पोखरामा कृषि यान्त्रीकरण प्रदर्शनी, अवलोकन सोचेभन्दा कम, कारोबार उत्साहजनक

पोखरामा प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न भएको छ । ‘कृषि यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने नारासहित पुस २० गतेबाट चलेको प्रदर्शनी २२ गतेसम्म चलेको थियो ।

नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामीया) को आयोजनामा भएको प्रदर्शनीलाई कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रर्वद्धन केन्द्र, कृषि विकास निर्देशनालय, गण्डकी र पोखरा महानगरपालिकाले साथ दिएका थिए ।

प्रर्दशनीमा १० भन्दा बढी मुलुकका एक हजार बढी कृषियन्त्र, औजार, उपकरण तथा प्रविधि राखिएको नामीयाले जनाएको थियो ।

तीन दिनसम्म चलेको मेलामा ५० हजार अवलोकनको लक्ष्य राखिएकोमा ३० हजारले अवलोकन गरेको नामियाका अध्यक्ष कृष्ण शर्माले जानकारी दिए ।

तीन दिनसम्म चलेको प्रदर्शनीमा ५ करोडको लक्ष्य राखिएकोमा ५५ लाख बढीको प्रत्यक्ष कारोबार भएको र ६ करोडको कृषि मेसिनरी बुकिङ भएको नामियाका कोषाध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

प्रदर्शनीमा कुल ६० कम्पनीका ७० वटा स्टल राखिएको र ती मध्ये नौ वटा मेड इन नेपाल पभेलियन अन्तर्गत थियो भने १५ वटा रैथानी बालीको स्टल रहेको थियो । यस्तै दुई वटा विदेशी स्टल पनि रहेका थिए ।