छाेटाे समयमा राम्राे अाम्दानी हुने बट्टाइ पालन गर्ने की ?

  •  
  •  
  •  
  •  
  •  
  •  

कृषि डेली । दोलखामा पहिलोपटक शुरु गरिएको बट्टाइ पालन व्यवसायबाट किसानलाई राम्रो आम्दानी हुन थालेको छ । जिल्लाको भीमेश्वर नगरपालिका ५, मथानीमा व्यावसायिक रूपमै पालन गरिएको बट्टाइ व्यवसायबाट मासिक ३५ हजारसम्म आम्दानी हुन थालेको हो ।

गत साउनबाट पाँच सय बट्टाइ पाल्न शुरु गरिएको किसान रामहरि सुवेदीले अहिले मासु र अण्डाबाट दैनिक एक हजार एक सयभन्दा बढीको आम्दानी गर्दै आउनुभएको छ ।

बट्टाइको मासु र अण्डाले दम, बाथ, युरिक एसिड, निमोनिया, सुगर, प्रेसर नियन्त्रणका साथै तेज दिमाग, शारीरिक वृद्धि, छालाको सुरक्षा र सुत्केरीका लागि विशेष फाइदा पु¥याउने भएकाले बजारमा माग रहेको सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बट्टाइको अण्डाको बजारमूल्य प्रतिगोटा १० रुपियाँ र मासुको लागि प्रतिबट्टाई तीन सय रुपियाँँसम्म बिक्री हुन्छ । हाल बट्टाइले दैनिक १४५ सम्म अण्डा दिने गरेको उहाँले बताउनुभयो ।

बट्टाइ एक प्रकारको चरा भएकोले यसको तौल करिब तीन सय ग्राम हुन्छ । अण्डा पनि चराकोजस्तै सानो–सानो हुन्छ । २५ देखि ३५ डिग्री सेल्सियसबीचको तापक्रममा बाच्ने बट्टाइ पाँच हप्तामा मासुका लागि खान योग्य हुन्छ भने चार हप्ताबाट अण्डा पार्न थाल्छ । दुई वर्षसम्म बाँच्ने बट्टाइले करिब तीन सयसम्म अण्डा दिन्छ ।

भालेलाई पाँच हप्तादेखि नै मासुका रूपमा प्रयोग गरिए पनि पोथीलाई भने अण्डाका लागि पाँच/छ महिनासम्म पाल्ने गरेको बट्टाइ पालक किसान सुवेदीले बताउनुभयो । त्यसपछि पोथीलाई पनि मासुकै लागि प्रयोग गरिन्छ ।

१५० रुपियाँको दरले करिब तीन हप्ताको चल्ला ल्याएकोले हुर्काउन भने अलि मिहिनेत गर्नुपरेको किसान सुवेदी बताउनुहुन्छ । बट्टाई रोग प्रतिरोधत्मक क्षमता भएको चरा भएकोले रोग खासै नलाग्ने भए पनि उचित तापक्रम, उपयुक्त खोर बनाउनेदेखि समयमा दानापानी दिनुपर्ने उहाँले बताउनुभयो ।

बट्टाइलाई मासुका लागि मात्रै नभई अण्डाका लागि प्रयोग गरिने भएकाले यसलाई लेयर्स कुखुरालाई दिने दाना खुवाउनुपर्छ । करिब ९० हजारको लगानीमा बट्टाइपालन थालेका सुवेदीले कात्तिकदेखि यता चार महिनामा एक लाख पचास हजारभन्दा बढीको आम्दानी गरिसक्नुभएको छ ।

बट्टाइले छोटो समय र सानो लगानीमै राम्रो आम्दानी दिएको बताउँदै किसान सुवेदीले फार्म दर्ता गरेर दुई हजारदेखि तीन हजारसम्म बट्टाई पाल्ने योजना रहेको बताउनुभयो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!