चितवनमा बर्डफ्लुको उच्च सर्तकता

  •  
  •  
  •  
  •  
  •  
  •  

  • Umm छिमेकी जिल्ला मकवानपुरमा कुखुरामा बर्डफ्लु देखिएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । पोल्ट्रीको राजधानी मानिने यस जिल्लामा भित्रने नाकामा पक्षीजन्य वस्तु आयातमा कडाइ गरिएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका निमित्त प्रमुख डा. पर्शुराम फुयालले यस जिल्ला हुँदै राजधानी र बाहिरी जिल्लामा कुखुराजन्य पदार्थ धेरै आवतजावत गर्ने हुदाँ क्वारेन्टाइनमा कडाइका साथ चेकजाँच थालिएको बताए ।

उनले भने, ‘मकवानपुरमा बर्डफ्लु देखिएपछि जिल्ला छिर्ने नाकामा क्वारेन्टाइनलाई विशेष चेकजाँचका लागि निर्देशन दिइएको छ ।’ अहिले जिल्लाका १५० कुखुराका नमूना परीक्षणका लागि काठमाडौं पठाइएको उनले बताए ।

बर्डफ्लु संक्रमण हुन सक्ने देखिएकाले व्यवसायीलाई जैविक सुरक्षामा ख्याल गर्दै काम गर्न आग्रह गरिएको उनले बताए । जिल्लामा बर्डफ्लु भित्रने सम्भावना प्रबल रहेको बताउँदै उनले चाँडै जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समितिको बैठक राखेर सबैलाई यसको विषयमा जानकारी गराइने बताए ।

देशका विभिन्न जिल्लामा जाने मुख्य राजमार्ग नै चितवन हुँदै जाने भएकाले यहाँका व्यवसायी अझै सतर्क हुन आवश्यक रहेको उनले बताए । राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा. दयाराम चापागाईंले हरेक हप्ता दुई दिन यहाँ नमूना सङ्कलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाउने गरेको बताए ।

नियमित रूपमा नमूना सङ्कलन भइरहेको भए पनि हालसम्म ‘लो प्याथोजेनिक एच नाइन’ मात्र देखिएको जानकारी दिए । देशका विभिन्न क्षेत्रबाट लो प्याथोजेनिक शंकास्पद देखिएमा यहाँ नमूना परीक्षण गर्ने गरिन्छ । थप शंका लागेमा यहाँबाट केन्द्रीय प्रयोगशालामा पठाइँदै आएको छ ।

नेपालमा कुखुराजन्य क्षेत्रमा १ खर्बभन्दा बढी लगानी भइसकेको भन्दै उनले एक मात्र आत्मनिर्भर उद्योग भएकाले स्वयं कृषक र सरकारले व्यवसाय बचाउन सहयोग गर्नुपर्ने बताए । रोग भित्रन नदिन अपनाउनुपर्ने मुख्य विधि जैविक सुरक्षा हो । यो विधि कुखुरामा कुनै प्रकारको रोगका कीटाणुको प्रवेश र फैलावट रोक्न अवलम्बन गरिन्छ । पोल्ट्री व्यवसायी मञ्चका कार्यकारी निर्देशक शिव बरालका अनुसार नेपालमा दैनिक ५० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ ।

दैनिक ब्रोइलर मासु ८ लाख ५० हजार किलो उत्पादन हुने गर्दछ । बरालका अनुसार हप्तामा ब्रोइलर कुखुराको चल्ला २७ लाख र लेयर्सको चल्ला ३ लाख उत्पादन हुँदै आएको छ । देशको कुखुराजन्य पदार्थको आधा चितवनमा उत्पादन हुने गर्दछ ।

पोल्ट्री व्यवसायी मदन पोखरेलका अनुसार यो व्यवसायले १ लाख ८० हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ भने कुल ग्रार्हस्थ्य उत्पादनमा ४ प्रतिशत योगदान पुर्‍याउँदै आएको छ । अण्डा उत्पादक सङ्घका केन्द्रीय सचिवसमेत रहेका पोखरेलले सबै कृषकलाई विशेष चनाखो भएर जैविक सुरक्षा विधि अपनाउन आग्रह गरिएको बताए ।

यसअघि बर्डफ्लु भित्रँदा कृषकले ठूलो नोक्सानी बेहोरेका थिए । पहिले पहिले भारतमा बर्डफ्लु देखिदासमेत नेपालमा खपतमा कमी आएको भए पनि पकाएर खाँदा असर नपर्ने भएपछि जिल्लामा नै रोग देखिँदासमेत खपतमा भने कमी नआएको पोखरेलले बताए ।


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here