आकासियो अण्डाको मूल्य

चितवन, वैशाख ८ –

नेपाल अण्डा व्यवसायी सङ्घले अण्डाको मूल्य बढाएको छ । अण्डा उत्पादन गर्ने व्यवसायीको संस्थाले प्रतिक्रेट २५ रुपियाँका दरले अण्डाको मूल्यवृद्धि गरेको हो । नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले सङ्घको बैठकले अण्डाको मूल्यवृद्धि गरेको जनाउँदै नयाँ कायम भएको मूल्य अनुसार बिक्री वितरण गर्न सबैमा अनुरोध गर्नुभयो ।

नयाँ मूल्य अनुसार फर्ममा प्रतिक्रेट ठूलो अण्डा ३ सय १५ रुपियाँ र मिडियम अण्डाको २८५ रुपियाँ पर्छ । यसलाई व्यापारीले लगेर ठूलो अण्डा ३ सय २० रुपियाँमा र २ सय ९० रुपियाँमा बिक्री गर्न पाउँछ, बरालले भन्नुभयो, यसअघि फर्ममा ठूलो अण्डा प्रतिक्रेट २ सय ८५ र मझौला अण्डा २ सय ६० रुपियाँ थियो । यसलाई व्यवसायीले प्रतिक्रेट ठूलो अण्डाको २ सय ९० र मझौला अण्डा २ सय ६५ रुपियाँमा बिक्री गर्ने गर्दथे ।

एक क्रेटमा ३० वटा अण्डा हुन्छ । नयाँ मूल्य अनुसार अब ग्राहकले एउटा अण्डा खरिद गर्न चितवनमा साढे दस रुपियाँ तिर्नुपर्छ । चितवनको अण्डाको मूल्यलाई हेरेर नै काठमाडौँ, पोखरालगायतका सहरमा पनि अण्डाको मूल्य तय गरिन्छ । सङ्घले चितवनको मूल्यभन्दा प्रतिक्रेट काठमाडौँमा १५ रुपियाँ र पोखरामा १० रुपियाँ अण्डाको मूल्य बढी तय हुन्छ ।

नेपालमा अण्डा उत्पादनका लागि ४० लाख लेयर्स कुखुरा पालिएका छन् । जसबाट २५ लाख गोटा अण्डा दैनिक उत्पादन हुने अण्डा व्यवसायी सङ्घले जनाएको छ । चितवनमा लेयर्सको सङ्ख्या १४ लाख र अण्डा उत्पादनको अवस्था दैनिक साढे दस लाख रहेको तथ्याङ्क पाइन्छ ।

यो तथ्यलाई हेर्ने हो भने अहिले नेपालमा दैनिक ८३ हजार ३ सय ३३ क्रेट अण्डा उत्पादन भइरहेको छ । नेपालमा उत्पादित अण्डा नेपालमै खपत भइरहेको छ । अहिले बढेको प्रतिक्रेट २५ रुपियाँ मूल्यले मात्रै पनि उपभोक्ताले दिनमै २० लाख ८३ हजार ३ सय २५ र वर्षमा ७६ करोड चार लाख १३ हजार ६ सय २५ रुपियाँ बढी तिर्नुपर्ने हुन्छ ।

नेपाल अण्डा व्यवसायी मञ्चका अध्यक्ष तिलोचन कँडेल पछिल्लो समय अण्डाको माग बढेकाले मूल्य वृद्धि गर्नुपरेको बताउनुभयो । कुखुरा पालनमा बढ्दै गएको लगानीकै कारण पनि अण्डाको मूल्यवृद्धि गर्नुपरेको हो, उहाँले भन्नुभयो, अहिले सामान्य अवस्थाभन्दा अण्डाको माग पनि बढेर जाँदा यसको मूल्य बढ्न गयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here