परासी — गत वर्ष यतिबेला पश्चिम नवलपरासीका किसानले चिनी उद्योगबाट उखु बिक्रीबापतको रकम बुझिसकेका थिए । त्यही रकमले धान खेती गर्ने, घर व्यवहार चलाउने र उखु खेती गर्दा लागेको ऋण चुक्ता गरे । यस वर्ष अवस्था फरक छ । न त उनीहरूले गत वर्षको भुक्तानी पाए, न यसपालिको उखु नै बिक्यो ।
जिल्लामा क्रसिङ नसकिँदै चिनी उद्योग बन्द भए । करिब ७५ बिघामा लगाइएको ५ करोड मूल्य बराबरको एक लाखभन्दा बढी क्विन्टल उखु सुक्यो । अब त्यो उखु दाउराका रूपमा प्रयोग गर्नुपर्ने अवस्थामा पुगेको छ ।
बारीमा सुकेको उखु हेरेर टोलाउनु सिवाय उनीहरूसँग विकल्प छैन । वर्षभरि दुःख गरेर उत्पादन गरेको उखु बारीमा सुकेपछि प्रतापपुर–२ का भोलानाथ चौधरी चिन्तित छन् । खेती गर्दा लागेको ऋण तिर्ने र घरखर्च कसरी चलाउने भन्ने पिरलो छ । उद्योगले नकिनेपछि आँगनमा चाङ बनाएर सुकेका उखु राखेका छन् । ‘अब वर्षभरिलाई दाउरा हुन्छ,’ उनले भने, ‘त्यसबाहेक विकल्प पनि छैन ।’ १० कट्ठा जमिनमा लगाएको उखुमध्ये आधा खेतमै सुक्यो ।
उद्योग बन्द भएपछि केही उखु स्थानीय क्रसरमा कौडीको मूल्यमा बिक्री गरेको उनले बताए । अहिले क्रसर पनि बन्द भएपछि दाउराका रूपमा प्रयोग गर्नुपरेको छ । गत वर्षसम्म उद्योगलाई उधारोमा बेचे पनि यसरी खेतमा सुकेर खेर गएको थिएन । ‘खेतमा सुकेर काम नलाग्ने भयो,’ उनले भने, ‘यस्तो अवस्थामा पनि सरकारले किसानको समस्या बुझ्न सकेन । बाँकी उखु क्रसिङ गर्ने वातावरण बनाइदिनुपर्यो ।’
स्थानीय रामकरण चौधरीले उखु काटेर बिक्री गर्न लैजान खोज्दा उद्योगबाट पुर्जी पाएनन् । पुर्जीबिना उद्योगले खरिद गर्दैन । ट्याक्टरमा लोड गरेर राखेको उखु आफ्नै आँखाअगाडि सुकेर दाउरा भएको छ । केही दिनपछि उद्योग खोलेर समस्या समाधान होला भन्ने आशा गरेका थिए । नखुलेपछि उखु काम नलाग्ने भएको छ । सुकेको उखु हेर्दा उनका आँखा रसाउँछन् । वर्षभरिको मिहिनेत र लगानी सम्झेर भक्कानिन्छन् । यही खेतीको भरमा छजनाको परिवारपाल्दै आएका उनको यस वर्ष भने मजदुरी नगरी गुजारा चल्ने अवस्था छैन । ‘तीन महिना ढिलो सञ्चालन गर्ने अनि उखु नसकिँदै बन्द गर्ने उद्योगीलाई कारबाही हुन्छ कि नाइँ रु’ उनले भने ।
जिल्लामा तीनवटा चिनी उद्योग छन् । लुम्बिनी चिनी उद्योग डेढ महिनाअघि बन्द भएको थियो । वाग्मती र इन्दिरा चिनी उद्योगले २० दिनअगाडि क्रसिङ बन्द गरेपछि उखु खेतमा सुकेको हो । केही किसानले सस्तोमा भए पनि क्रसर उद्योगलाई बेचे पनि उखु फुलेर सुक्न थालेपछि रस कम उत्पादन हुने भन्दै भेली उद्योगले किन्न छाडेका छन् ।
चिनी मिलले आफूखुसी मिल सञ्चालन गर्ने र मन लागेको दिन बन्द गर्दा यस क्षेत्रका किसान बर्सेनि समस्यामा पर्ने गरेका छन् । मिल सञ्चालन हुँदा भुक्तानीका लागि वर्षौं कुराउने र कहिले किसानले काटेर नसक्दै उद्योग बन्द गर्दा पनि सरोकारवाला मौन छन् ।
उखु उत्पादक कृषक समितिका जिल्ला अध्यक्ष उमेश यादवले किसानले लगातार दबाब दिँदा पनि उद्योगीले वास्ता नगरेको आरोप लगाए ।
‘हामी जिल्ला प्रशासनदेखि केन्द्रसम्म किसानका समस्या समाधानका लागि डेलिगेसन गयौं,’ उनले भने, ‘सरकार मूकदर्शक बनिरहेको छ । किसान जाँदा हुन्छ भन्ने अनि काम नगर्ने परिपाटीले समस्या भएको छ ।’ तत्काल उखु काट्न बाँकी किसानको मूल्यांकन गरेर क्षतिपूर्ति दिनुपर्ने उनले बताए ।
उखुको तौल घटदै गएको र रस कम आउन थालेपछि उखु खरिद बन्द गरेको उद्योगीहरूको भनाइ छ । ५० प्रतिशतभन्दा बढी तौलमा गिरावट आउन थालेपछि उद्योग घाटामा जाने भन्दै बन्द गरेका हुन् । उद्योगलाई दैनिक रूपमा आवश्यक पर्ने उखु नभएकाले बन्द गरिएको वाग्मती चिनी उद्योगका महाप्रबन्धक टंक काफ्लेले बताए ।
‘उद्योगलाई आवश्यक उखु नै उपलब्ध हुन सकेन,’ उनले भने, ‘केही उद्योग एक महिनाअगाडि नै बन्द हुँदा किसानको उखु बारीमा नै रहेको हो ।’ एकै दिन काटेर नसकिने र हप्ता–दस दिन लगाएर कुर्दा मजदुर, मेसिन सञ्चालन सबै महँगो पर्ने उनले बताए । कान्तिपुरबाट