काठमाडौं –
नेपाललाई अल्पविकसित मुलुकबाट मध्यम आययुक्त विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्न कृषि उत्पादकत्व वृद्धि दोब्बरभन्दा बढीले बढाउनुपर्ने सुझाव आर्थिक क्षेत्रका जानकारहरुले दिएका छन् ।
यहाँस्थित बंगलादेशी राजदूतावास र रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धान प्रतिष्ठान (आइएसएसआर)ले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको ‘अल्पविकसित राष्ट्र बंगलादेशको स्तरोन्नति प्रक्रिया : नेपाललाई शिक्षा’ विषयक कार्यशालामा उनीहरूले दिगो आर्थिक विकासका आधार तयार नभएसम्म नेपालको स्तरोन्नति अति कठिन हुने बताए ।
कृषि क्षेत्रको आधुनिकीकरण एवं व्यावसायिकीकरण, विमानस्थल, द्रुतमार्गजस्ता भौतिक पूर्वाधार निर्माण तथा सञ्चालन, पर्यटकीय महत्वका देशभरका क्षेत्रमा सुविधासम्पन्न होटल निर्माण तथा सञ्चालन, विशेष आर्थिक क्षेत्र सञ्चालन, सूचना तथा सञ्चार प्रविधिको अत्यधिक उपयोग, उत्पादन र सेवा क्षेत्रको विस्तार तथा तिनको दिगोपनाको सुनिश्चितता पनि स्तरोन्नतिका निम्ति अपरिहार्य भएको उनीहरुको भनाइ थियो ।