चितवन, चैत १८ –
नारायणगढस्थित नारायणी नदी नजिक ५२ वर्षदेखि बसोबास गर्दै आउनुभएका पुराना पत्रकार ईश्वर जोशी नदीमा घडियाल गोही देखिन छाडेकामा चिन्ता व्यक्त गर्नुहुन्छ ।
दुई दशक लामो पत्रकारिता जीवनको शुरुआती क्षणमा सोही क्षेत्रको बगरमा घडियाल गोही घाम तापेको दृश्य आज पनि उहाँको मानसपटलमा ताजै छ । त्यसो त उहाँले कालीगण्डकीमा गोहीको अण्डा संकलन गरिएको आफ्नै आँखाले देख्नुभएको छ । दिनानुदिन मानवीय गतिविधिसँगै नदी प्रदूषण हुँदा ती दुर्लभ जलचर हराएकामा आफू चिन्तित बनेको उहाँले बताउनुभयो । जोशीले भन्नुभयो “नारायणीको पुलदेखि कालीगण्डकीसम्म नै नदी छेउको बगरमा घडियाल गोही देखिन्थे । निकुञ्जले अण्डा संकलन गथ्र्यो ।” आजभोलि गोही मात्रै होइन माछा पनि देखिन छाडेको उहाँले बताउनुभयो ।
भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्र नारायणगढ र भरतपुरको ढल सोझै नारायणी नदीमा मिसाइँदै आएको छ जुन जलचरका लागि निकै हानिकारक मानिन्छ । गत महिना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सो क्षेत्रमा गोही गणना गर्दा नारायणीको पुलबाट देवघाटसम्मका क्षेत्रमा गोही देखिएनन् ।
विभागका पर्यावरणविद् लक्ष्मण पौडेलका अनुसार मानवीय चाप बढेसँगै बढेको प्रदूषणका कारण यस क्षेत्रमा गोही हराएको हो । पहिले पहिले सो क्षेत्रसँगै कालीगण्डकी नदीमा पनि अण्डा संकलन गर्ने गरिएको भए पनि अहिले हराएर गएको उहाँले बताउनुभयो ।
गोही सफा पानीमा बस्ने र बालुवामा गुँड बनाउने बताउँदै उहाँले पानी प्रदूषित हुनु र नदी किनारमा बालुवाको कमीका कारण गोहीका लागि आवश्यक वातावरण बन्न सकेको छैन भन्नुभयो ।
चितवन राष्ट्रिय निकुञ्जमा लामो समयदेखि घडियाल प्रजनन केन्द्र हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्का २०५९ सालसम्म नारायणगढको पुलबाट देवघाट हुँदै कालीगण्डकीसम्म गोहीको अण्डा संकलन गर्ने गरिएको बताउनुहुन्छ । उहाँका अनुसार त्यसयता गोही हराउँदै गएपछि त्यस क्षेत्रमा अण्डा भेटिन छाडेको छ ।
पानीभित्र रहेको ढुंगामा लाग्ने खैरो र हरियो लेउ माछालगायत जलचरले खाने भए पनि अहिले पानीभित्र ढुंगाको कमी र प्रदूषण बढ्नाले जलचरमा कमी आएको उहाँको भनाइ छ । खड्काले भन्नुभयो, “पानीभित्र ढुंगामा लागेको लेउ र माछाको भुँडीको स्वाद उस्तै तीतो हुन्छ । यसको अर्थ माछाजस्ता जलचरको एउटा आहारा लेउ पनि हो ।” त्यस्तै नदीका छेउमा बगाएर ल्याइएका रुख, मुढा मान्छेले लगिदिँदा जलचरले गुँड लगाउन र बस्न नपाएको उहाँको भनाइ छ ।
देवघाट क्षेत्रमा दिनहुँ ठूलो संख्यामा शव दहन गरिँदा कोइला, धुवाँलगायतले बालुवा र नदीभित्र पनि प्रदूषण बन्ने गरेको र त्यसको प्रभाव प्रत्यक्ष रुपमा गोही जस्ता जलचरमा पर्ने गरेको खड्का बताउनुहुन्छ ।
नारायणी पुलदेखि दक्षिणतर्फ वन क्षेत्र पर्ने भएकाले मानवीय गतिविधि कम हुँदा त्यस क्षेत्रमा भने गोही रहेका छन् । समयमै ती क्षेत्रमा पनि ध्यान पु¥याउन नसकेमा यस्ता महत्वपूर्ण जलचर हराउँदै जाने खड्काको चिन्ता छ । निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोही हुर्काएर राप्ती र नारायणी नदीमा हरेक वर्ष गोही छाडिँदै आएको छ । मानव अतिक्रमणका हिसाबले नारायणीभन्दा राप्ती गोहीका लागि बढी सुरक्षित क्षेत्र मानिन्छ ।
-उज्यालाेबाट साभार