spot_img

पाल्पामा देखिएको खोरत नियन्त्रणमा

पाल्पा- एउटै गाउँका करीब दुई हजार पशुमा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ । पाल्पाको रामपुर नगरपालिका वडा नं १० को तल्लो कुमाल गाउँमा तीन महीनाअघिदेखि माहामारीका रुपमा फैलिएको खोरेत रोग अहिले नियन्त्रणमा आएको हो । यहाँका ३७४ घरधुरीमा पालिएका करीब एक हजार ९५९ पशुमा खोरेत रोगको सङ्क्रमण फैलिएको थियो । आठ सय ४५ गाईभैँसी, एक हजार ६१ बाख्रा र ५३ बङ्गुरमा यो रोगको सङ्क्रमण भेटिएको पशु विकास शाखा रामपुरका प्रमुख मोहनप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

“कृषकले ढिलो गरी खबर गरेकाले महामारीका रुपमा खोरेत रोगको सङ्क्रमण फैलियो, खबर पाउनासाथ सङ्क्रमित क्षेत्रमा पुगेर प्राविधिक परिचालन गरी उपचारमा लागियो”, उहाँले भन्नुभयो, “हामीले स्थलगत अनुगमन गरेर खोरेत रोगले ग्रसित ४७९ पशुमा उपचार र एक हजार ४८० पशुमा खोरेतविरुद्धको भ्याक्सिन लगाइयो ।”

प्राविधिकलाई ढिलो खबर गर्दा गाउँभरिकै पशुमा खोरेत रोगको सङ्क्रमण महामारीका रुपमा फैलिएको कृषक नीलकण्ठ कुमाल बताउनुहुन्छ । उहाँले पालेका पाँच वटा गाई, तीन वटा बाख्रा, तीन वटा भैँसीमा खोरेत रोगको उपचार गरिएको बताउनुभयो ।

सोही ठाउँकै सुनुमाया कुमालको पनि तीन वटा गाई, दुई वटा भैँसी र दुई वटा बङ्गुरमा खोरेत रोगको महामारीले सताएपछि उपचार गरिएको छ । “हामी कृषकले नै समयमा नै ख्याल नगर्दा महामारी खेप्नुप¥यो, बेलाबेलामा खोरेतविरुद्धको भ्याक्सिन लगाए यस रोगबाट पशुलाई बचाउन सकिँदोरहेछ”, कृषक कुमालको भनाइ छ ।

सङ्क्रमित क्षेत्रमा दश दिन प्राविधिक खटिएर नियमित उपचार गरेपछि अहिले रोग नियन्त्रणमा आएको पशुस्वास्थ्य प्राविधिक दीपक राना बताउनुहुन्छ । रोगी जनावरको ¥याल, खुरको घाउ आदिबाट लसपस भएको घाँस, परालका माध्यमबाट एकबाट अर्को जनावरमा यो रोग सर्नेगर्दछ ।

यो रोग आक्रमण गरेको पशुमा मुखभित्रको म्युकस झिल्ली रातो रङको हुने, मुखभित्र जिब्रो, गिँजा र खुट्टाको दुई वटा खुरको बीच भागमा फोका बन्ने, मुखबाट बाक्लो लस्सादार ¥याल चुहिरहने, खुट्टा खोच्याउने, १०६ डिग्री ज्वरो आउने, दानापानी नखाने, दुहुँना पशुले दूध उत्पादन घटाउने, थुन र फाँचोमा पनि घाउ आउन सक्ने र थुनेलोसमेत गराउने, कतिपय ब्याउने पशु तुहिन्छ र बाँझोपनसमेत देखापर्नेजस्ता लक्षण थाहा पाएमा कृषकले तत्काल सम्बन्धित संस्थामा खबर गरी उपचार गर्नतर्फ लाग्नुपर्ने पशु प्राविधिक बताउँछन् ।

वर्षमा दुई पटक खोरेतविरुद्धको खोप लगाउने, हावा खेल्ने, सफा, ओभानो खालको गोठ हुनुपर्ने, रोग लागेको वस्तुलाई अरु वस्तुसँग लसपस हुन नदिएमा यो रोग लाग्नबाट पशुलाई बचाउन सकिनेछ ।

ताजा समाचार

सम्बन्धित समाचार