पशुपंक्षीमा लाग्ने थुनेलो रोग र उपचार विधी

– डा. संजिव पण्डित
थुनेलो रोग दुध दिने पशुहरुमा कल्चौडो सुनिएर हुने एक संक्रामक एवम् आर्थिक दृष्टिले अत्यन्त महत्वपूर्ण रोग हो । जसको प्रभाव डेरी उद्योगहरुमा प्रत्यक्ष रुपले पर्दछ । यो रोग आर्थिक दृष्टिकोणले गाई र भैंसीमा अत्यन्त बढी देखिन्छ ।

विश्वका लगभग ४५-५०% गाई भैंसी कुनै न कुनै समयमा थुनेलो रोगबाट ग्रसित भएको तथ्याङ्कले जनाएको छ । नेपालको सन्दर्भमा पनि ४५% जति गाई र ३५–४० % भैंसीहरु थुनेलो बाट ग्रसित छन् ।

यो रोग लाग्नुको कारण निम्न अनुसार छन

विभिन्न किसिमका जिवाणु, किटाणु, विषाणुहरुले यो रोग गराउँछ । केही प्रकारका ढुसीहरुले पनि यो रोग उत्पन्न गर्न सक्दछ ।

जिवाणुमा मुख्यतयाः स्ट्रेपटोकोकस, स्ट्फाइलोकोकस, कोरीनिवेक्टीरियम, माईक्रोबैक्टीरियम ट्युवरकुलोसिस, स्युडोमोनास, साल्मोनेल्ला, लेप्टोस्पाईरा, बु्रसेल्ला एवोर्टस आदि ।

वातावरणमा जथाभावी छरिएर रहेको जिवाणु तथा अघिल्लो बेतमा थाकिसकेपछि यो वेत नवियाउँदै बीचको समयमा कल्चौडो भित्र विकसित भई बसेको जिवाणुले गर्दा यो रोग लाग्छ । साधारणतया थुनको प्वालबाट थुनभित्र जिवाणुहरु प्रवेश गरेको खण्डमा जनावरलाई यो रोग लाग्दछ । कहिले काहीँ थुनमा चोटपटक लाग्दा भएको घाउबाट पनि जीवाणुहरु थुनमा प्रवेश गर्न सक्दछन् ।

दुधालु गाईभैंसीमा ठीक तरिकाले दुध नदुहँदा, फोहर हातले दुध दुहँदा, फोहोर पानीले थुन पखाल्दा र पूरा दुध नदुहुँदा यो रोग लाग्दछ । थुनिलो एक सरुवा रोग हो । सावधानी नअपनाएको खण्डमा यो रोग अन्य जनावरहरुमा पनि सर्न सक्दछ । यो रोग भेंडा–बाख्रालाई पनि लाग्न सक्दछ ।

थुनेलो लागेमा कस्तो लक्षणहरू देखिन्छ ?
यो रोग लागिसकेपछि दुधमा, कल्चौडोमा र पशुमा असामान्य परिवर्तनहरु पाउन सक्छौं ।
१) दुध
– दुधको रङ्ग पातलो, पहेलो र फिक्का हुने
– दुधमा झोल र चौटा हुने
– दुधमा लेग्रा–लेग्री आउने,
– दुधमा पीप वा रगत मिसिएर आउने ।
२) कल्चौडोमा
– कल्चौडोको एक भाग सुन्निने,
– दुख्ने र तातो हुने,
– कल्चौडोको कुनै एक भागवा पूरा भाग साह्रो भएर आउनु,
– कल्चौडो पुरै सुन्निने र दुख्ने ।
३) पशुमा
– दाना पानी नखाने,
– दुध दुहुन खोज्दा निकै छट्पटाउने,
– दुध उत्पादन एक्कासी घटाउने,
–ज्वरो आउने,
– बसिरहने तर नउग्राउने,
– थुनबाट दुध आउन सधैंको लागि बन्द हुने र उपचार नगरेको खण्डमा जनावरको मृत्यु समेत हुन सक्छ ।
कस्तो अवस्थामा पशुलाई बढी खतरा हुन्छ ?
– दुहुनेको अवस्था : गाई वा भैंसी ब्याएपछिको शुरुको (दुई महिना) बढी दुध दिने गाई वा भैंसी
– उमेर : चौंथो वेतपछिको दुहुनो गाई र भैंसीमा यो रोग बढी देखिएता पनि कहिलेकाही पहिलो बेतमा पनि यो रोग देखिएको पाईन्छ ।
– घाउ : थुनको टुप्पोमा घाउ भएको गाई र भैंसी
– गोठ : बढी हिलो र फोहर गोठमा रहेको गाई र भैंसी
– दुहुने तरिका : हत्केलाले थिचेर दुहुने गर्दा
– हात : फोहर हातले दुहुने गरेमा ।

आर्थिक नोक्सान
–दुध उत्पादनमा प्रति गाई वा भैंसीमा ७०% ले कमी आउँछ ।
– थुनेलोबाट मिल्काईने गाई र भैंसी (१०० वटा संक्रमित गाईमा १४ वटा जति काम नलाग्ने हुन्छन्) – उपचार खर्च ः कुल आर्थिक नोक्सानको ८ % जति उपचारमा खर्च हुन्छ ।

कसरी थुनेला थाहा पाउने ?

– दुधमा देखिने परिवर्तनबाट, (दुधको मात्रा घट्ने)
– कल्चौडामा देखिने परिवर्तनबाट
– दुधको पि.एच. टेस्टबाट साधारणतया दुधको पि.एच. ६.६ हुन्छ तर थुनेलो भएमा पि.एच. बढेर ७.४ वा सो भन्दा माथि पुग्छ ।
– लिट्मस पेपरको प्रयोगबाट : साधारणतया लिट्मसपेपरको रङ् पहेलो हुन्छ तर थुनेलो भएको गाई वा भैसिको दुधमा उक्त लिट्मसपेपर राख्दा हरियो वा नीलो रङ्गमा परिणत भएमा थुनेलो भएको मानिन्छ ।

क्यालिफोर्निया मस्टाइटिस टेस्टबाट (CMT) दुध परिक्षणको नमुना संकलन कसरी गरिन्छ ? परिक्षणको लागि ल्याइएको दुध विधि नमिलेर फर्काउनु पर्ने हुन्छ । त्यसैले तल उल्लेखित विधि अनुसार नमुना दुध संकलन गर्नु उपयुक्त हुन्छ ।

– संकलन गर्नु भन्दा पहिले कल्चौडो र थुन पोटास पानीले सफा गर्नुपर्छ ।
– त्यसपछि सफा कपडाले थुन पुछ्नुपर्छ ।
– किसानले साबुन पानीले हात धोएर मात्र दुध दुहुन पर्छ ।
– नमुना दुध संकलन गर्ने बोतलको बिर्काे खोलेर १५ मिनेट सम्म उमाल्नुपर्छ ।
– बोतलको मुखमा नछोइकन दुध संकलन गर्नुपर्छ ।
– दुध संकलन गर्दा बोतलको मुखले थुनको टुप्पो छुनु हुँदैन ।
– एउटै कल्चौडोको छुट्टाछुट्टै थुनको दुध छुट्टाछुट्टै बोतलमा राखेर नाम लेख्नुपर्छ ।

रोगको उपचार, नियन्त्रण एवम् रोकथामका उपायहरु

१) थुनेलो रोग लाग्ना साथ उपचार गर्नुपर्दछ र यो रोग लाग्नै नदिन गाई भैंसीलाई शारिरीक तागत बढाउने धुलो औषधीहरु (जस्तै Immunity Powder) हरु खुवाउनुपर्छ ।

यो रोगको उपचारको निम्ति Antibiotic sensitivity test गरेर पेनिसिलिन, स्ट्रेप्टोमाइसिन, अक्सिटेट्रासाईक्लिन, एम्पिसिलिनको सुई र यी एन्टिबायोटिक भएको विशेष औषधि जनावरको थुनमा हाल्नुपर्दछ वा प्राविधिकको सल्लाह बमोजिम सुई लगाउनुपर्छ ।

यी औषधिहरु हरेक २४ घण्टा को अन्तरालमा ४–५ दिनसम्म प्रयोग गर्नुपर्दछ । थुनबाट पूरा दुध निकालि सकेपछि मात्र थुनमा औषधि हाल्नुपर्दछ । थुन सुन्निएको छिटो निको गर्नको लागि कर्टिकोस्टेरोइड (Corticosteroid) को इन्जेक्सन दिन सकिन्छ ।

२) थुन छिनमै रन्किएर आएमा बरफले सेक्ने गर्नुपर्छ ।

३) गाई/भैंसीको गोठ सफा राख्ने गर्नुपर्छ ।

४) गोठमा राम्रो सँग पोटास पानी वा फिनेल छर्किने गर्नुपर्छ ।

५) पोटास पानीले दुध दुहुन भन्दा अघि र पछि कल्चौडो राम्रो सँग सफा गर्नुपर्छ ।

६) हात साबुन पानीले धोइसकेपछि मात्र दुध दुहुन गर्नुपर्छ ।

७) दुध पुरै निखार्ने गरी दुहुने गर्नुपर्छ ।

८) दुध दुहिसकेपछि थुन ५% आयोडिनको झोलमा डुबाएर निकाल्ने गर्नुपर्छ ।

९) दुध दुहिसकेपछि गाई भैंसीको थुन नली केही वेर सम्म खुल्ला हुन्छ । यस्तो अवस्थामा जनावर भुईंमा बसेमा जिवाणु थुन नलीबाट भित्र जान्छ र रोग लाग्छ । तसर्थ दुध दुहुने बित्तिकै पशुलाई बस्न नदिनका लागि पशु आहार (घाँस, पराल) दिनुपर्दछ ।

१०) पहिले स्वस्थ थुन दुहुने अनि मात्र अस्वस्थ थुन दुहुने गर्नुपर्छ ।

११) थुनिलो रोगको लक्षण देख्ने बित्तिकै पशु चिकित्सक तथा प्राविधिकहरुको सल्लाह बमोजिम औषधि उपचार गर्नुपर्दछ ।

१२) औषधि उपचार गरेर निको भएको जनावरको दुध ४ दिनसम्म उपयोगमा ल्याउन हुँदैन र दुध दुहेर फालिदिनुपर्छ । किनकी उक्त दुधले मानिसमा पेटको समस्या निम्त्याउन सक्छ ।

कृषि सूचना तथा प्रशिक्षण केन्द्रको कृषि त्रैमासिक पत्रिकाबाट साभार