सुनसरी । सुनसरीको धरानका बंगुरपालक किसानले एक वर्षमा ३० करोड बराबरको क्षति बेहोर्नुपरेको छ । बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिवरको प्रकोपबाट किसानले पालेका बंगुर मर्दा पछिल्लो एक वर्षमा ३० करोड बराबरको नोक्सानी भएको धरान उपमहानगरपालिका पशु शाखा प्रमुख डा. बिर्खबहादुर कुलुङले जानकारी दिए ।
गत वर्षको वैशाखदेखि फैलिएको प्रकोप नियन्त्रणमा नआउँदा स्थानीय किसानहरूले ठूलो क्षति बेहोर्नुपरेको कुलुङको भनाइ छ । जनशक्ति अभाव र स्थानीय सरकारको मात्र पहलले प्रकोप नियन्त्रण गर्न नसक्दा ठूलो मात्रामा बंगुर मरेको कुलुङले बताए ।
पशु बिमाको झन्झटिलो प्रक्रियाका कारण धेरै किसानहरु अझै पनि बिमाको पहुँचमा पुगेका छैनन् । सामान्यत एउटै बंगुर ५० देखि २ सय ५० केजी तौलको हुने र मर्दाखेरि त्यसबाट ठूलो क्षति हुने किसानहरू बताउँछन् ।