर्षित भएको कृषि क्षेत्रका जानकारहरू बताउँछन् ।
तर विषादीले त्यति मात्रै गर्दो रहेनछ, क्यान्सरै पनि लगाउँदो रहेछ, वा मिर्गौला नै फेल गराउँदो रहेछ भन्ने उनीहरूलाई पत्तो सम्म पाएनन् । विषादी हालेको तरकारीले किसानलाई मात्रै नभई उपभोक्तालाई पनि घात गर्छ । नेपालमा तरकारीको विषादी नाप जाँच गरेर मात्रै उपभोक्ता समक्ष पुर्याउने चलनै छैन। भएका विषादी मापक यन्त्रहरू पर्याप्त र ठाउँ ठाउँमा छैनन् । प्रत्येक तरकारी बजारमा त्यस्तो यन्त्र हुनुपर्छ र सबैतिर जाँचिनुपर्छ । त्यसअघि नै किसानलाई विषादीमा कार्सिनोजेन भन्ने तत्त्व हुन्छ भन्ने बुझाउनुपर्छ ।
त्यसो त क्यान्सर लगाउने तत्त्व विषादीमा हुन्छ नभनिने पनि होइन, कतिपय ठाउँमा किसान वा विषादी बिक्रेताले लापरबाही गर्छन्, हल्का रूपमा लिन्छन् पनि । भनिएको मात्राभन्दा बेसी हाल्छन्, छिटो, ठुलो र धेरै फलाउने लोभमा ।
अन्ततः परिणाम आफैँलाई रोग लाग्छ । खासमा विषादीको नियन्त्रण फितलो हुँदा नै देशभर यस्तो समस्या भएको हो । जहाँ जहाँ विषादी प्रयोग गरिन्छ, समस्या साझा हुन सक्छ । अध्ययनहरू कम भएका छन्, त्यसैले समस्या सार्वजनिक भएका छैनन् ।
सुदूर पश्चिममा पनि विषादीका कारण क्यान्सर
डडेलधुराको अमरगढी नगरपालिका–११ फिन्नेकोटकी जमनी देवी ऐर गाउँकै उदाहरणीय कृषक हुन् । वर्षौँदेखि तरकारी खेतीमा संलग्न उनी गाउँकी अगुवा कृषक समेत हुन् । १ छोरा र १ छोरीकी आमा जमनीले तरकारी खेतीबाटै वार्षिक २ देखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्थिन् ।
अहिले भने उनी बारीमा जान सक्दिनन् । वर्ष दिन यता चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा धाइरहेकी छन् ।
एक दिन उनलाई एक्कासि घाँटी दुख्यो । घरबाट ९ किलोमिटर टाढा, जिल्ला सदरमुकाममा रहेको डडेलधुरा अस्पताल पुगिन् । चिकित्सकले १० दिनको औषधि दिए । चिकित्सकले भनेअनुसार नै उनले १० दिन नबिराई औषधि सेवन गरिन् । तर घाँटीको दुखाइ घट्नुको सट्टा झन् बढेपछि उनी फेरि डडेलधुरा अस्पताल पुगिन् । डडेलधुरा अस्पतालका चिकित्सकले थप परीक्षण आवश्यक पर्ने र विशेषज्ञको समेत सल्लाह लिनुपर्ने भन्दै ‘राम्रो अस्पताल’मा जान सल्लाह दिए ।
डडेलधुरा अस्पतालका चिकित्सकको सल्लाहपछि उनी थप चेकजाँचका लागि धनगढी पुगिन् । धनगढीमा परीक्षण गर्दा चिकित्सकहरूले घाँटीमा मासुको डल्लो (ट्युमर) हुनसक्ने आशङ्का गरे। धनगढीका चिकित्सकले उनलाई चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल जान सुझाव दिए ।
पहिलो पटक पुग्दा चितवन अस्पतालका चिकित्सकले पनि औषधि नै सिफारिस गरे । चितवनका डाक्टरले दिएको औषधिले कसो ठिक नहोला भन्दै उनी पुनः तरकारी–बारीको काममा लागिन् । तर निको भएन ।
फेरि उनी चितवन पुगिन् । परीक्षण गर्दा पत्ता लाग्यो उनलाई त क्यान्सर भएको रहेछ । अहिले उनी चिकित्सकको सल्लाहअनुसार उपचार गराइरहेकी छन् । जमनी मात्रै हैन, फिन्नेकोटकी १७ वर्षीया किशोरी पूजा बोहराले पनि क्यान्सरसँग लड्नु परिरहेको छ ।
फिन्नेकोट गाउँकै ५१ वर्षीय ननीदेवी खड्काको क्यासरकै कारण १ महिना अगाडि ज्यान गयो। ननीदेवी पनि गाउँकै अगुवा कृषकमध्ये हुन् । ऐर, बोहरा र खड्का गरेर अमरगढी नगरपालिका वडा नम्ब ११ फिन्नेकोट गाउँका ७ जनामा क्यान्सर देखिएको छ ।
अमरगढी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष धर्मसिंह धानुकका अनुसार ७ जना मध्ये १ जनाको मृत्यु भएको छ भने ६ जनाले दीर्घ रोगअन्तर्गत सरकारले दिने सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । फिन्नेकोट गाउँमै घर भएका वडाध्यक्ष धानुक क्यान्सर पीडितको सङ्ख्या बढेपछि चिन्तित छन् ।
अनगरगढी नगरपालिकाको तथ्याङ्कअनुसार नगरपालिकाभर ११ जना क्यान्सरपीडितले दीर्घ रोगअन्तर्गतको सामाजिक सुरक्षा भत्ता लिइरहेका छन ्। यस्तै, १६ जनाले नाम दर्ता गरेका छन् । दीर्घ रोगका बिरामीलाई सरकारले मासिक ५ हजार रुपैयाँ भत्ता दिने गरेको भन्ने सुनेपछि आफ्नो काजजातसहित फिन्नेकोटका ७ सहित १६ जनाले नाम दर्ता गरेको अमरगढी नगरपालिकाको स्वास्थ्य शाखाले जनायो ।
तरकारीको विषादीले क्यान्सर
सुदूरपश्चिमका पहाडी जिल्लामध्ये सबैभन्दा बढी तरकारी उत्पादन गर्ने जिल्ला हो डडेलधुरा । यसमा पनि सबैभन्दा बढी तरकारी अमरगढी नगरपालिकामा उत्पादन हुन्छ ।
अमरगढी नगरपालिकाका प्राय सबैजसो वडाका स्थानीय तरकारी खेतीमा संलग्न छन् । फिन्नेकोट लगायतका गाउँमा भने धेरै पहिलेदेखि स्थानीयले तरकारी खेती गर्दै आएका छन् । यहाँ उत्पादित तरकारी प्रदेशका अन्य पहाडी जिल्लासँगै तराईका कैलाली, कञ्चनपुर र अन्य प्रदेशका जिल्लामा समेत निर्यात हुन्छ। डडेलधुरामा उत्पादन हुने आलु देशका धेरै ठाउँमा निर्यात हुन्छ ।
तर, तरकारी उत्पादन बढाउन प्रयोग हुने बिषादीले भने यहाँका धेरै किसानलाई प्राणघातक रोग क्यान्सरबाट पीडित बनाएको यहाँका जनस्वास्थ्य विज्ञहरू बताउँछन् । अमरगढी–११ का वडाध्यक्ष धानुक पनि विषादीको जथाभाबी प्रयोगका कारण दीर्घरोगीहरु बढेको स्विकार्छन्। यस विषयमा पर्याप्त अध्ययन र परीक्षण गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको उनी बताउँछन् ।
विषादीको प्रयोगले तरकारी उब्जनी बढ्ने बुझेका किसानहरू यसले मानवीय स्वास्थ्यमा पार्ने गम्भीर असरबारे भने जानकार छैनन् । अमरगढी–१० का कृषक ७५ वर्षीय मीन भण्डारी आफू लामो समयदेखि विषादीको प्रयोग गरेर तरकारी फलाइरहेको बताउँछन् । तर उनलाई विषादीको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असरबारे पर्याप्त जानकारी छैन ।
यद्यपि पछिल्लो समय तरकारी खेतीमा संलग्न किसानहरू क्यान्सरबाट पीडित हुने गरेको खबरले भने उनी चिन्तित छन्। कतै आफ्ना सन्ताहरुलाई पनि विषादीको असर देखिने हो कि भन्ने चिन्ता उनले प्रकट गरे ।
क्यान्सरले मृत्यु भएपछि भयमा छन् किसान
लामो समयदेखि विषादीको प्रयोगबाट तरकारी फलाउँदै आएका किसानहरू पछिल्लो समय क्यान्सरपीडित स्थानीय कृषक महिलाको मृत्युपछि भने भयमा छन् । धेरै जनाले अब प्राङ्गारिक मलको प्रयोगबाट मात्रै तरकारी उत्पादन गर्ने निधो गरेका छन् । केही किसानहरूले भने विषादीको व्यवस्थित प्रयोगबारे जानकारी लिन थालेका छन् ।
आलुको बिउ उत्पादन गरेर सुदूरपश्चिमसहित अन्य प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्दै आएका कृषक दुर्लभ खड्काले विषादीको जथाभाबी प्रयोगबाट आफ्नी भाउजू नाता पर्ने स्थानीय महिलाको मृत्यु भएको सुनाए । भाउजूको मलामी गएर फर्केदेखि नै आफूले अब विषादीको प्रयोग कम गर्दै लैजाने प्रण गरेको उनले सुनाए ।
‘लाउँ–लाउँ खाउँ–खाउँ भन्ने उमेरमै दीर्घ रोग (क्यान्सर) लाग्न थाल्यो । त्यो पनि हाम्रो सामान्य गल्तीका कारणले,’ खड्काले भने, ‘अब मैले यो विषादी प्रयोग नगर्ने सोच बनाइसके । अरूलाई पनि यसको प्रयोग गर्नु राम्रो हैन भनेर भन्दै आएको छु ।’
तरकारी खेतीमा संलग्न किसानहरू क्यान्सरबाट पीडित हुन थालेपछि अमरगढी नगरपालिले विषादी नियन्त्रण गर्न अभियान नै थाल्ने जनाएको छ ।
तरकारीमा अत्यधिक विषादी प्रयोग गर्दा त्यसको असर मानवीय स्वास्थ्यसँगै जैविक विविधतामा पनि परिरहेको जानकारहरू बताउँछन् । कृषि क्षेत्रका जानकारहरूका अनुसार किसानहरूले तरकारीमा लाग्ने किरा मार्नका लागि ‘सजिलो विकल्प’का रूपमा विषादीको प्रयोग गर्ने गरेका छन् । साथै उत्पादन बढाउने भनेर विभिन्न किसिमका ‘फर्टिलाइजर’ समेत प्रयोग गर्छन् । तर त्यसले पुर्याउने असरबारे भने अधिकांश जसो अनविज्ञ छन् ।
तरकारीमा विषादी छर्किँदा वा प्रयोग गर्दा सावधानी नअपनाउँदा कृषकहरूमा क्यान्सरको जोखिम बढी हुने क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागाईँ बताउँछिन् । ‘क्यान्सरको १०० प्रतिशत कारण विषादी मात्रै हो भन्न त सकिन्न । तर विषादीको कारण क्यान्सर हुने जोखिम भने बढी हुन्छ,’ डा. चापागाईँ भन्छिन्, ‘किसानहरूले विषादी छर्किदा सुरक्षाका उपाय नअपनाउँदा र विषादीयुक्त तरकारी सेवन गर्दा पनि क्यान्सरको जोखिम रहन्छ ।’
मधेशका किसानलाई क्यान्सरको भय
सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौली पुग्दा खेतबारी तरकारी बालीले हराभरा थिए । धेरैजसो खेतमा लटरम्म भान्टा थिए । काउली, परबल, गोलभेँडा, बोडी, साग पनि फलेका देखिए । किसानहरू कोही खेत गोडमेल गर्दै थिए, कोही बजारमा लैजान तरकारी टिप्दै थिए ।
कोही तरकारीमा विषादी छर्दै थिए त कोही विषादी किन्न एग्रोभेट जाँदै गरेका भेटिए । कसरी धेरै र राम्रो तरकारी फलाउने, टिपेर कहिले बेच्न लैजाने भन्ने ध्याउन्न र धपेडी देखिन्थ्यो सबैमा ।
केही किसानलाई भेट्न जाँदा भने तीता कथा भेटिए । धेरैले क्यान्सरका कारण परिवारका सदस्य गुमाएका रहेछन् । क्यान्सरसँग संघर्ष गरिरहेकाहरू पनि भेटिए । बाँकी मानिसमा आफू पनि क्यान्सरको चपेटामा परिने हो कि भन्ने डर देखिन्थ्यो ।
क्यान्सरपीडितहरूले खेती किसानीमा सक्रिय हुँदाका दिन सम्झँदै रोगले दिएको पीडा सुनाए । २०७६ भदौमा घुर्कौलीका जंगीलाल साह खेतमा काम गर्दागर्दै बेहोस भए । उपचार गराउन जाँदा टाउकोको क्यान्सर भएको थाहा भयो । निरन्तर उपचार गराएपछि उनको स्वास्थ्यमा केही सुधार आएको छ, हिँडडुल गर्न सक्ने भएका छन् ।
तर हातखुट्टाका जोर्नी दुख्ने र पोल्ने भइरहन्छ । साहले एक बिघा जमिनमा गोलभेँडा र परबलको व्यावसायिक खेती गरेर राम्रो आम्दानी गर्दै आएका थिए । पछि रोग–कीरा लागेर उत्पादन घट्न थालेपछि उनले खेतीमा जीवनाशक विषादी हाल्न थालेका थिए। उनी दादा गार्ड, कोब्रा जस्ता नाम गरेका विषादी प्रयोग गर्थे ।
साहका छिमेकी पाल्देन लामा पनि पहिले चार–पाँच बिघा जमिनमा व्यावसायिक तरकारी खेती गर्थे । राम्रो उब्जनी नभएपछि बालीनालीमा कडा खालका विषादी अत्यधिक हाल्न थाले । लामो समयसम्म विषादीको सम्पर्कमा रहेपछि उनलाई घाँटी दुख्ने, सास फेर्न गाह्रो हुने समस्या आयो । तीन वर्ष जति औषधि खाएपछि ठिक भएको थियो । दुई वर्षअघि उनको आन्द्रामा क्यान्सर भएको पत्तो लाग्यो । भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका उनको स्वास्थ्यमा सुधार देखिएको छैन । अहिले ओछ्यान परेका छन् ।
विषादीकै कारण आफूलाई क्यान्सर भएको उनको आशङ्का छ । तर अहिले पनि उनको खेतबारीमा विषादीको प्रयोग रोकिएको छैन । घर अगाडिको बारीमा फलेको भान्टा देखाउँदै उनले भने, ‘अचेल परिवारका अरू मान्छेले विषादी छर्छन् तर उनीहरूलाई धेरै नहाल्नू है भन्छु ।’
साह र लामाकै छिमेकी रक्षा माझी अरूको खेतमा काम गर्थिन् । चार–पाँच वर्षदेखि हातखुट्टा झमझमाउने, दुख्ने, पोल्ने समस्या भोगेकी उनलाई स्तन क्यान्सर लागेको छ ।
घुर्कौलीकै मुनिलाल साहको पनि हातखुट्टा चिलाइरहन्छ । लामो समयदेखि तरकारी खेती गर्दै आएका उनले उत्पादन बढाउन लार्गो, सुपर किलर, दादा गार्ड, टोचन जस्ता विषादी हाल्ने गरेका छन् । उनलाई जस्तै घुर्कौलीका धेरै किसानलाई हातखुट्टा चिलाउने समस्या छ ।
साह, लामा र माझी जस्ता हरिवनका धेरै किसान अहिले क्यान्सरसँग जुधिरहेका छन् । यहाँका क्यान्सरका सबैजसो बिरामी व्यावसायिक किसान हुन् र हामीले भेटेका सबै किसानले लामो समयदेखि विषादी प्रयोग गर्दै आएका थिए। उनीहरू आफूलाई विषादीकै कारण क्यान्सर लागेको हुन सक्ने शङ्का गर्छन् ।
हरिवन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीका अनुसार नगर क्षेत्रमा क्यान्सरका ३६ जना बिरामी छन् । यीमध्ये वडा नम्बर ५, घुर्कौलीका मात्रै सात जना छन् । बिरामीको यो सङ्ख्या घातक रोगको उपचारका लागि सहुलियत लिन आएकाहरूको मात्रै भएकाले क्यान्सर रोगी अरू पनि धेरै हुन सक्ने हरिवन नगरपालिका–५ का वडाध्यक्ष नागेन्द्रप्रसाद साहको अनुमान छ । क्यान्सरकै कारण वडामा तीन वर्षमा २६ जनाले ज्यान गुमाइसकेको उनी बताउँछन् ।
राष्ट्रिय जनगणना, २०७८ अनुसार हरिवन नगरपालिकामा १० हजार ७४० घरपरिवार छन्। यीमध्ये ६ हजार ५५५ परिवारले खेती गरिरहेको राष्ट्रिय कृषि गणना, २०७८ को प्रतिवेदनमा उल्लेख छ । खेतीमा संलग्न किसानको यो संख्याले बालीनालीमा विषादीप्रतिको निर्भरताका कारण स्वास्थ्य समस्या विकराल रहेको अनुमान गर्न सकिन्छ । यसलाई पुष्टि गर्न विषादी प्रयोग र यसले पारेको असरबारेको बृहत् अध्ययन भने छैन ।
कृषि तथा पशुपन्छी विकास केन्द्र मातहतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले प्रकाशन गरेको पुस्तिका ‘विषादीको समुचित प्रयोग, भण्डारण र विसर्जन’ का अनुसार विषादीले मानव स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन असर गर्छ । रिंगटा लाग्नु, टाउको दुख्नु, मूर्छा पर्नु, थकान महसुस हुनु, होस हराउनु लगायत तत्काल देखिने समस्या हुन् भने क्यान्सर, ट्युमर, श्वासप्रश्वास सम्बन्धी समस्या दीर्घकालीन हुन् । घुर्कौलीमा क्यान्सर धेरैमा फैलिनुको कारण थाहा नभए पनि क्यान्सर किसानहरूमै बढी देखिएकाले विषादी पनि एउटा कारण हुन सक्ने स्थानीय जानकारहरू बताउँछन् ।
प्रतिबन्धित विषादीको प्रयोग
विषादीले मानव स्वास्थ्य, वातावरण, जैविक विविधता, माटो आदिलाई पार्ने असरबारे ध्यान दिँदै सरकारले विभिन्न किसिमका विषादीलाई विभिन्न समयमा प्रतिबन्ध लगाएको छ । अहिलेसम्म २४ प्रकारका विषादीको आयात र प्रयोगमा प्रतिबन्ध लगाइएको छ। तर यी विषादीको लुकिछिपी प्रयोग भइरहेको छ ।
सर्लाही सहित मधेश प्रदेशका विभिन्न ठाउँमा अनुगमन गर्दा किसानले प्रतिबन्धित कतिपय विषादीहरू प्रयोग गरेको पाइएको उष्णप्रदेशीय बागवानी केन्द्र, सर्लाहीले जनाएको छ । भारतसँग खुला सीमा भएकाले तराईका जिल्लाहरूमा एग्रोभेटले मात्र नभई किसान आफैँले पनि त्यस्ता विषादी ल्याउने गरेका छन् ।
हरिवनका एक एग्रोभेट सञ्चालक कतिपय एग्रोभेटमा प्रतिबन्धित विषादी लुकाई छिपाइ बिक्री हुने गरेको बताउँछन् । बालीनालीमा विषादीको अनियन्त्रित प्रयोग गर्दा र प्रतिबन्धित विषादी हाल्दा मानव स्वास्थ्यसँगै पर्यावरणमा पनि गम्भीर असर पर्ने विज्ञहरू बताउँछन् ।
विषादी प्रयोगमा हेलचेक्र्याइँ, सबैभन्दा धेरै तरकारीमा
किसानहरूले विषादीको प्रयोग गर्दा तथा यसको भण्डारण र विसर्जन गर्दा अपनाउनुपर्ने विभिन्न पाटाहरूमा हेलचेक्र्याइँ गर्दै आएका छन् । किसानले विषादीको सम्पर्कमा रहँदा तथा विषादी प्रयोग गर्ने क्रममा सुरक्षित पहिरन लगाउनुपर्छ । अर्थात्, पूरै शरीर छोप्ने कपडा, मास्क, पन्जा र चस्मा आवश्यक हुन्छ।
तर उनीहरू आफ्नो स्वास्थ्यमा ध्यान नदिई सुरक्षाको उपाय विना नै विषादीको सम्पर्कमा पुग्छन् । कतिपयले मुख छोपे पनि पन्जा र शरीर ढाक्ने कपडा लगाउँदैनन् । जीउ ढाक्ने कपडा लगाउँदा काम गर्न अप्ठ्यारो हुने किसानहरू बताउँछन् । देशका विभिन्न क्षेत्रमा रहेका किसानलाई विषादीको प्रयोग गर्दा अपनाउने सुरक्षा उपायको विषयमा सोधपुछ गर्दा उनीहरू पूरा ढाक्ने कपडा लगाउन भन्दा पनि कट्टु र टिसर्टमा सहज महसुस गर्ने बताउँछन् ।
विषादी विज्ञहरूका अनुसार कुनै पनि तरकारी बालीमा विषादी प्रयोग गर्दा निश्चित नियम अपनाउनुपर्छ । जस्तै, विषादीको प्रयोगपछि निश्चित समयसम्म उत्पादन टिप्नु हुँदैन । तर बेच्न लैजाने हतारले त्यो समयसम्म नपर्खी किसानले टिपिहाल्छन् ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका बाली संरक्षण अधिकृत माधव भट्टका अनुसार किसानहरूमा किसानहरूले विषादी प्रयोग पछि बजारमा पुर्याउन हतार गर्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘ज्ञानको कमी भएर मात्र नभई किसानलाई लागत धेरै पर्ने डरले पनि उत्पादन छिटो बजारमा पुर्याउनुपर्ने बाध्यता छ ।’
तरकारी बालीमा रोग लागेको हो कि कीरा लागेको हो भन्ने पनि थाहा नभई किसानले सोझै विषादी हाल्ने गरेको स्वयम किसानहरु नै बताउँछन् । बारीमा आउने हरेक समस्यामा किसानहरु विषादीको धेरै भर पर्ने गरेको पाइएको छ । अधिकांश किसान कृषि प्राविधिकको सल्लाह विना नै विषादी प्रयोग गर्ने गरेको स्विकार्छन् ।
धेरै किसानलाई त कृषि प्राविधिक हुन्छन् भन्ने समेत थाहा नहुँदा सीधै एग्रोभेट गएर विषादी किन्ने गरेको लामो समयदेखि व्यवसायीक तरकारी खेती गर्दै पर्वतका गोविन्द पौडेल बताउँछन् । उनका अनुसार बारीमा किरा वा रोग नलाग्दै उत्पादन बढाउने आशामा किसानहरूले कडा विषादी खोजिखोजी हाल्ने गर्छन् । सुरक्षित र प्रभावकारी जैविक विषादीलाई किसानले नपत्याउने गरेको एग्रोभेट सञ्चालकको गुनासो छ ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको पुस्तिका ‘विषादीको समुचित प्रयोग, भण्डारण र विसर्जन’ का अनुसार देशभरिमा सबैभन्दा धेरै विषादी प्रयोग हुने ठाउँ तराई हो । यहाँ एक हेक्टर जमिनमा ९९५ ग्रामका दरले विषादी प्रयोग हुने गरेको छ । कृषि गणना, २०७८ को तथ्याङ्क अनुसार ३९ प्रतिशत किसानले कम हानिकारक, ४६.६० प्रतिशतले मध्यम हानिकारक, १२.८० प्रतिशतले अत्यधिक हानिकारक र १.३५ प्रतिशतले सबैभन्दा धेरै हानिकारक विषादी प्रयोग गर्छन् ।
विषादीको प्रयोग बर्सेनि १० देखि २० प्रतिशतले बढिरहेको र यसमध्ये ९० प्रतिशत विषादी तरकारीमा प्रयोग भइरहेको विज्ञहरु बताउँछन् । विषादीको प्रयोगले एकातिर किसानले नकारात्मक असर भोगिरहेका छन् भने अर्कातिर उनीहरूको उत्पादन लागत पनि बढेको छ । धेरैजसो किसानले भान्टामा निकै कडा खालको विषादी दादा गार्ड प्लस हाल्छन् ।
भान्टामा धेरै कीरा लाग्ने भएकाले यसको खेती गर्दा विषादीमा धेरै खर्च लाग्ने उनीहरूको भनाइ छ । अन्य तरकारीमा पनि आम्दानीको २५ प्रतिशत हाराहारी विषादीमा खर्च हुने किसान बताउँछन् ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार आर्थिक वर्ष २०७८/७९ मा एक अर्ब ६२ करोड ३८ लाख रुपैयाँ बराबरको ३५ लाख ३० हजार किलोभन्दा धेरै विषादी आयात भएको थियो । भन्सार छलेर ल्याइने र किसानहरू आफैँले ल्याउने विषादी यसमा समावेश छैन ।
विषादीको प्रयोग किसानको बाध्यता, नियमन कमजोर
तरकारीमा रोग–कीराको आक्रमण हुने र सोचे अनुसारको उब्जनी नहुने कारणले विषादी प्रयोग पछिल्लो समय बाध्यता जस्तै बनेको किसानहरू बताउँछन् । किसानहरूका अअनुसार तरकारी नफल्ने र विषादी नहाले कीराले सक्ने भएकाले विषादी नहाली नहुने बाध्यता भएको सुनाउँछन् । उपभोक्ताले आकर्षक र सर्लक्क सप्रेको तरकारी खोज्ने भएकाले पनि विषादी हाल्नुपर्ने बाध्यता रहेको किसानहरूको भनाइ छ । विषादी नहाल्दा रोग–कीराले दाग लाग्ने, निकै सानो फल्ने भएकाले उपभोक्ताले नकिन्ने किसानको गुनासो छ ।
प्रतिबन्धित विषादीको अवैध आयात र प्रयोग नियमन एवम् अनुगमन हुन नसक्दा तरकारी बालीको विषले किसानदेखि उपभोक्तासम्म पिल्सिँदै आएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फलफूल र तरकारीमा जीवनाशक विषादी अवशेषको अधिकतम सीमा निर्धारण गरे पनि यस्तो मापदण्ड पालना भए÷नभएको प्रभावकारी नियमन भइरहेको छैन।
२०७४ सालमा तीन तहको निर्वाचन भएर सङ्घीय राज्य प्रणाली कार्यान्वयनमा आएपछि विषादी नियमन संयन्त्र दरिलो हुनुको साटो झन् फितलो हुँदै गएको छ । पहिले हरेक जिल्लामा एक जना विषादी निरीक्षक रहने गरेकोमा हाल जनशक्ति व्यवस्थापन हुन सकस भइरहेको अधिकारीहरू बताउँछन् ।
साबिकको जिल्ला कृषि विकास कार्यालय परिणत गरेर बनाइएको कृषि ज्ञान केन्द्र ५२ जिल्लामा मात्र छ । हरेक जिल्लामा कृषि ज्ञान केन्द्र र विषादी निरीक्षक नहुँदा विषादी नियमनमा समस्या भएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका बाली संरक्षण अधिकृत मनोज पोख्रेल बताउँछन् ।
असुरक्षित विषादीको प्रयोग
सरकारसँग तथ्याङ्क छैन, तथ्य पनि स्वीकार गर्दैन, सूचना पनि दिँदैन
देशैभर विषादीका कारण किसानमा क्यान्सरको समस्या देखिएका खबर आइरहँदा यसको वास्तविक अवस्था बुझ्न कृषि म्यागजिनको टिम प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र पुगेको थियो । केन्द्रमा हामी पुग्दा केही कर्मचारीहरू गोरखाको गण्डकी गाउँपालिकामा विषादी प्रयोगको अवस्था बुझ्न गठन भएको कार्यदलसँग प्रतिवेदन लेखनमा व्यस्त देखिन्थे ।
हामी सूचना सङ्कलनका लागि कार्यालयको सूचना पार्टीमा उल्लेख गरिएका सूचना अधिकारी वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलको कार्यकक्षमा पुग्यौ । पौडेलले आफू सूचना अधिकृत भएता पनि विषादीको बारेमा कार्यालयका अर्का वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेललाई धेरै जानकारी भएको भन्दै उनको कार्यकक्षमा पठाए । विषादीको पछिल्लो अवस्था र किसानलाई दिनुपर्ने सुरक्षा उपायका विषयमा सोधपुछका लागि हामी उनले काम गरिरहेको कक्षमा पुग्दा उनी आफूसँग यस विषयमा धेरै जानकारी नभएको भन्दै पन्छिन खोजे ।
पोख्रेल पत्रकारहरूले विषादीका कारण मात्रै क्यान्सर फैलिएको सन्देश प्रवाह भएको भन्दै हामीलाई रिर्पोटिङमा हिड्दा क्यान्सरका विषयमा थप अध्ययन गरेर आउन आग्रह गरे । हातमा ‘राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३०’ बोकेका पोख्रेलले किसानलाई क्यान्सर मात्र नभई पाठेघर, मुटु लगायतका अन्य समस्या पनि देखिएको बताए । पछिल्लो समय विषादीका कारण किसानमा समस्या देखिएको खास कुरा के हो ? भन्ने हाम्रो प्रश्नमा पोख्रेलले आफूहरू मन्त्रीको निर्देशनमा प्रतिवेदन लेखनमा रहेका कारण यस बारेमा बोल्न नमिल्ने बताउँदै गर्दा अर्का बाली संरक्षण अधिकृत माधव भट्ट समाचारमा आएको जस्तो किसानमा क्यान्सरको समस्या नदेखिएको तर्क गरे ।
नेपालमा प्रतिवन्धीत विषादीको प्रयोग नभएको बताउने कर्मचारीहरू किसानले कसरी र कति मात्रामा विषादीको प्रयोग गर्छन भन्ने कुरामा अनविज्ञता जनाउँछन । कार्यालयका बाली संरक्षण अधिकृत भट्ट नेपालमा अहिलेसम्म यस्तो किसिमका अनुसन्धान नै नभएको तर्क गर्छन् । उनी भन्छन, ‘नेपालमा किसानले कसरी र कति मात्रामा विषादीको प्रयोग गर्छन भन्ने अनुसन्धान नै भएको छैन ।’ उनी थप्छन्, ‘नेपालमा प्रतिबन्धित विषादीको प्रयोग निरुत्साहित गर्नका लागि बिक्री गर्ने एग्रोभेटलाई कारबाहीको दायरामा ल्याउने गरिएको छ।’ भारतीय नाकाबाट अवैध रूपमा भित्रने विषादीको बारेमा आफूहरू जानकार नहुने कार्यालयका अधिकारी बताउँछन् ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत पोख्रेलका अनुसार नेपालमा विषादीको अनुचित प्रयोगका सम्बन्धमा सरकारी मापदण्ड भएता पनि अनुगमन र नियमनको व्यवस्था नै छैन । पहिला कृषि कार्यालय मार्फत केही मात्रामा यसको लागि काम भएता पनि सङ्घीय व्यवस्था पछि प्रदेश र स्थानीय तहले कर्मचारीको व्यवस्थापन नगर्दा काम हुँनै नसकेको उनी बताउँछन् ।
नेपालमा किसानले बारीमा मात्र होइन । भान्सामा आउने तरकारी तथा फलफूलको विषादी मात्रा चेकजाँच गर्ने निकाय पनि व्यवस्थित भएको पाइदैन् । देशको सबैभन्दा ठुलो तरकारी बजार कालीमाटी तरकारी तथा फलफूल बजारमा भित्रने तरकारी तथा फलफूलमा कति विषादी छ भन्ने विषय भगवान् भरोसा हुने बताइन्छ । नेपालमा चेकजाँचका लागि कर्मचारी र प्रविधि दुवैको अभाव रहेको कर्मचारी बताउँछन् । तर, सरकारले भने विषादी परीक्षण नगरिएका खाद्य बजारमा पठाउन नपाइने व्यवस्था गरेको छ ।
सन्दर्भ सामाग्री
https://swasthyakhabar.com/story/54771
https://www.himalkhabar.com/news/140827
https://aitc.gov.np/ne