मागको ५ प्रतिशत मात्र धान्छ नेपालको प्याजले, आलुको उत्पादन पनि ५० प्रतिशत मात्रै

काठमाडौं । नेपाल कृषि प्रदान देश हो । नेपालका झण्डै ६६ प्रतिशत नागरिक अझै पनि कृषि पेशामा नै आश्रित रहेका छन् । जीवन निर्वाहमुखी नेपालको कृषिलाई व्यवसायीक बनाउने बहस पनि नयाँ होइन । सरकारै पिच्छे कृषिलाई नयाँ उचाइ दिने गरी योजना पनि बन्ने गर्छन, तर विडम्बना अहिले सम्म ठोस उपलब्धि हासिल गर्न सकेको छैन नेपालको कृषिले ।

हरेक नेपालीको भान्छामा हरेक दिन प्रयोग हुने खाद्यान्न हो आलु र प्याज । हरेक दिन आवश्यक पर्ने आलु र प्याजका लागि नेपालीले झण्डै १२ अर्ब रुपैयाँ खर्चने गरेको तथ्यांकले देखाएको छ । यो मध्ये ९५ प्रतिशत प्याज आयाति हो भने ५ प्रतिशत मात्रै नेपाली उत्पादनले धान्ने गरेको छ ।

तरकारीमा अति आवश्यक पर्ने आलु पनि ५० प्रतिशत मात्रै नेपाली उत्पादनले धान्छ । मागको ५० प्रतिशत भारतलगायत तेस्रो मुलुकबाट आयात हुन्छ । नेपालीले स्वदेशी उत्पादनबाहेक एक वर्षमा झण्डै १२ अर्बको आयातित आलु र प्याज उपभोग गर्दै आएका छन् । आलुको उत्पादन नेपालमा हुँदै नभएको होइन । उत्पादन हुन्छ तर मागको करिब ५० प्रतिशतभन्दा बढी छ ।

प्याजको उत्पादन भने कुल मागको करिब पाँच प्रतिशत मात्रै हुन्छ । मागअनुसार उत्पादन स्वदेशमा नहुँदा यो परिमाणमा बर्सेनी आलु र प्याज चीन, भारत, बंगलादेश, इण्डोनेसिया, बेल्जियम, मलेसिया र अमेरिकाबाट आयात हुँदै आएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार ११ अर्ब २० करोड ९५ लाख ४५ हजार रुपैयाँमध्ये आव २०७४/७५ मा चार अर्ब ८५ करोड ३७ लाख रुपैयाँको तीन लाख १९ हजार एक सय ६ मेट्रिक टन प्याज आयात भएको थियो ।

यस्तै ६ अर्ब ३५ करोड ५८ लाख ३६ हजार रुपैयाँको तीन लाख ८४ हजार ९ सय ७६ मेट्रिक टन आलु आयात भएको थियो । आव ०७३/७४ मा पाँच अर्ब ५२ करोडको आलु आयात भएको थियो । यस्तै सोही वर्ष चार अर्ब २० करोड ९८ लाख रुपैयाँको एक लाख ३० हजार एक सय ३० मेट्रिक टन प्याज आयात भएको थियो ।

यसबाहेक आव ०७४/७५ मा १० करोड ३९ लाख रुपैयाँको एक सय ७६ मेट्रिक टन चिप्स बनाउने आलु पनि आयात भएको थियो । चिप्स प्रयोजनका लागि आलु आयात दर बढ्दो छ । चिप्सका लागि नेपालमा आलु उत्पादन नहुने भएकाले आयातदर वृद्धि भएको हो ।

राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रका अनुसार नेपालमा आलुको कुल माग साढे ३२ लाख मेट्रिक टन छ । यसमध्ये स्वदेशमै करिब २८ लाख मेट्रिक टन उत्पादन हुन्छ । अपुग करिब साढे चार लाख मेट्रिक टन आयात हुन्छ ।

यस्तै प्याजतर्फ करिब पाँच लाख मेट्रिक टनको माग छ । यसमध्ये स्वदेशमा करिब एक चौथाई एक लाख ४८ हजार मेट्रिक टन मात्रै उत्पादन हुन्छ । बाँकी माग आयातित प्याजको हिस्साले पूरा गर्दै आएको केन्द्रको तथ्यांकले देखाएको छ । उपत्यकामा मात्रै दैनिक दुई सय ७० मेट्रिक टन प्याज खपत हुन्छ । नेपालमा भारतको नासिक, इण्दौंर, कानपुर, चण्डीगढ र सिमलालगायत स्थानबाट प्याज आयात हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here