अछाम,
चैत ५ – रोजगारीको सिर्जना आफैंले गर्नुपर्दछ । काम पाईएन भनेर भौतारिनुभन्दा के काम गर्न सकिन्छ भनेर विकल्प खोज्ने हो भने रोजगार आफ्नै हातमा रहेको छ । अछामको तुर्माखाँद गाउँपालिका रहफका दीपक रावल कक्षा १० सम्म पढनुभएको छ । केहीसमय अगाडिसम्म काम नपाएर गाउँमै भौतारिनुभएका उहाँ एकदिन रहरै रहमा मुढा बन्ने तालिम लिन जानुभयो ।
४५ दिनको मुढा बन्ने तालिम लिएपछि उहाँलाई मुढा बनाएर बेच्ने रहर पलायो । ४५ दिनमा सिकेको कुरालाई व्यबहारमा उर्तादै उहाँ आफ्नै घरमा भएका बासलाई सदूपयोग गर्दै मुढा बुन्न थाल्नुभयो ।
आफ्नै गाउँमा पाइने बाँसको चोयाबाट फुर्सदको समयमा बाँसका मुडा बनाउने गरेको बताउने रावलले कम्तीमा महिनाको एक दर्जन मुढा बुन्ने गरेको र मुडा बिक्रीबाट मासिक कमाइ हुन थालेपछि हौसला थपिएको बताउनुभयो । विगत दुई वर्ष अगाडिदेखि केही काम नगरी घरमा त्यतिकै बसिराख्नुभएका उहाँले आफूले सीप सिकेपछि काम गर्न जाँगर बढेको बताउँनुभयो ।
सीप सिकेर खुशी साथ जीवन बिताइरहनुभएका दीपकले अहिले यसलाई व्यावसायिक रूप दिंदै गाउँमै खुद्रा पसलसमेत सुरु गर्नुभएको छ। आफूले मुढा बेचेरै कमाएको पैसाबाट पसलमा सामान राखेको उहाँले बताउनुभयो । युवाले सीप सिकेर आत्मनिर्भर बन्न सके विदेश धाउन नपर्ने उहाँको सुझाव छ ।
फूर्सदमा गर्ने मुढा बनाइको कामबाट आफूले मासिक ८ ९ हजार कमाएको बताउनुभयो । उहाँ पूरै समय मुढा बन्ने काममा लाग्ने बिचारमा हुनुहुन्छ ।