कृषिमा आत्मनिर्भरको उदेश्यले कागेश्वरीमा सुरु भयो हरहर महादेव कृषि केन्द्र

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा कृषि केन्द्रको शुभारम्भ भएको छ । सदस्य उद्यमशिलता कार्यक्रम अन्र्तगत उक्त परियोजनाको उद्घाटन नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले गर्नुभएको छ ।

नगरपालिका नियामक रहेको हरहर महादेव सहकारी संस्थाको भागिनी संस्थाको रुपमा रहने हरहर महादेव कृषि केन्द्रको उद्घाटन नगरपालिकाका नगर प्रमुख कार्कीले गर्नुभएको हो ।

चालिस रोपनी जग्गा भाडामा लिएर सुरु गरिएको यो परियोजनालाई नगरपालिकाको नमूना परियोजनाको रुपमा हेरिएको छ । परियोजनाको उद्घाटन गर्दै नगर प्रमुख कार्कीले यसलाई नमूना बनाउन आफूले हर सहयोग गर्ने बताउनुभयो । कृषि क्षेत्रको विकास, व्यवस्थापन र उत्पादनमुखी कार्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको उहाँकाे भनाई थियो ।

नगर क्षेत्रभित्र भएको कृषि योग्य जमिनको सहि सदुपयोग गरी उत्पादनमूलक कार्य गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउदै नगर प्रमुख कार्कीले नगरभित्र भएका सहकारीहरुलाई उद्यमशिलताका कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गर्नुभएको थियो ।

यो परियोजनाले नगरपालिकालाई कृषिमा समृद्ध बनाउन सहयोग पुर्याउने भन्दै उहाँले यसले नगरभित्र रोजगारीको सिर्जना पनि गर्ने तर्क गर्नुभयो ।

कार्यक्रममा बोल्दै नगरपालिकाको उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौलाले परियोजना सफलताका लागि शुभकामना दिँदै नगरपालिकाले आवश्यक समन्वय गर्न कन्जुस्याई नगर्ने बताउनुभयो ।

सो अवसरमा वडा अध्यक्ष रामजी पुडासैनी ,वडा सदस्य तथा नगरपालिकाका कर्मचारीको पनि उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here