धान बालीमा हरियो मल, ढैचाको प्रयोग र फाइदा

  • 500
  •  
  •  
  •  
  •  
  •  
    500
    Shares

 

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । नेपालमा बार्षिक ४,५८,९१५ हेक्टर जमीनमा धानखेती हुन्छ भने ५५,५०,८७८ मेट्रीक टन धान उत्पादन हुन्छ । धानको सरदर उत्पादकत्व ३,८०४ किलोग्राम रहेको छ । नेपालको धानको बर्तमान उत्पादन तथा उत्पादकत्व अन्य देशहरुको तुलनामा न्युन मानिन्छ । धानको उत्पादनमा गिरावट ल्याउने विविध कारणहरुमध्ये मलखादको कमी पनि एक प्रमुख कारण हो ।
रासायनिक मल नेपालमा उत्पादन हुदैन साथै विविध कारणहरुले गर्दा समयमै कृषकलाई उपलब्ध नहुने समस्या विद्यमान छ । रासायनिक मलको विकल्पको रुपमा हरियो मल प्रयोग उपयोगी हुन सक्दछ ।
बालिनाली तथा बोटबिरुवाको हरियो कलिलो जरा, पात, डाँठ आदि खेतीगरी वा संकलन गरी राम्ररी माटो भित्र पुरेर कुहाई बनाइएको मललाई हरियो मल भनिन्छ । हरियो जंगली वनस्पती, झारपातलाई खेतमा राख्ने र जोतेर पुरै कुहाएर मल बनाउने या जुन जग्गामा हरियो मल प्रयोग गर्ने हो त्यसैमा उमारेर फुल फूल्ने बेलामा माटोमा जोतेर पुरिदिने र ५ देखी ७ दिन कुहिन दिई बाली लगाउने प्रकृयालाई हरियो मल दिने भनिन्छ । कमलो खालको जुनसुकै बिरुवालाई हरियोमलको रुपमा प्रयोग गर्न सकिन्छ । हरियोमल बनाउदा जति कलिलो बिरुवा प्रयोग गर्याे त्यति कुहिन सजिलो पर्दछ । यसले माटोमा प्रशस्त मात्रामा प्राङगारिक पदार्थ प्रदान गर्दछ । यसको लागि छिटो बढ्ने, प्रशस्त मात्रामा (पात, डाँठ, मुना) भएको, सकभर कोशेबाली, रुखो जग्गामा पनि बढ्ने खालको बनस्पती प्रयोग गर्नु राम्रो मानिन्छ ।

              “ बालिचक्रमा हरियो मल समावेश गर्नाले किसानलाई फाइदा हुन्छ ’’
धानको लागी सिफारीस गरीएको मलखादको मात्रा उन्नत जात तथा सिंचित क्षेत्रको लागी नाइट्रोजन, फस्फोरस र पोटासको मात्राको अनुपात ५ः२ः२ के.जी. प्रति कठ्ठा हो । असिंचित जमिनको लागी नाइट्रोजन, फस्पोरस र पोटास ४ः२ः२ के.जी. प्रति कठ्ठाका दरले प्रयोग गर्नुपर्दछ । तर स्थानीय जातको लागी २ः१ः१ के.जी. प्रति कठ्ठा प्रयोग गर्न पनि सकिन्छ । पानी धेरै पर्ने बर्षाको समयमा रासायनिक मलको प्रयोग त्यति प्रभावकारी भएको पाइदैन किनभने रासायनिक मल पानीमा धेरैनै घुलनशिल भएकाले पानीले बगाएर, हावामा उडेर वा माटोमा चुहिएर खेर जाने भएकाले धानखेतिमा रासायनिक मलको तुलनामा हरियोमलको प्रयोग उपयोगी मानिन्छ ।

हरियो मलहरुमा पाईने खाद्य तत्वहरु (प्रतिशतमा):

  बिरुवाको नाम नाईट्रेजन फस्फोरस पोटास
ढैंचा ३.५ ०.६ १.२
सन्हेम्प (सनई) ३.२ ०.८ १.८
असुरो ४.३ ०.८८ ४.४९
तितेपाती २.४ ०.४२ ४.१
बनमारा २.३६ ०.६७ ३.९८
बोडी ०.७ ०.३४ १.१५

हरियो मलको प्रयोग गर्ने तरिका:
१. धान लगाउने खेतमा उमारी प्रयोग गर्ने
धान रोप्नु भन्दा चार वा छ हप्ता पहिले हरियो मलको बिउलाई ३० देखी ४० केजी प्रति हेक्टरको दरले छरी ४–६ हप्तापछि जोतेर माटोमा मिलाउने ५ देखी ७ दिन कुहिन दिई त्यसपछि धान रोप्न सकिन्छ । ढैचा, मुंग, बोडीलाई यस प्रकारले हरियो मलको रुपमा प्रयोग गर्न सकिन्छ । ढैचा हरियो मलको लागि मात्र धानखेतमा छरी प्रयोग गरिन्छ भने मुंग वा बोडीलाई दुई वा तीनपटकसम्म कोसाहरु टिपी वोटलाई माटोमा हरियो मलको रुपमा प्रयोग गरिन्छ ।
एक हेक्टर जमिनमा लगाएको ढैचाले ४–६ हप्तामा नै २०–३५ टनसम्म वायोमास दिने र यसमा ३–४ प्रतिशत नाईट्रेजन हुने भएकाले १५० केजी भन्दा बढी नाईट्रेजन धानबालीको लागि उपलव्ध गराउछ । नाईट्रोजनको साथै यसमा पोटासको मात्रा पनि प्रशस्त हुन्छ । फस्फोरसको मात्रा नाईट्रोजन तथा पोटासको भन्दा कम भएतापनी धानबालिको लागि चाहिने फस्फोरसको मागलाई परिपुर्ति गर्दछ ।

२. वनजंगल तथा अन्य ठाउँबाट पात स्याउला आदि ल्याएर प्रयोग गर्ने
हरियो तथा कलिला स्याउलाहरुलाई जम्मा गरि धान रोप्नु भन्दा पहिले माटोमा जोतेर धान लगाइन्छ । यसको लागि तितेपाती, बनमारा, असुरो आदिलाई प्रयोग गर्न सकिन्छ । यस्ता झारपातहरुमा नाईट्रोजनको मात्रा कम भएतापनि पोटास भने प्रशस्त मात्रामा पाइन्छ ।
हरीयो मल नै किन ?
हरियो मल धेरै प्रयोजनका लागी प्रयोग गर्न सकिन्छ । बिशेषतः किसानहरुले बाली छनौट गर्दा अघिल्लो बाली कुन हो, त्यसको बाली प्रणाली कुन हो, माटोको प्रकार, मौसम, तथा भविष्यमा कुन बाली लगाउने भन्ने कुराको सुक्ष्म अध्ययन गर्न आवश्यक पर्दछ । छिटो बढ्ने खालका हरियो मललाई अन्तरबालीको रुपमा प्रयोग गर्दा माटोको गुणस्तर सुधार गर्न र नाइट्रोजनयुक्त रासायनिक मलको ५० प्रतिशत सम्म कट्टौती गर्न सकिन्छ ।

“ छिटो वढ्ने हरियो मलले खेतबारीमा आउने झार नियन्त्रण गर्न सहयोग गर्दछ।’’

छिटो बढ्ने हरियो मलले खेतबारीमा आउने झार नियन्त्रण गर्न सहयोग गर्दछ । ढिलो बढ्ने हरियोमललाई घाँसबाली तथा चरणक्षेत्रमा प्रयोग गर्दा घाँसबाली तथा चरणक्षेत्रमा चाहिने खाद्यतत्व प्रदान भई पशुपालनमा समेत टेवा पुर्याउछ । जमिनलाई बाँझो छोड्दा बर्खाको पानीले माटोमा भएको खाद्यतत्व बगाएर लैजाने हुँदा हरियोमल लगाउदा खाद्यतत्व बगाएर लाने जोखिम पनि न्युनिकरण गर्न सकिन्छ । बालि चक्रमा हरियो मल समावेश गर्नाले किसानलाई अधिकतम फाइदा हुन्छ ।

कोशेबाली र नाइट्रोजन
बोटबिरुवाको वृद्धि विकासको लागी नाइट्रोजन एक महत्वपूर्ण खाद्यतत्व हो । कोशेबाली परिवारका बिरुवाहरुले वातावरणमा भएको नाइट्रोजनलाई आफ्नो जरामा भएको नाइट्रोजन फिक्सिङ्ग ब्याक्टेरियाको मद्धतले बिरुवाले प्रयोग गर्न सक्ने बनाउछ र उक्त नाइट्रोजन अन्य बिरुवाले प्रयोग गर्न सक्दछन्। । सबै कोशेबालिको जरामा नाइट्रोजन फिक्सिङ्ग ब्याक्टेरियाको गिर्खा हुन्छन तर ढैँचामा जरामा मात्र नभई हाँगा तथा डाँठमा पनि हुने भएकाले ढैँचा हरियोमलको रुपमा बरदान साबित भएको छ ।
ढैँचाको बिशेषताहरुः
धेरैजसो तराई र भित्री मधेशमा चैत, बैशाखमा गहुँ काटिन्छ र धान असार, साउनमा रोप्ने गरिन्छ । यहि गहुँ काट्ने र धान रोपाईँ गर्ने बिचको खाली समयमा प्रति हेक्टर ३० देखी ४० केजिको दरले ढैँचाको बिउ छर्नु पर्दछ । अम्लिय माटोमा ढैँचाको बृद्धि राम्रो नहुने भएकाले ढैँचा छर्नु पूर्व कृषि चुनको प्रयोग गर्नु उपयुक्त मानिन्छ । नेपालमा धानलाई बर्षभरि खाने खेतीको रुपमा लिईन्छ । त्यसैले किसानहरुले अधिकतम मात्रामा रासायनिक मलको प्रयोग गर्दछन । जुन ६०–७० प्रतिशत बगाएर वा चुहिएर गई बिरुवाले जम्मा ४० प्रतिशत मात्र उपभोग गर्दछ ।

त्यसैले धान खेतिको लागि चाहिने मलिलो माटो तयार गर्न, रासायनिक मलको लागत कटौती गर्न र माटो सुधार्न हरियोमलको रुपमा ढैँचा उपयोगी हुन्छ । रासायनिक मलमा मात्रै निर्भर रहनु पनि उपयुक्त होइन । रासायनिक मलको अधिकतम प्रयोगले माटोको उर्वराशक्ति पनि हस हुदै जान्छ, तुलनात्मक हिसाबले हेर्दा रासायनिक मल भन्दा हरियो मलको खर्च पनि कम नै लाग्ने हुदा लागत न्यूनिकरणमा समेत सघाउ पुग्छ ।


हरियोमलको रुपमा ढैचाको प्रयोगको फाइदाहरु:
तत्कालको लागि रासायनिक मलको प्रयोग फाइदाजनक देखिएपनि दिर्घकालिन हिसाबले भने हरियो मलको प्रयोग उपयुक्त हुन्छ ।
– ढैचालाई जस्तो जमिनमा पनि खेति गर्न सकिने हुदा जमिनको सदुपयोग हुन्छ ।
– ढैचालाई खेतबारिमा लगाई त्यहि प्रयोग गर्ने हुदा ढुवानिको खर्च लाग्र्दैन ।
– कम खर्चमा आफ्नै सीप र श्रमबाट उमार्न र प्रयोग गर्न सकिने ।
– हरियोमलको रुपमा ढैचाको प्रयोग गर्दा माटोको भौतिक र रासायनिक गुण सुधार हुन्छ ।
– यसको प्रयोगबाट माटोमा भएका फाइदाजनक शुक्ष्म जिवाणु, शाकाणुको संख्या तथा क्रियाकलापमा बृद्धि हुन्छ ।
– बाँझो आली तथा बाँझो जमिनमा बिरुवा लगाई आफुलाई चाहिने बिउ आफै उत्पादन गर्न सकिन्छ र यसलाई व्यवसायिक रुपमा खेतीगरि बिउको बिक्रि गर्न पनि सकिन्छ ।


  • 500
  •  
  •  
  •  
  •  
  •  
    500
    Shares
error: Content is protected !!