बाजुरा , वैशाख ३० –‘डिलभिटा तिनताउन हुँदोबीच धानबाली, म सम्झिँदा फल्न्याँदाल अहिले भयो खाली ।’
बाजुराको त्रिवेणी नगरपालिका –३ पूर्वुताकी ७५ वर्षीया रासकला शाहीले पहिला–पहिला खेतका आलीमा भटमास, गहत, मुसुरो र मास प्रशस्तै फल्ने गरेको सम्झना देउडा भाकामा सुनाउनुभयो । तर, अहिले त्यस्ता दलहन बाली फल्न छोडेकोमा उहाँ दुखी हुनुहुन्छ ।
बाजुराको बुढीगंगा, ब्रह्मतोला, तोली, कुल्देवमाडौं, कैलाशमाडौं लगायत गाउँमा अहिले दलहन फल्न छाडेको छ । दाल फल्न छोडेपछि अहिले बजारबाट किनेको दालमा निर्भर हुनुपरेको बुढीनन्दा–३ का बलबहादुर शाहले बताउनुभयो ।
‘ढुङ्गामा अलिकति माटो भएको ठाउँमा परेका गहतका दाना फलेको बोटबाट एक छाक दाल पुग्थ्यो बुढीगंगा–१ अम्कोटका लक्ष्मीराज पाध्यायले भन्नुभयो, ‘आजभोली गाउँमा खानेपानी पनि छैन, आकासबाट पानी परेको दिन गाउँ नै बगाउँछ कि भन्ने डर हुन्छ, फेरि सुकिजान्छ ।’
पहिले खेतका आलिभरी भटमास, सिमी, मास, गहत, लगायत दाल फल्ने गरेको बुढीगंगा–३ की ५६ वर्षीया कलु देउवाले भन्नुभयो ।
‘अहिले सबै कथाजस्तै भइसक्यो । पैसा नहुनेले धुलोको फाँडोसँग भात खानु पर्छ । हुनेले बजारबाट देशी दाल, चाउचाउ, भटमासको मस्यौरा किनेर खाने गरेको हाम्रो गाउँमा अहिले दाल फल्न छोड्यो,’ देउवाले भन्नुभयो, ‘त्यसपछि हामीले विभिन्न ठाउँमा खबर गर्यौँ । अहिले कृषिले हामीलाई रहरको दालको बिउ दिएको छ ।’
बाह्यबीसका तिलख पुरी भन्नुहुन्छ, ‘पहिला हामीले तराइमा मात्र यस्तो दाल देखेका थियौँ । अहिले यहीँ पनि फल्न थालेको छ । हाम्रो यहीँ फल्ने दाल त अहिले यहाँ पाउन पनि सकिँदैन । बिउ पनि छैन । फेरि चाहिने समयमा पानी पर्दैन नचाहिने बेलामा वर्षा हुने गरेको छ ।’
मौसम परिवर्तनले गर्दा बाजुरामा पहिले फल्ने फलफुल समेत फल्न छोडेका छन् । पानीका मुहान सुक्ने समस्या छ । यसले कृषिमा ठूलो चुनौतीको रुपमा देखिएको छ ।
फलफूल फल्न छाडे
जिल्लाको पूर्वोत्तर क्षेत्रको पाण्डुसैन, जुकोट र गोत्रीमा हुने स्याउका बोटहरुमा फल लाग्न छोडेको छ ।
यस समयमा लटरम्म फुल्ने स्याउका बोटहरु अहिले फुल्न छोडेका छन् । ‘अहिले मेरो बगैचामा स्याउ नभएको केही बर्ष भयो, यहाँभन्दा माथिका गाउँमा मात्र आजभोली स्याउ फल्छ ।’ बुढीनन्दा नगरपालिका–८ का नन्दबहादुर रोकायाले भन्नुभयो ।
बडिमालिका नगरपालिकाको–२ जुगाडामा केही बर्षदेखि चुकीला जातका फलफुलको भण्डार नै थियो । ‘सदरमुकामा जाने सुन्तला, कागती यहीँबाट जाने गरेको थियो, तर आजभोली गाउँमा खानको लागि पनि समस्या भएको छ।’ वडाअध्यक्ष डम्मर महतले बताउनुभयो ।
पछिल्लो समय तापक्रम बढेका कारण यहाँका किसानले बर्षौंदेखि लगाउँदै आएका र त्यसबाट आम्दानी लिईंदै आएका फलफु्लहरु फल्न छोडेका हुन् । जिल्ला कृषि विकास कार्यालयका प्रमुख युगकिसोर तिवारीले बताउनुभयो ।
स्याउको चक्रमै समस्या
गएको वर्ष बुढीनन्दा–८ काँधका नन्दबहादुर रावतको स्याउबारीमा फूल लागेर पुस महिनामै ढमक्क भएपछि स्थानीय किसानहरु सबैले अचम्म माने । उनीहरुले सदरमुकामस्थित जिल्ला कृषि विकास कार्यालयमा खबर गरे । सदरमुकामबाट कृषि अधिकृत सहितको टोली पाण्डुसेन पुगेपछि पुस महिनामै स्याउबारी फूलले ढाकिएको देखेर उनीहरु अचम्मित भए ।
चैत्र–वैशाख महिनामा फूल लागेर भदौ असोजमा फल पाक्ने भएको र त्यसै अनुसार स्याउ खेती गर्ने उपायवारे किसानहरुलाई पढाउँदै, सिकाउँदै आएका कृषि अधिकृतहरुलाई पुसमै स्याउ फुलेको देखेपछि किसानहरुलाई तत्काल ठोस कारण बताउन गाह्रै प¥यो । अनुगमनमा गएका बागवानी अधिकृत दिलबहादुर सिंहले भने, ’जलवायु परिवर्तनको असर भनेर फर्कियौं ।’
खप्तड छेडेदह गाउँपालिका का जगतबहादुर रावतले यस बर्ष मेहल चाँडै फुलेकोमा अच्चमा मानेका छन् । बाजुरा र बझाङ्ग जिल्लाको सिमानामा उनले बीस वर्षदेखी पसल चलाउँदै आएका छन् ।
बाजुरामा पाण्डुसैनलाई स्याउको भण्डार मानिन्छ । यहाँका अधिकांश परिवारहरुले स्याउ खेती गरेका छन् । पुस्तौदेखि स्याउ खेती गर्दै आएका किसानहरुले पुस महिनामै स्याउका बोटमा फूल लागेको पहिलोपल्ट देखे । ‘यसअघि चैत्र–वैशाखमा स्याउका बोटमा फूल लाग्थ्यो,’ नन्दबहादुर रावतले भने । – उज्यालाे बाट